सरकारले अपराधको भारी विसाउनु पर्छ

  विमल लामिछाने

पछिल्लो समय सबैले भन्ने गरेको भष्टाचारको अन्त्य हो । सबैको चाहना भ्रष्टाचार मुक्त समाज हो । चोरी, डकैति, लुटपाट नीतिगत भ्रष्टाचार जस्ता घटना निमूल गर्नु हो । यस्ता घटना बढ्दै जाँदा समाजमा असुरक्षित महसुश हुने भएकोले सुरक्षित भएर बाँच्न पाउनु व्यक्तिको पहिलो अधिकार हो ।

अझ भनौं समाजमा सुरक्षित भएर बाँच्न पाउनु हरेक व्यक्तिको नैसर्गिक अधिकार पनि हो । राज्य अर्थात सरकारले बाँच्न पाउने अधिकारको संरक्षण गर्नु उसको दायित्व भित्र पर्ने विषय हो । यही कारण राज्यसँग सुरक्षा संयन्त्र वा सेना र प्रहरी हुन्छन् । सरकारले संचालन गर्ने सेना र प्रहरी राख्नुको मुख्य उदेश्य भनेकै समाज र देशमा शान्ति सुरक्षा कायम गर्नु हो । नागरिकलाई मेरो अभिभावकत्वको रुपमा सरकार छ भन्ने अपनत्व हुनु हो तर पछिल्लो समय सरकारी संयन्त्रले आफ्नो जिम्मेवारी र दायित्वबोध गरेको अनुभूति हराउन थालेको छ ।

धेरैजसो घटनाक्रमहरुले राज्य संयन्त्रकै कारण राज्य आतंकित जस्तै भएको छ । यसको एउटा उदाहरणको रुपमा पछिल्लो पटक रवि लामिछानेको पक्राउ प्रक्रिया र प्रस्तुतिलाई हेरे पुग्छ । जहाँ अन्तिम इच्छा सोधिएको छ । यसले सरकारले मातहातका संयन्त्रलाई कसरी परिचालन गरिरहेछ भन्ने घामझै छर्लङ्ग हुन्छ । यो त एउटा उदाहरण मात्रै हो । केहीदिन एक पत्रकार रिपोटिङकै क्रममा जल्नुपर्यो । कतै सरकारका विरोधी स्वरहरुमाथि गोली चलेका छन् । कतै करोडौको तस्करी । यस्ता अपराध बढ्नुमा सरकारको फितिलोपना वा असक्षमता पुष्टी हुन्छ ।

समाजमा हुने कुनै पनि प्रकारका अपराधलाई नियन्त्रण गर्नु राज्यको दायित्व हो । तर कतिपय अवस्थामा सरकारी निकायले प्रभावकारी काम नगर्दा समाजमा अपराधहरु बढ्दछन् । मानिसहरु असुरक्षित हुन्छन् । सुरक्षा संयन्त्रले काम नगर्दा समाजमा व्यक्ति हत्याका घटनाहरु पनि बृद्धि हुन्छन् । पछिल्लो समय ठूला ठूला तस्करी, जघन्य अपराध जस्ता घटना बढ्दै गएका छन् ।
नागरिकले राज्य अर्थात सुरक्षा संयन्त्रबाट सुरक्षाको अपेक्षा गर्दछन् । यस्तो अवस्थामा समाजमा अपराधको रिमोर्ट नै सरकारी संयन्त्रभित्रै हुनु विश्वमा लज्जाको विषय होइन र ? त्यसमा पनि मानिसको बाँच्न पाउने अधिकार नै खोसेर राजनीतिक पूर्वाग्रही बनेर विपक्षमा उभिनेलाई खेदेको खेदै नफर्किने गरी भित्तामै टाँस्नु र पक्षमा रहेका दानवरुपीहरुलाई पनि देवताकै रुप दिएर संरक्षण गर्नेक्रम बढ्नु एउटा लोकतान्त्रिक देशका लागि लज्जाको विषय हो ।

अर्कोतर्फ समाजमा बढ्दै गएको सामाजिक संजालको दुरुपयोग, अवैध यौन सम्बन्ध, सम्पत्तिको लोभ र जातीय विभेदका कारण व्यक्ति हत्याका घटनाहरु बढ्दै गएको देखिन्छ । यसले हाम्रो समाजलाई कता लैजादै छ ? समाजमा आज मानिस मानिससँग नै डराउनुपर्ने अवस्था किन आएको छ ? सरकार नागरिकको अभिभावक हो । तर सरकारी संयन्त्रबाटै ज्यान जोगाउन गाह्रो पर्ने र असुरक्षित महशुस गर्नुपर्ने यो अवस्थाबाट नागरिकले मुक्ती खोजिरहेका छन् ।

राज्य अर्थात सरकार नागरिकको अभिभावक हुन सक्नुपर्छ । उसँग वैधानिक हतियार र सुरक्षाकर्मी पनि हुने भएकाले पनि समाजमा अपराधहरु नियन्त्रण गर्नुपर्ने दायित्व छ । त्यसमा पनि अपाराध नियन्त्रणका लागि सुरक्षाकर्मीहरु नागरिकको बिचमै हुनु पर्दछ । हरेक व्यक्तिले परिवार, समाज र देशभित्र सुरक्षित भएको अनुभूति गर्ने अवस्था राज्यले नै निर्माण गर्नु पर्दछ । कुनै पनि वहानाबाट नागरिकले जीउँदै जल्नुपर्ने, अकालमै ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्नेतर्फ सरकार गम्भिर हुनु जरुरी छ ।
समाजको शान्ति सुरक्षा आम नागरिकको सरोकारको विषय भएकाले सबैले समयमा नै सोच्नु पर्दछ । मुलुकको शान्ति सुरक्षाको दायित्व समाजमा रहेका हरेक नागरिकको पनि हो । नागरिक आफैपनि सचेत हुन जरुरी छ । समाज जति विकसित हुँदै गयो, त्यति मानिसका चाहना र आवश्यकताहरू थपिनु स्वभाविक हो । यद्यपि मानिसमा दुःख र मेहनतले भन्दा पनि अपराधिक गतिविधिबाट अगाडि बढ्ने मनोकांक्षा बढ्दै गएको देखिन्छ । समाजमा प्रविधिले निम्त्याएको घटनापनि उतिनै छन्, फलस्वरूप विकाससँगै अपराधले पनि आधुनिक रूप लिन थालेको अनुभूति हुन्छ ।

अपराध न्युनिकरण कानुनले मात्रै भन्दा पनि व्यवहारिक आचरणको शुद्धिकरणले हुने हुँदा अपराध रहित समाजको पक्षमा सरकार स्वयम्ं र प्रहरी प्रशासन मात्रै होइन समाजका हरेक व्यक्तिको भुमिका महत्वपूर्ण हुन आवश्यक छ । समाजलाई अपराध मुक्त, विकसित र सु–सभ्य बनाई अगाडि बढाउने हो भने समाजमा हुने हरेक कुरालाई नियालेर अपराधलाई निरुत्साहित गर्ने संयत्र निर्माण गर्न जरुरी छ । सरकार र सरकारी संयन्त्रभित्रका जिम्मेवार ब्यक्तिले अपराधको भारी विसाएर नयाँपनका साथ अघि बढ्न पछिल्ला घटनाक्रमहरुबाट शिक्षा मिलोस् । अब यथासिघ्र सरकारले अपराधको भारी बिसाउनु पर्छ ।

मङ्गलबार, २५ चैत, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर