सुधारको अवसर बनोस्

 सम्पादकीय

कोशी प्रदेश सरकारले आामी आर्थिक वर्ष २०८२-८३ का लागि बजेट निर्माण प्रक्रिया प्रारम्भ गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले सबै ८ वटा मन्त्रालयलाई कुल २८ अर्ब ५७ करोड रुपैयाँको सिलिङ तोकेको छ । जुन बजेट निर्माणको प्रारम्भिक आधार हो । यद्यपि यो प्रक्रिया प्रारम्भ हुनु सकारात्मक पक्ष हो । बजेटको कार्यान्वयन र वित्तीय व्यवस्थापनको ऐतिहासिक पृष्ठभूमिले यसपटक पनि पुरानै समस्याको पुनरावृत्ति हुने संकेत देखाउँछ । संघीय सरकारले राजस्व बाँडफाँडको प्रारम्भिक अनुमान सार्वजनिक गरिसकेको छ । जसअनुसार कोशी प्रदेशले करिब १२ अर्ब ३९ करोड पाउनेछ । साथै समानीकरण अनुदान पनि वृद्धि भई ८ अर्ब ९६ करोड पुगेको छ । आन्तरिक राजस्वमा समेत २५ प्रतिशतले वृद्धि भएको तथ्य उत्साहजनक हो । तर, यतिबेला मूल प्रश्न भनेको के यी स्रोतहरू पर्याप्त र प्रभावकारी खर्चमा परिणत हुन सक्छ भन्ने नै हो ।

चालू आर्थिक वर्ष २०८१÷८२ को बजेट ३५ अर्ब २७ करोड थियो, तर फागुन मसान्तसम्म जम्मा ३४.९ प्रतिशत मात्र खर्च भएको छ । पूँजीगत खर्च अझै कमजोर रहेको छ—२७.३ प्रतिशतमा सीमित । यसले स्पष्ट देखाउँछ कि बजेट कार्यान्वयनमा योजना निर्माणभन्दा बढी चुनौती छ । बजेट निर्माणको धुनमा सरकार बारम्बार योजनाविहीन खर्च र पूराना दायित्वहरूको जालोमा फसिरहेको छ । अघिल्लो वर्षको १६ अर्ब दायित्व यस वर्ष घटाएर ११ अर्बमा सीमित गर्ने भनिए पनि मन्त्री स्वयंले त्यसको सम्भावना न्यून रहेको स्वीकार गरेका छन् । यस्तो स्थितिमा “पुरानै बोझ बोकेर अगाडि बढ्ने“ शैलीको निरन्तरता देखिन्छ । नयाँ बजेटले जनताको अपेक्षा र विकासको माग सम्बोधन गर्न सक्नेछ भन्ने ग्यारेन्टी देखिँदैन ।

यो सन्दर्भमा तीनवटा पक्ष महत्वपूर्ण छन्, पहिलो, बजेट निर्माण केवल कागजी प्रक्रिया नबनी वास्तवमै व्यवहारिक र प्राथमिकतामा आधारित हुनुपर्छ । दोस्रो, खर्च क्षमतामा सुधार गर्दै पूँजीगत खर्चलाई तीव्र बनाइनु आवश्यक छ । तेस्रो, पुराना दायित्वहरूको व्यवस्थित समायोजनसहित नयाँ बजेटमा दीर्घकालीन दृष्टिकोण समावेश गर्नुपर्छ । समग्रमा हेर्दा, कोशी प्रदेशको आगामी बजेट निर्माणले स्रोत व्यवस्थापनको दृष्टिकोणमा केही सुधार देखाए तापनि, यसको कार्यान्वयनमा कठोर निर्णय, पारदर्शिता र दायित्व वहन गर्ने इच्छाशक्ति नभएसम्म यो केवल आंशिक सफलता मात्र बन्नेछ । अब प्रश्न यो होः के प्रदेश सरकारले इतिहास दोहोर्याउनेछ, कि सुधारको नयाँ अध्याय सुरु गर्नेछ ?

मङ्गलबार, २५ चैत, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर