विराटनगर । सुनसरीको इटहरीस्थित सेन्ट्रल प्लाजामा भएको आगलागीमा ५ जना सुरक्षाकर्मीसहित ७ जना घाइते भएका छन् ।
सेन्ट्रल प्लाजामा फसेका सर्वसाधारणको उद्धार गर्ने र आगो निभाउने क्रममा ५ जना सुरक्षाकर्मीसहित दुई जना सर्वसाधारण पनि घाइते भएको सुनसरी प्रहरीले जनाएको छ ।
घाइते सबैको सबैको उपचार भइरहेको छ । सुनसरीको इटहरी चोक नजिकै रहेको १० तले भपनमा बुधबार बिहान आगलाागाी भएको थियो । बिहान ९ः४५ देखि आगोले ठूलो रुप लिएकोमा प्लाजाभित्र फसकेका ११ जनालाई उद्धार गरिएको थियो । उनीहरुको उद्धारको लागि काठमाडौबाट नेपाली सेनाको हेलिकप्टरसमेत मगाइएको थियो ।
आगो नियन्त्रणको लागि १२ वटा दमकल परिचालन गरिएको र आगो नियन्त्रणउन्मुख रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए । क्रेनको सहायताले पानी र आयल निगमबाट फोम तथा फायरबल लगायतका सामग्री ल्याएर आगो नियन्त्रणको प्रयास भइरहेको उनले बताए ।
सेन्ट्रल प्लाजाको छैटौं तलामा रहेको बरण्डा होटलको रेष्टुराँ, किचन र पाँचौं तलामा रहेको अफिस कक्षमा आगोले क्षति गरेको छ । बिहान साढे ८ बजेतिर होटलका कर्मचारीहरू पुग्दा कोठा धुँवाले भरिएको अवस्थामा फेला परेको बताइएको छ ।
इटहरीका मेयर हेमकर्ण पौडेलको सचिवालयले आगो विस्तारै नियन्त्रणमा आइरहेको जानकारी दिएका छन् । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका ३२२ जनाको टोली खटिएको थियो । आगलागीको कारण खुलिसकेको छैन ।