राप्रपाले बुझायो काठमाडौं महानगरलाई एक लाख जरिवाना

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ले काठमाडौं महानगरपालिकालाई जरिवाना बुझाएको छ ।
पोखराबाट काठमाडौं फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि राप्रपाको आह्वानमा आइतबार निकालिएको र्‍यालीपछि महानगरले एक लाख रूपैयाँ जरिवाना तिराउने निर्णय गरेको थियो । आइतबार नै राप्रपालाई जरिवानाको पत्र काटिएको थियो ।

प्रदर्शनका क्रममा फोहोर गरेको तथा भौतिक क्षति पुर्‍याएको भन्दै महानगरले राप्रपालाई एक लाख जरिवानाको निर्णय गरेको थियो ।

महानगरले पत्र काटेको भोलिपल्टै राप्रपा संसदीय दलका प्रमुख सचेत ज्ञानेन्द्र शाहीलगायतका नेताहरू महानगर कार्यालय, कमलादी पुगेर जरिवाना बुझाएका हुन् ।

‘हामी राप्रपा सुशासन मान्छौं र विधिको शासन मान्छौं । राजाको स्वागतमा आएका लाखौं आमाबुवा दाजुभाइ बहिनीहरूले हिँड्दा बाटोमा केही कुल्चिए होलान् महानगरपालिकाको निर्णयलाई हामी स्वीकार्दछौं । रू १ लाख रूपैयाँ हामीले काठमाडौं महानगरपालिकाको खातामा दाखिला गरेका छौं’, शाहीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

सोमबार, २६ फागुन, २०८१, दिउँसोको ०२:२३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर