अभियानमा २०६४ को झल्को आएको छ : प्रचण्ड’

नेकपा माओवादी केन्द्रले गत सोमबार झापाको कचनकवलबाट सुरु गरेको हुलाकी राजमार्ग केन्द्रीत पूर्वपश्चिम तराइ–मधेश जागरण अभियान मोरङ आइपुगेको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड नेतृत्वमा पार्टीका पदाधिकारीसहित सुरु भएको अभियानका २ दिनका कार्यक्रमले माओवादी पार्टी र अध्यक्ष प्रचण्डलाई उत्साहित बनाएको देखिन्छ । उनले माओवादी २०६४ सालमा फर्किएको झल्को दिएको बताइरहेका छन् । अभियानको तेस्रो दिन (बुधबार) उनले प्रेस सेन्टर मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अभियान र समग्र देशको बारेमा अन्तरक्रिया गरे । पत्रकारले उनीसँग गरेको कुराकानीको सम्पादित अंशः

तपाईंहरुको यो अभियान के हो, कस्तो हो ?

– हामी अहिले विशेष अभियान अन्तर्गत हुलाकी राजमार्ग केन्द्रीत पूर्वपश्चिम तराइ–मधेश जागरण अभियानमा छौं । पहिलो दिन हामीले झापामा बितायौं । दोस्रो दिन हामीले मोरङमा हिँजो बेलुकासम्म विभिन्न कार्यक्रम गरेर मनायौं । अब हामी क्रमशः कञ्चनपुरसम्म पुग्दैछौं । तराई मधेशमै यो कार्यक्रम राख्नुको पहिलो उद्देश्य भनेको दक्षिण भेगमा रहेका विभिन्न आदिवासी, जनजाति, मधेशी, थारु, मुस्लिमलगायतका जनतासँग एउटा अपिल गर्नु पनि हो । उनीहरुको मुद्दालाई स्थापित गर्नु हो र नेपालको राष्ट्रिय एकतालाई सुदृढ गर्नको लागि एउटा नयाँ जनचेतना अभिवृद्धि गर्नु हो । दोस्रो, हामीले सुशासनको अभियान सुरु गरेवापत, भ्रष्टाचारीलाई कारबाहीको दायरमा ल्याउन थालेवापत, भ्रष्टाचारीलाई संरक्षण गर्ने उद्देश्यले नै अहिलेको गठबन्धन सरकार बनेको छ । भ्रष्टाचार विरोधी, सुशासनको अभियानलाई राष्ट्रव्यापी रुपमा जनताको बीचमा लगेर एउटा नयाँ आन्दोलन, नयाँ अभियानको सुरुवात गर्न चाहेका छौं ।

तेस्रो, आर्थिक विकास र समृद्धिको निम्ति जनचेतना अभिवृद्धि गर्ने र समाजवादको आधार तयार गर्न उत्पादनको निम्ति संघर्षलाई जोड दिएका छौं । सामुदायिक समाजवादको मान्यतालाई अघि सार्दै, उत्पादनमा आत्मनिर्भर कसरी हुने ? उत्पादन र उत्पादकत्वको वृद्धि कसरी गर्ने ? मुख्यतः कृषि क्षेत्रको वृद्धि कसरी गर्ने । हामीले सरकारमा हुँदा बनाएको नीति तथा कार्यक्रम र बजेटमा पनि कृषि क्षेत्रलाई आधारको रुपमा र आइटिलाई लिडिङ सेक्टरको रुपमा लिनुपर्छ भनेर त्यही अनुसार बजेट पनि बनाइएको थियो । त्यो कुराको सन्देश पनि जनतालाई दिन खोजेका छौं । त्यसैगरी हामीले अन्तराष्ट्रिय रुपमा हाम्रो छिमेकीसँगको सम्बन्धलाई जसरी सन्तुलित र सुमधुर बनाइएको थियो । नेपाल र नेपाली जनताको हितको पक्षमा धेरै महत्वपूर्ण सहमति र समझदारी कायम पनि गरिएको थियो । अन्तराष्ट्रिय मञ्चहरुमा पनि नेपालको पक्षमा धेरै महत्वपूर्ण हस्तक्षेपहरु त्यो बेला भएको थियो । यो सबै कुरालाई पनि जनताको बीचमा राख्नु र नयाँ चेतना अभिवृद्धिको निम्ति अगाडि बढ्नु मुख्य उद्देश्य हो ।

दुई जिल्लामा सञ्चालन भएको अभियानको प्रारम्भिक समीक्षा कसरी गर्नुभएको छ ?

–यो अभियानलाई हामीले भिन्न ढंगले लाने कोशिस गरेका छौं । मान्छे जम्मा गर्ने र भाषण गर्ने अभियान यो होइन । पर्यटन प्रबद्र्धनको सम्भावना भएको ठाउँको अवलोकन गर्ने, जनतालाई सचेत गर्ने, बुद्धिजीवी र पत्रकारहरुसँग अन्तरक्रिया गर्ने, सहिद परिवारको बिचमा पुग्ने, किसानसँग त्यहाँका समस्याको बारेमा बुझ्ने, अन्तरक्रिया गर्ने र निश्चित ठाउँमा फेरि सभा गरेर सम्बोधन पनि गर्ने रुपमा हामी अगाडि बढेका छौं । हामीले जनसम्बन्ध विस्तार गर्ने र सुदृढ गर्ने अभियानको रुपमा यसलाई लिएका छौं । झापा र मोरङको अनुभव निक्कै नै उत्साहवद्र्धक रहयो । जनतामा एउटा सकारात्मक भाव पैदा भएको देखिएको छ । मैले झापा र मोरङमा झल्को चाहिँ २०६४ को पाएको छु ।

२०७९ सालको निर्वाचनमा माओवादी झापा र मोरङमा चौथो स्थानमा छ । कसरी उत्साहित हुनुभएको हो ?

– तपाईहरु अलिकति मनोगत र जडसुत्रवादी हुनुहुन्छ । २०६४ मा माओवादी पार्टी एक नम्बर पार्टी त बनेकै थियो नि । काँग्रेस र एमालेलाई पछिल्लो चरण ठूलो पार्टी बनाउन सहयोग गरेको माओवादीले हो । उनीहरु आफैं ठूलो बनेको होइन । जब हामीले साथ छोड्यौं, उनीहरु ठूलो हुन पनि छोडे । तपाई १ नम्बर प्रदेशमा बसेका पत्रकार साथीहरुले यहि प्रदेशमा भएको उपनिर्वाचनको परिणाम हेर्नुभएकै छ । ग्रामथान मात्रै होइन, ८ ठाउँमा भएको निर्वाचनमा हामी पहिलो पार्टी बन्यौं । कसरी भयौं ? अघिल्लो रेकर्ड हेरेर हुन्छ ?

राष्ट्रिय राजनीतिमा कसले के भूमिका खेल्यो ? त्यो जनताले मूल्यांकन गरेका छन् । यो परिवर्तनको बहाक पनि माओवादी केन्द्र, सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा पनि माओवादीले नै काम गर्यो र काम गर्दा गर्दै भ्रष्टाचारीहरुले ढलाए भन्ने कुरा जनताले बुझेको छ । तपाईहरुलाई बुझ्न गाह्रो भएको छ भने त्यो तपाईहरुको समस्या हो । जनताको होइन । पश्चिममा काँग्रेस र एमाले दुईवटै मिलेर लड्दा पनि हामीले जित्यौं । त्यो रेकर्ड पनि तपाईले ध्यान दिनुपर्छ । २०६४ मा ठूलो भएको माओवादी विभाजन भयो, झगडा भयो, तगडा भयो, विवाद भयो २०७० मा अर्को आयो । एउटा पार्टीले एउटा चुनाब जितेपछि अर्को चुनाबमा त्यहि नतिजा आउँछ भन्ने नै गलत हो । हामीले अब एक पटक माओवादीलाई जिताएर मात्रै देशमा स्थायित्व हुन्छ र सुशासन पनि हुन्छ भन्ने अपिल गरेका छौं , जनताले त्यो बुझेको महसुश भएको छ । तपाईहरुको आँखै अगाडि यो लहर देखिएको छ । हामी २०८४ मा एक नम्बर हुन्छौं ।

तर, चुनावमा गठबन्धन गर्न तपाई अगाडि बढिहाल्नुहुन्छ भन्ने आरोप छ नि ?

– त्यो ठाउँ मैले सिध्याइसकेको छु । ८४ मा काँग्रेस र एमालेसँग हाम्रो सहकार्य र गठबन्धन हुँदैन । लाखौं जनतासँग त्यो कुरा भनिसकें । अब त्यहाँबाट हामी ब्याक हुनसक्ने अवस्था छैन ।

तपाईहरु समाजवाद ल्याउने भन्नु हुन्छ । त्यस्तो कार्यक्रम के छ ?

– हामीले उत्पादनको निम्ति संघर्ष तलैबाट भनेका छौं । हाम्रो पार्टीले जितेका १२३ वटा पालिका छन् । ती पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष उपाध्यक्षलाई बोलाएर हामीले दुई दिन विस्तारपूर्वक समाजवादको भ्रुण तलबाट रोप्ने हो, माथिबाट वर्षिने कुरा होइन भनेर व्यापक रुपमा भनेका छौं । त्यो डकुमेन्ट तपाईहरुले पनि हेर्नुहोला । समाजवाद निर्माण तलबाट गरिन्छ । जनताको बीचबाट गरिन्छ । आत्मनिर्भर अर्थतन्त्रको जग बसाएर गरिन्छ । कृषिमा व्यापक सुधार, पर्यटनलगायत उत्पादन, उत्पादकत्व वृद्धिमा ध्यान दिने गरी योजना हाम्रो बनिसकेको छ । तपाई पत्रकार साथीहरूले बरु त्यो हेर्नुहोला र बल्ल कार्यक्रम आएछ भन्नुहोला ।

पार्टीभित्र विवाद भएकैले अभियानमा पार्टी एक भएको सन्देश दिनुपरेको हो ?

