सेन्ट्रल प्लाजा आगलागीमा उद्धार गरिएकाहरू भन्छन् –नयाँ जीवन पायौं

विराटनगर । सुनसरीको इटहरीस्थित सेन्ट्रल प्लाजामा बुधबार भएको आगलागीमा घटनामा ११ जनाको उद्धार गरियो । उद्धार गरिएका अधिकांश होटलमा बस्ने पाहुना रहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले उनीहरूलाई उद्धार गरेको हो । उद्धार गरेकाहरूले नयाँ जीवन पाएको प्रतिक्रिया दिएका छन् ।

विशाल सिंह र उनकी श्रीमती होटल बरन्डाको गेष्टरुममा बसेका थिए । उनीहरू सेन्ट्रल प्लाजाको आठौं तलामा बसेका थिए । आगो लागेको उनीहरूले थाहा नै पाएनन् । जब उद्धार गर्न सुरक्षाकर्मीहरू पुगे अनि मात्रै थाहा पाएको उनीहरू बताउँछन् ।

‘होटलमा आगो लाग्यो, तपाईंहरूलाई उद्धार गर्न आएका हौं भनेपछि मात्रै हामीले थाहा पायौं’, विशालले भने, ‘त्यसपछि हामी छतमा पुग्यौं । अनि चाहिँ डर लाग्यो । तर, सुरक्षाकर्मीहरूले हामीलाई सहजै उद्धार गर्नुभयो ।’

डोरीमार्फत् भूइँमा झरेको उनले बताए । छतमा पुग्दा धुवाँको मुस्लो देखेपछि बाँच्दिनँ भन्ने लागेको उनले बताए । भूइँमा आएपछि भने नयाँ जीवन पाएको अनुभव भएको विशाल बताउँछन् ।

होटलमा बस्ने केही गेस्टहरूले भने आत्तिएको बताएका छन् । होटलमा आगलागी भयो भनेपछि कोठा भन्दा बाहिर निस्कँदा धुवाँको मुस्लो मात्रै देखिएको विजय धामीले बताए । उनले आफू गेस्ट नभएको बताएका छन् । तर, जिल्ला प्रहरी कार्यालय सुनसरीले उपलब्ध गराएको सूचीमा भने उनी होटेलका गेस्ट रहेको उल्लेख छ। ‘कोठाबाट बाहिर निस्कँदा धुवाँको मुस्लो मात्रै थियो’, धामीले भने, ‘यहाँ भित्र रुवावासी चलेको थियो ।’

उद्धार भएकी एक महिलाले भने नाम खुलाउन मानिनन् । उनले आगो लागेको थाहा पाएपछि आफू निकै आत्तिएको बताइन । आफूलाई झ्यालबाट डोरी पठाएर उद्धार गरिएको उनले बताइन् ।

त्यहाँ बस्ने केही गेस्टको भने प्रहरीले नाम खुलाउन चाहेको छैन । ‘धेरैको व्यक्ति जीवन पनि हुन्छ’, एक प्रहरी अधिकृतले भने ‘व्यक्तिगत जीवनमा असर पुग्नेगरी हामीले नाम सार्वजनिक गर्न मिल्दैन ।’

बुधबार बिहान ९स् ४३ सेन्टर प्लाजाको १० तले भवनको पाँचौं तलाबाट अचानक आगलागी भएको थियो । आगलागी दिउँसो २स्५३ बजेको समयमा पूर्ण रूपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले बताए ।

इटहरी उपमहानगरपालिका, दुहबी नगरपालिका, रामधुनी नगरपालिका, धरान उपमहानगरपालिका, बेलबारी नगरपालिका, इनरुवा नगरपालिका, वराहक्षेत्र नगरपालिका, विराटनगर महानगरपालिका, प्रदेश प्रहरी कार्यालय विराटनगर र देवानगञ्ज गाउँपालिकाका गरी १२ वटा दमकलले ५ घण्टा १० मिनेटमा आगो नियन्त्रणमा लिएका थिए ।

उद्धारका लागि काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टरसमेत मगाइएको थियो । तर, त्यो भन्दा अगाडि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले प्यारासुटमार्फत् उद्धार गरिसकेका थिए ।

सेन्ट्रल प्लाजाको छैटौं तलामा रहेको बरन्डा होटलको रेस्टुराँ, किचन र पाँचौँ तलामा रहेको अफिस कक्षमा आगोले क्षति गरेको छ । बिहान साढे ८ बजेतिर होटेलका कर्मचारी पुग्दा कोठा धुवाँले भरिएको अवस्थामा फेला परेको भनेर खबर आएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका ३२२ जनाको टोली खटिएको थियो ।

त्यहाँ बसेका एक बंगलादेशी नागरिकको पनि उद्धार गरिएको हो । आगलागीको कारण र क्षतिको विवरण यकिन भइनसकेको सुनसरी प्रहरीले जनाएको छ ।

बुधबार, १२ चैत, २०८१, रातीको ०८:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर