कोशी पर्यटन वर्ष २०८२ को उद्घाटनमा प्रधानमन्त्री नआउने

विराटनगर । कोशी प्रदेशको पर्यटन वर्ष २०८२ को उद्घाटन उपप्रधानमन्त्री प्रकाशमान सिंहले गर्ने भएका छन् ।

पर्यटकीय क्षेत्र तीनजुरे क्षेत्रबाट पर्यटन वर्षको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तयारी थियो । तर, प्रधानमन्त्री ओली नआउने भएका छन् ।

तेह्रथुमका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीका अनुसार उपप्रधानमन्त्री सिंहले आजको कार्यक्रम उद्घाटन गर्ने तयारी छ । मुख्यमन्त्री हिक्मतकुमार कार्की निकट स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आउने वचन दिएपछि उनकै नाम राखेर निमन्त्रण पत्र छापिएको थियो ।

प्रचारप्रसार पनि प्रधानमन्त्री कै नाम जोडेर गरिएको थियो । तर, अन्तिम समयमा ओली आएनन् ।

यो वर्ष तीनजुरे मिल्के जलजले क्षेत्रमा गुराँस फुलेको छैन । यसअघि ओली आउने भएपछि गुराँस फुलाउने भन्दै प्रदेश सरकारले दमकल प्रयोग गरेर गुराँसको बोटमा पानी समेत हालेको थियो ।

गुराँसमा पानी हालेपछि प्रदेश सरकारको चौतर्फि आलोचना भएको थियो । प्रधानमन्त्री आउने भएपछि जंगलमै सिसि क्यामरा समेत जडान गरीएको थियो ।

आज प्रधानमन्त्री ओलीले अर्घाखाँचीको पाणिनी तपोभूमि सम्मेलनको उद्घाटन गर्ने र त्यसपछि फर्किएर काठमाडौंमा नेपाल चेम्बर अफ कमर्शको ७४ औं वार्षिक साधारणसभाको उद्घाटन गर्ने तालिका छ ।

बुधबार, २६ चैत, २०८१, बिहानको ०८:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर