विराटनगर । संघ सरकारले सन् २०३२ सम्ममा ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । चालू आर्थिक वर्षमा सरकारले १६ लाख पर्यटक भित्र्याउने योजना अघि सारेको थियो । अघिल्लो आर्थिक वर्षमा देशमा १० लाख १४ हजार पर्यटक भित्रिएका थिए । चालू आर्थिक वर्षमा आएका पर्यटकको संख्या अघिल्लो वर्षको भन्दा केही कमी आएको तथ्याङ्क छ ।
उता, पोखरा महानगरपालिका एक्लैले सन् २०२५ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । सो पालिकाले आफ्नो लक्ष्यसहितका कार्यक्रम घोषणा गरिसकेको छ । अन्य पालिकाहरुले पनि आ–आफ्नो क्षमता भन्दा बढी लक्ष्य लिएर पर्यटन वर्षहरु घोषणा गरिरहेकै छन् ।
कोशी प्रदेशमा कति विदेशी पर्यटक आउँछन् भन्ने एकीकृत तथ्याङ्क भेटिदैन । कोशीमै पहिलो पाइला टेक्ने विदेशीको सङ्ख्या वार्षिक ६०–६५ हजारको हाराहारीमा हुने अनुमान सरकारको छ । यो कुल पर्यटकको पाँच प्रतिशत जति मात्रै हो । त्यसमा पनि कोशी प्रदेश आउने विदेशी पर्यटकमध्ये ९३ प्रतिशत खुम्बु क्षेत्र जाने गरेका छन् भने मकालु–वरुण राष्ट्रिय निकुञ्ज र कञ्चनजङ्घा संरक्षण क्षेत्रमा छ प्रतिशत र कोशी टप्पु वन्यजन्तु आरक्षमा एक प्रतिशतभन्दा कमले भ्रमण गरेको तथ्याङ्क छ । विराटनगर, काँकडभिट्टा, पशुपतिनगर, भद्रपुर कोशीको मुख्य नाका हुन् । यी नाकाबाट प्रवेश गर्ने भारतीयको तथ्याङ्क राख्ने गरिएको छैन । तर, यो संख्या साढे चार लाख जति हुने अनुमान छ ।
प्रदेश १ सँग सीमा जोडिएको भारतको विहार, पश्चिम बङ्गाल र सिक्किमको कुल जनसङ्ख्या २० करोड जति छ । १६ करोड जनसङ्ख्या भएको बङ्गलादेश र भुटानसँग स्थलमार्गबाट हुने पहुँच काँकडभिट्टाबाटै हुन्छ । भारत नेपालका लागि सबभन्दा ठूलो बजार हो ।
यो प्रदेशको कुल गार्हस्थ्य उत्पादन पाँच खर्ब रुपैयाँको हाराहारीमा छ । यसको १.९३ प्रतिशत मात्रै पर्यटन क्षेत्रको योगदान छ । यसले प्रदेश १ को आर्थिक गतिविधिमा पर्यटन क्षेत्रको योगदान राष्ट्रिय योगदानको अनुपातमा पुग्न नसकेको देखाउँछ । तर सम्भावना अपार छ । प्रदेशको आर्थिक समृद्धिमा पर्यटन क्षेत्र मुख्य आधार हुनसक्छ । त्यही सम्भावनालाई मध्यनजर गर्दै कोशी प्रदेश सरकारले पनि २०८२ साललाई पर्यटन वर्ष घोषणा गरेको छ । गत असोज ११ गते पर्यटन दिवशको अवसर पारेरै प्रदेश सरकारले आगामी वर्ष २०८२ लाई कोशी पर्यटन वर्ष घोषणा गरेको हो । यो वर्षमा १० लाख पर्यटक कोशी प्रदेशमा ल्याउने लक्ष्य लिएको पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल बताउँछन् । त्यसबाहेक स्थानीयस्तरमा २ हजार नयाँ रोजगारी सिर्जना गर्ने र कोशी प्रदेशलाई पर्यटनको केन्द्रको रुपमा पहिचान र स्थापित गर्ने योजना सरकारको छ । पर्यटन वर्ष सफल बनाउन ५ सय भन्दा बढी व्यक्तिहरुको प्रतिनिधित्वमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा मूल आयोजक समिति गठन भएको छ । यस्तै मन्त्री मण्डलको नेतृत्वमा निर्देशक समिति बनेको छ । प्रदेश सरकारले ८२ का ८२ गन्तव्य भनेर नारा नै बनाएको छ ।
संघ सरकारले लिएको १६ लाखको लक्ष्य पुरा हुन नसकिरहेको बेला कोशीमा मात्रै १० लाख पर्यटक भित्रन सम्भव छ कि छैन ? यो बेग्लै प्रश्न हो । तर, १० लाख पर्यटक भित्रिन कोशी प्रदेशमा के कस्तो सम्भावनाका क्षेत्रहरु छन् र सरकारले के तयारी गरिरहेको छ भन्ने विषय महत्वपूर्ण विषय हो ।
प्रदेश सरकारले ‘८२ का लागि ८२ गन्तव्य’ सूचि सार्वजनिक गरिसकेको छ । डिलाइटफुल (रमणीय) कोशी भन्ने नाराका साथ घोषणा गरिएको कोशी पर्यटन वर्षका लागि १० करोड रुपैयाँ विनियोजन गरिएको छ । प्रचारप्रसारलाई तीब्रता दिने र छिमेकी मुलुकहरुबाट धेरै भन्दा धेरै पर्यटक ल्याउने सरकारको लक्ष्य छ । संघीय सरकारले घोषणा गरेको १०० पर्यटकीय गन्तव्यमध्ये कोशी प्रदेशमा ३० वटा केन्द्रहरु छन् । त्यसबाहेक प्रदेश सरकारले थप ८२ नयाँ गन्तव्य पहिचान गरी विकास र प्रवद्र्धनमा जुटेको हो ।
‘कोशी प्रदेश धार्मिक पर्यटनको अथाहा सम्भावना भएको क्षेत्र हो । हामीले व्यापक रुपमा यसको प्रचार गर्न सक्यौं भने भारत, भुटानलगायतका देशबाट लाखौं पर्यटक भित्र्याउन सक्छौं । पर्यठकको माध्यमबाट राष्ट्रिय पूँजीको विकास गर्न सक्छौं । विदेशी भूमिबाट आउने पर्यटकलाई यहाँको वातावरण सुरक्षा र सहयोगी भावनाको विषयलाई स्थापित गर्नुपर्ने आवश्यकता छ,’ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की भन्छन् ।
कोशी प्रदेशमा विभिन्न चारवटा पदमार्ग (मुन्धुम पदमार्ग, लालिगुराँस पदमार्ग, फाल्गुनन्द पदमार्ग र चियाबारी पदमार्ग) निर्माणको लागि स्वीस सरकारसँग सम्झौता भइसकेको छ । २ अर्ब ३५ करोड लागतको यो परियोजनाले २९ वटा पालिकालाई छुन्छ । २०८५ सालसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको यो पदमार्गको निर्माणपछि कोशी प्रदेशको पर्यटनलाई ठूलो सहयोग पुग्ने प्रदेश सरकारको अपेक्षा छ । पर्यटन वर्षको कार्यक्रमको लागि १० करोड विनियोजन गरिएको भएपनि प्रदेश सरकारले विभिन्न स्थानीय तहमा पर्यटन विकास आयोजनामा स्वीकृत गरेको ५५ करोड ४१ लाख, पर्यटन पूर्वाधार निर्माण तथा मर्मत सम्भारका लागि ३८ करोड ८१ लाख रकम खर्च भइरहेको जनाएको छ ।
कोशीमा पूर्वाधार र पर्यटन
कोशी प्रदेशमा पर्यटकस्तरीय होटलदेखि पाँचतारे होटलसम्म गरी ७ सयको हाराहारीमा छन् । २ हजारजति गेष्ट हाउस र लज, एक दिनमा १५ देखि २५ हजारसम्म पर्यटक राम्रोसँग राख्नसक्ने क्षमता छ । प्रदेशमा साहसिक पर्यटनमा सगरमाथा आधार शिविर टे«क, मकालु बरुण ट्रेक, कञ्चनजङ्घा आधार शिविर, तिम्बुङ पोखरी टे«क, मुन्धुम टे«ल, र्याफ्टिङ, प्याराग्लाइडिङ, माउन्टेन बाइक, साइकलिङ एवम् साहितक पर्यटनसँग सम्बन्धीत खेलकुदले पर्यटकलाई आर्षित गरिरहेका छन् । कोशी टप्पु क्षेत्रको अर्ना र जलपंक्षीहरु विश्वमै प्रख्यात छ । त्यहाँ नेपालमा पाइने ८९५ प्रजातिका चरामध्ये ५३५ प्रजातिका चरा पाइन्छन् ।
यसबाहेक सगरमाथा, कञ्चनजङ्गा, मकालु, ल्होत्से र चो ओयू हिमाल महत्वपूर्ण छन् । कोशी टप्पु वन्यजन्तु आरक्ष, सगरमाथा राष्ट्रिय निकुञ्ज, मकालु बरुण राष्ट्रिय निकुञ्ज, कञ्चनजङ्गा संरक्षण क्षेत्रका पाटे बाघ र घोरलहरु पर्यटक लोभ्याउने स्थान हुन् । यसबाहेक रेडपाण्डा पदमार्ग, करसोङ पदमार्ग, डाग्बुङ पदमार्ग, जनजातिहरुको मौलिक खानपान, विभिन्न गुफा तथा पोखरीहरु ऐतिहासिक दरबारहरु, इलामको चियाबारीदेखि कन्याम, माइपोखरी, श्रीअन्तुहरु मनमोहक छन् ।
संखुवासभाको अरुण उपत्यका, सभापोखरी, गुफापोखरी, शिवधारादेखि मकालु हिमालसम्मका दृश्यहरु झनै मनोरम छन् । तेह्रथुमको तीनजुरे मिल्के जलजले क्षेत्रको मनमोहक लागिगुराँस क्षेत्रसँगै धनकुटाको भुडेटार तथा राजारानी पोखरीहरू पर्यटनको हब बनिसकेका छन् । भोजपरको साल्पा सिलिचुङ, मैयुँ डाँडा, चखेवा भन्ज्याङले जो कोहीको मन बहलाउन सक्छ । झापाको केचनकवलदेखि सुनसरीको बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर, बराहक्षेत्र, बर्जुताल, तालतलैया, मोरङको विराट राजाको दरबार तथा सिमसार तथा आदिवासी जनजातिहरुको संस्कृति यहाँका पर्यटनसँग सम्बन्धीत विषयहरु हुन् । यस्तै ताप्लेजुङको पाथीभरादेखि खोटाङको हलेंसी महादेव र सुनसरीको बराहक्षेत्र त हिन्दू, बुद्धिष्ट तथा किराँत धर्माबलम्वीहरुको आस्थाको केन्द्र हुन् ।
पर्यटनको दृष्टिले रमणीय र हिमालै हिमाल र पहाडै पहाडले घेरिएको सोलुखुम्बु झनै मनमोहक छ । सगरमाथाले गर्दा विश्वले चिनेको सोलुखुम्बुमा सायद विश्वकै मानिसहरु आएको हुनुपर्छ । सगरमाथा बाहेक सोलुखुम्बुको मेरापिक, पाँचपोखरी, पिके डाँडा, पत्ताले, दूधकुण्ड, नाम्चे बजार यहाँका रमणीय क्षेत्र हुन् ।
पर्यटनको प्रचूर सम्भावना भएपनि प्रदेशको पर्यटन मन्त्रालय आफू स्थापित हुन नसकेको पर्यटनविद्हरुको दुःखेसो छ । ‘प्रदेशको पर्यटन मन्त्रालयको अस्तित्व नै कहिले कुन मन्त्रालयसँग जोड्ने, कहिले फुटाउने, कहिले प्रदेश पर्यटन बोर्ड बनाउने आदि भयो । कहिल्यै संस्थागत र दिगो हुन सकेन,’ पर्यटनविद तथा संस्कृतिकर्मी कृष्ण शाहले भने, ‘हामीसँग अहिले पनि पर्यटनसँग सम्बन्धीत विकासका लागि स्पष्ट नीति समेत छैन । हामी नीतिगत रुपमा नै पछाडि छौं ।’ उनले संविधानले पर्यटनलाई तीन तहकै साझा अधिकार क्षेत्रका रुपमा राखेको भएपनि त्यही कारण कहिलेकाँही विवाद सिर्जना हुने गरेको बताए । पर्यटनको क्षेत्रमा काम गर्नेहरु, सरकार तथा निजी क्षेत्रमा पनि पर्यटन चेतनाको कमी महसुस गरेको उनी बताउँछन् । पर्यटन व्यवसायी भविष श्रेष्ठले भारतीय पर्यटकहरुलाई नेपाल ल्याउने लक्ष्य देखिएपनि व्यवहारमा सुधार हुनुपर्नेमा जोड दिए । ‘यहाँ हुने बाधा अवरोध र विभिन्न व्यवहारले उनीहरुलाई समस्यामा पर्ने गरेको छ । हामीले सबै पक्षसँग बसेर छलफल गर्नु आवश्यक छ,’ उनले भने ।
प्रधानमन्त्रीले उद्घाटन गर्ने
यसैबीच कोशी पर्यटन वर्ष २०८२ को आगामी चैत २७ गते तेह्रथुमको तिनजुरेमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । त्यसको लागि प्रदेश सरकारले पर्यटन वर्षको लोगो र मस्कट सार्वजनिक भएको छ । कोशी प्रदेशको हिमाली क्षेत्रमा पाइने हाब्रेको मस्कट र नेपाली राष्ट्रिय झण्डाको कभरमा कोशी टप्पुमामात्र पाइने अर्नाको प्रतिकसँगै सगरमाथा, पहाड, तराई, कोशी नदी र सुन्दर प्राकृतिक सम्पदा झल्काउने प्रतिकहरु प्रयोग गरी लोगो निर्माण गरिएको छ । पर्यटन वर्षको तयारीकै सन्दर्भमा सरकारले ५०० पर्यटन सहयोगी (भोलेन्टियर्स)हरु तयार गरिरहेको छ । कोशी प्रदेशमा वार्षिक ४८ हजारको हाराहारीमा तेस्रो मुलुकका पर्यटक भित्रिने गरेका छन् । सन् २०२२ मा कोशी प्रदेशमा पर्वतारोहीको संख्या करिब १५ सयको हाराहारीमा पुगेको थियो । २०८० मा चतरामा सम्पन्न कुम्भ मेलामा पैदलमार्गबाट ३५ लाख बढी पर्यटक आएको प्रदेश सरकारको आर्थिक सर्भेक्षण रिपोर्टमा अनुमान गरिएको छ ।