कृषि कर्ममा रमाउँदै पूर्व स्वास्थ्यमन्त्री खापुङ

विराटनगर ।शहरमा सुखसयल पाएपछि धेरैले गाउँ बिर्सिन्छन् । अझै राजनीति गर्नेहरूले त गाउँलाई ‘भोट बैंक’ मात्रै बनाएको गुनासो सुनिन्छ । धेरै नेताहरू चुनावमा मात्रै गाउँ छिर्छन् । तर, पूर्वस्वास्थ्य मन्त्री भवानी खापुङ भने २ वर्षदेखि गाउँमै बसिरहेका छन् । दुई पटक सांसद भइसकेका उनी अहिले गाउँमै खेती गरिरहेका छन् । दोस्रो संविधानसभा निर्वाचन र २०७४ को प्रतिनिधिसभामा उनी सांसद निर्वाचित भएका थिए ।

सांसद भएपछि उनी शहर त गए तर, गाउँ बिर्सेनन् । सांसद हुँदै उनले धान फल्ने खेत किने । उनको घर तेह्रथुमको मेन्छायायेम गाउँपालिकामा हो । गाउँ प्यारो लागेर गाउँमै खेत किनेको उनले बताए । ‘अहिले पैसा हुनेबित्तिकै शहर पस्ने चलन छ,’ खापुङले भने, ‘मलाई भने त्यस्तो लाग्दैन । मान्छे शहर बजारमा घडेरी किन्छन् । मैले चाहिँ धान उत्पादन गर्न घर छेउमै खेत किनेँ ।’
अहिले पनि साथीभाइले गाउँमै छस् भन्ने गरेको उनी बताउँछन् । ‘मलाई तँ गाउँघरमै छस् भनेर साथीहरूले भन्छन् । म गाउँमै छु भन्छु,’ उनले भने ।

दुई वर्षदेखि आफैं खेती गरेर बसिरहेको उनले बताए । उनी नेकपा (एकीकृत समाजवादी पार्टीको पोलिटब्युरो सदस्य समेत हुन् । उनले खेती मात्रै होइन दुईटा गाई पनि पालेका छन् । तेह्रथुममा कुखुरा पाल्ने उनी पहिलो किसान हुन् । राजनीति गर्नेहरू व्यावसायिक पनि हुनुपर्छ भनेर उनले २०६२-०६३ सालमा लेयर्स कुखुरा पालेका थिए ।

२०६५ सालमा भएको चुनामा पनि उनले एमालेबाट टिकट पाएका थिए । तर, जित्न सकेनन् । चुनाव हारेपछि उनी फेरि कुखुरापालनमै फर्के । उनी जिल्ला सहकारी संघ तेह्रथुमको अध्यक्ष पनि भए । गाउँमा युवा नभएकाले अझै सोचेजति गर्न नसकेको उनी बताउँछन् ।

उनले ६ रोपनीमा कफी खेती पनि गरेका छन् । कफीका बिरुवा उत्पादन गरेर बेच्ने गरेका छन् । गाउँका किसानले उत्पादन गरेका एकरदुई किलो कफी उनले काठमाडौं लगेर समेत बेचिदिने गरेका छन् । ‘थोरै उत्पादन गर्ने किसानलाई बेच्नसमस्या पर्छ । एकरदुई किलो आफूसँगै काठमाडौं लगेर बेचिदिने गरेको छु,’ उनले भने ।कफी खेती गर्ने किसानलाई उत्साहित बनाउने काम गरिरहेको उनले बताए । वर्षमा ४ बोरा जति कफी उत्पादन गर्ने गरेको र काठमाडौंमा बेच्ने गरेको उनले बताए ।
कफी बगानमै उनले सुन्तला पनि उत्पादन गर्ने गरेका छन् । बेसार उत्पादन गरेर पनि बेच्ने गरेका छन् । घरमै मिल राखेर बेसारको धुलोसमेत बेच्ने गरेको उनले बताए ।

उनी १० वर्षको हुँदा बुवा रामप्रसाद खापुङको निधन भयो । घर नजिकैको प्राथमिक विद्यालयमा कक्षा ५ सम्म पढे । ५ पास गरेपछि उनी मोराहाङ बजारमा रहेको गौखुरी माविमा पढे । उक्त विद्यालयमा ७ कक्षासम्म मात्रै पढाइ हुन्थ्यो । मावि पढ्न भने गाउँमा विद्यालय थिएन ।

तेह्रथुमको सदरमुकाम म्याङ्लुङमा रहेको सिंहवाहिनी माध्यमिक विद्यालयमा कोठा भाडा गरेर पढे । तर, उनले एसएलसी भने दिन पाएनन् । साथीसंगत नराम्रो भएपछि पढाइ कमजोर भएको उनी स्मरण गर्छन् । टेस्ट परीक्षा नै नदिई छोडेर घरमा आएको उनले बताए ।२०३४ सालमा गौखुरी माविमै फेरि कक्षा ९ मा भर्ना भएर २०३६ सालमा एसएलसी दिए । तर, उनले एसएलसी पास गर्न सकेनन् । गाउँघरमा पढाइमा ध्यान दिने चलन नभएकाले असफल भएको उनले बताए ।

उनले तेस्रो पटकमा मात्रै एसएलसी पास गरे । एसएलसी पास गरेपछि धरानको महेन्द्र क्याम्पसमा आईकम पढ्न थाले । आन्दोलनको समय पनि भएकाले अनेरास्ववियुमा लागेको उनले बताए ।२०४० सालदेखि नेकपा मालेमा उनी आबद्ध भए । धरानबाट आईकम गरेपछि विराटनगरको महेन्द्र मोरङमा भर्ना भए । त्यहाँ पढाइ शुरू हुनैबित्तिकै स्ववियु चुनाव भएको थियो । उनी सदस्यमा निर्वाचित भएका थिए । सभापति भूराज राई र उपसभापति महेश रेग्मी निर्वाचित भएका थिए । ०३९ सालमा धरानमा पढ्न आएका थिए । ०४२ सालमा मात्रै पढाइ सकिएको थियो । त्यतिबेला आईकम सक्न ४ वर्ष लाग्ने गरेको उनी सम्झन्छन् ।

०४५ सालमा बीकम सकेर उनी घर फर्के । उनले त्यही वर्ष जागिर पनि खाए । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ भवानीका काकाका छोरा दाजु हुन् । खापुङ खानेपानी मन्त्री भएका बेला मन्त्रीको हस्ताक्षरमा ठाडै नियुक्ति गर्ने चलन थियो । उनले इलाममा ४ महिना नासुको जागिर खाए । ६ महिनाको नियुक्ति थियो ।थप पनि हुने निश्चित थियो । तर, पार्टीले जागिर छाड्न भनेपछि छोडेको उनले बताए ।

पार्टीमा सङ्गठित भएपछि इलाममा जागिर खान नजान भनिएको थियो । ‘२ महिनाका लागि जान्छु भनेर गएको, ४ महिना खाएपछि राजीनामा दिएँ । ०४५ सालमा जागिर खाँदा तलब ठ्याक्कै बिर्सेँ, सुब्बाको तलब १२/१४ सय जति थियो,’ उनले भने ।
इलाममा जागिर खानुभन्दा अगाडि उनी पञ्चकन्या प्राविमा शिक्षक भएका थिए । उनले मासिक ६ सय रूपैयाँ तलब पाउँथे । २०४३ सालमा राष्ट्रिय पञ्चायतको चुनाव हुँदा परशुराम खापुङ उम्मेदवार बनेका थिए । १ सय रूपैयाँ आफूसँग राखेर त्यहाँका ५ जना शिक्षकले ५ सयका दरले २५ सय चुनाव खर्च दिएका थिए ।

इलाममा जागिर सकेर आएपछि तेह्रथुमकै श्रीजुङमा रहेको श्रीजुङ माविमा निमावि तहमा जागिर खाए । तत्कालीन प्रअ ईश्वरी भट्टराईले घरमै आएर पढाउन जाऊ भनेपछि जागिर खाएको उनले बताए ।उनले २०५४ सालमा जागिर छाडे । एमालेले पटक–पटक जागिर छाड्न निर्णय गरेपछि छाडेको उनले बताए । त्यो बेलाको मावि तहको तलब ३ हजार ५० थियो ।

निमावि पदमा जागिर खाँदाखाँदै मनमोहन अधिकारी नेतृत्वको सरकारले मावि बढुवा गरेको थियो । सरकार ढलेपछि भने उनको पद घटुवा भएको थियो । ‘बहुदलीय व्यवस्था आएपछि जागिर छोड्न पटक–पटक जिल्ला कमिटीले निर्णय गरेपछि जागिर छाडेको हुँ,’ उनले भने, ‘घरको अवस्था कमजोर भएकाले जागिर छाड्न अप्ठ्यारो लागेको थियो ।’

२०५४ सालमा भएको स्थानीय तहको निर्वाचनमा उनी तत्कालीन मोराहाङ गाविसको अध्यक्ष भए । २०५४ मा उनी एमाले तेह्रथुमको सचिव पनि भए । त्यतिबेला सचिव नै प्रमुख हुने पार्टीको व्यवस्था थियो । पार्टी फुट्दा पनि उनी एमालेमै बसे । २०५४ देखि ०६५ सम्म पार्टीको नेतृत्व गरिरहे । ०६५ देखि अध्यक्ष हुने व्यवस्था आउँदा पनि उनै अध्यक्ष भए ।

आइतबार, १८ फागुन, २०८१, बिहानको १०:०९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर