मृत भेटिएकी युवतीको हत्या भएको आशंका

धरान । सुनसरीको धरान ६ स्थित पाँचकन्या जंगलमा सोमबार मृत भेटिएकी युवतीको हत्या भएको आशंकामा जिल्ला प्रहरी कार्यालय सुनसरीले डिएसपी नेतृत्वमा टिम बनाएर अनुसन्धान शुरु गरेको छ ।

जिल्ला प्रहरी प्रमुख एवं एसपी सुमनकुमार तिम्सिनाले धरानका डिएसपी प्रकाश जबेगुको नेतृत्वमा १० जनाको टोली अनुसन्धानमा परिचालन भएको छ ।शव भेटिएको २४ घण्टाभन्दा बढी समय बितिसक्दा पनि मृतकको पहिचान खुल्न सकेको छैन । प्रहरीले मृतकको तस्बिर र हुलिया सञ्चारमाध्यम, सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिसकेको छ ।

घटनाबारे जानकारी पाएपछि घटनास्थलमा पुगेको प्रहरीले मृतकको शारीरिक अवस्था गहिरिएर अनुसन्धान गर्नुपर्ने देखेपछि आफुसमेत घटनास्थल पुगेको एसपी तिम्सिनाले बताए । ‘मृतकको शरीरको अवस्था सामान्य तरिकाको थिएन । प्रारम्भिक रुपमा कर्तव्य गरि मारेजस्तो देखिएको छ’ उनले भने, ‘शव सनाखत गर्ने र अनुसन्धान कार्य भइरहेको छ ।’

सोमबार साँझ प्रहरीले सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको तस्बिर र हुलियामा मृतकको कम्मरमाथिको कपडा मात्र थियो । शव पनि भुईमा सुतेको अवस्थामा थियो । प्रहरीले सार्वजनिक गरेको भन्दा पृथक र शंकास्पद देखिने मृतकको तस्बिर सामाजिक सञ्जालमै भेटिएको छ । तस्बिरमा मृतक महिलाको कम्मरमुनिको कपडा खोलिएको छ । यसले उनलाई कतै बलात्कार पछि हत्या गरेको हो कि भन्ने आशंका पनि जन्माएको छ ।

प्रहरीले बलात्कार भए नभएको प्रतिक्रिया दिएको छैन । सोमबार घटनास्थल पुगेका वडा नं ६ लिम्बुचौरीका हर्कराज राईले पनि मृतक कम्मरमुनि नग्न अवस्थामा देखिएको बताए । उनका अनुसार मृतक महिला रुखमा अडेस लागेको र घाँटीमा कालो डोरीजस्तोले बेरिएको पनि थियो ।लिम्बुचौरीका महिलाहरु बाख्रा चराउन आउदा शव देखेपछि होहल्ला गर्दै गाउँमा खबर गरेका थिए । गाउँलेले जनप्रतिनिधिलाई खबर गरेपछि वडाका जनप्रतिनिधिले प्रहरीलाई जानकारी दिएका थिए ।

बुधबार, २६ चैत, २०८१, साँझको ०६:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर