सामान्य अंक बढ्यो नेप्से

विराटनगर । बुधबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ । पछिल्ला दुई कारोबार दिन घटेर बन्द भएको नेप्से, यस दिन भने बढेर बन्द भएको हो ।

यस दिन नेप्से परिसूचक ९.६६ अंक बढेर २६७६.२८ विन्दुमा पुगेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.४४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५० अंक बढेको छ ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन अर्थात मंगलबार ५ अर्ब ३० करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१७ स्टकको ४५ हजार ९४ पटकको कारोबारमा ४ अर्ब ४८ करोड ४६ लाख रुपैयाँबराबरको १ करोड ७३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

यस दिन नेपाल माइक्रो इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कम्पनीको शेयर गत बिहीबार नेप्सेमा सूचीकृत भई हिजो अर्थात मंगलबारदेखि दोस्रो बजारमा कारोबारमा आएको हो । कम्पनीको शेयरमूल्य यस दिन ३३ रुपैयाँ २० पैसा बढेर ३६५ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ । त्यस्तै, यस दिन विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८ प्रतिशत बढेको छ भने बोटलर्स नेपाल (बालाजु) को शेयरमूल्य ५ प्रतिशतभन्दा धेरै बढेको छ । कारोबारमा आएको सिन्धु विकास बैंकको शेयरमूल्य यस दिन सर्वाधिक ७.४७ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ४२ करोड ७५ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, यस दिन सिईडिबी होल्डिङ्गसको ३० करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने हिमालयन रि इन्स्योरेन्सको करिब साढे २७ करोडको शेयर कारोबार भएको छ ।

बजारका १३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ । यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.४४ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा धेरैले बढेको छ । यस दिन बैंकिङ र व्यापार उपसमूहको परिसूचक सामान्य घटेको हो ।

बुधबार, २६ चैत, २०८१, साँझको ०६:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर