रौतहट । रौतहटको ईशनाथ नगरपालिकास्थित पोखरीको डिलमा छरपस्ट अवस्थामा बिहीबार प्रहरीले १० लाख १० हजार रुपैयाँ फेला पारेको छ ।
स्थानीय माइस्थान चोकसँगैको पोखरी छेउमा प्रहरीलाई देखेपछि दुई जना भागेमो भाग्नुको कारण खोजी गर्दा प्रहरीले ठूलो रकम बरामद गरेको हो ।
ईशनाथ नगरपालिकाका मेयर सन्तोष मेहताका अनुसार यो रकम कसको हो र कुन प्रायोजनका लागि ल्याइएको हो भन्ने खुलेको छै । प्रहरीलाई देख्नसाथ भागेकाहरुको खोजी भइरहेको छ ।
लकडाउनको क्रममा गस्तीमा रहेको सुरक्षाकर्मीले बिहान ना ५४ प २११६ नम्बरको मोटरसाइकललाई रोक्न खोजेको थियो । दुई जना सवार मोटरसाइकल नरोकिएपछि प्रहरीले पिछा गरेकोमा पोखरी छेउमा मोटरसाइकल छाडेर उनीहरु भागेका थिए ।
औरैयाका प्रहरी सहायक निरीक्षक ललितकुमार साहले नगर प्रमुख मेहताको घरमा लगेर पैसा गन्दा १० लाख १० हजार भेटिएको हो । बरामद रकम हुण्डी कारोबारीको हुनसक्ने आशंकासहित थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।