– होइन । मैले त्यस्तो एकाद ठाउँमा मात्रै बोलेको छु । हामी एकताबद्धै छौं । केन्द्रीय समितिको ३ दिनसम्म चलेको बैठकमा सबैको एकमतले डकुमेन्ट पास भएको छ । योजना पास भएको छ । त्यसकारण त्यहाँ एकता छ भन्ने विषय तपाईहरुले बुझ्नु पर्यो । एकथरि मानिसहरुले नभएका विषय खोतलेर निकाल्न खोज्छन् । माओवादी बढेको एकाथरि मानिसहरुलाई मन परेको छैन । दलालहरुलाई, नोकरशाहलाई मन परेको छैन । जाली फटाहालाई मन परेको छैन नि । फेरि माओवादी बढ्ने हो कि के हो भन्ने चिन्ता भएकाहरुले एकता छैन भनेर बढाईचढाइ गर्ने गरेका छन् । तर, हामी केन्द्रीय समितिले एक मतका साथ डकुमेन्ट पास गरेका छौं । सबै नेताहरु सँगै हिँडेका छौं ।

तपाई यो सरकार त ढलिहाल्छ भन्नुहुन्थ्यो । तर, सरकार त नढल्ने भयो नि ?

–सरकारमा भएका नेताहरुले नै ढल्छ भनेर भन्ने गरेका छन् । त्यसलाई बेलाबेलामा संकेत गर्ने गरेको हुँ । यो सरकार जसरी गठन भएको छ, त्यो नै अस्वभाविक छ, अप्राकृतिक छ कृतिम छ । त्यसकारण आफ्नै बोझले सरकार ढल्छ भनेको हो । हामीलाई फाइदाको कुरा भन्नुहुन्छ भने उनीहरु २०८४ सम्म मिलेरै बसेको राम्रो हो । हामीलाई कुनै टेन्सन छैन । हामी जनताको बीचमा जान्छौं । हाम्रो वर्गतिर, हाम्रो मुद्दा, सहिद परिवार, वेपत्ता परिवारतिर फर्किएका छौं । त्यसले एउटा उर्जा पैदा भएको छ । त्यसकारण हामी सरकार अहिले ढाल्ने र बनाउने खेलमा चाहिँ बिल्कुलै छैनौं । माओवादी सरकारको खेलमा छैन ।

पूर्वराजाले फागुन ७ गते दिएको वक्तव्यको व्यापक चर्चा भयो । माओवादीको धारणा के छ ?

– त्यस्तो चर्चा छैन । पूर्वराजालाई मैले कुनै महत्व दिएको पनि छैन । उनले बोले । मानिसहरुले प्रतिक्रिया दिइरहेका छन् । इतिहासबाट हामी धेरै अगाडि बढिसक्यौं । जनताको चेतना, आन्दोलन र परिस्थिति पनि धेरै अगाडि बढिसकेको छ । कसैले उनलाई बोल्न लगाएका होलान् । जसले नजिक बसेर केही पाउँला भन्ने हिसावले केही बोल्न लगाएका होलान् । त्यसको कुनै अर्थ छैन । यो देशमा फेरि राजतन्त्र फर्किने कुरा असम्भव छ ।

पहिचानको मुद्दा र वर्गीय मुद्दा सरकार छाडेपछि मात्र उठाउन थाल्नुको कारण के हो ?

– हामीले वर्गको मुद्दा, पहिचानको मुद्दा, समावेशी र समानुपातिकताको मुद्दा, प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको मुद्दालाई दह्रोसँग पक्डिएको बेला नै हामी एक नम्बर पार्टी बनेका थियौं । पछि अलिक हामी लचिलो हुन जाँदा जनतामा फ्रष्टेसन आयो । अब हामी तिनै मुद्दामा केन्द्रीत भएर जाँदा जनताले भरोसा गर्ने आधार बनेको छ । हामी उत्साहित छौं । जनताले कुरा बुझेको छ । मेरो १८ महिनाको कार्यकालमा सुशासन, सामाजिक न्याय र समृद्धिको निम्ति गरिएका कामलाई सबैले हेरेका छन् । काँग्रेस र एमालेको गठबन्धन किन भयो भन्ने जनताले बुझेका छन् । भ्रष्टाचारी बचाउन नयाँ सरकार बनेको सबैलाई थाहा छ । जनताले अबको चुनावको परिणाममा देखाउँछन् । अबको चुनावको नतिजा क्रान्तिकारी हिसाबले अर्कै आउँछ ।

संसदको आधा कार्यकाल नवित्दै दलहरु २०८४ को चुनावको तयारीमा किन ? अहिले नै काम गर्नुपर्ने हैन र ?

– जनताले दिएको जनमत र परिस्थितिले हामीलाई दिएको नेतृत्व रहँदा जनताको पक्षमा काम गर्यौं । जनताको बीचमा गरेको प्रतिबद्धता या संकल्प अनुसार सुशासनको अभियान सुरु गरेको थियो, मेरो नेतृत्वको सरकारले । जनतासँग गरेको प्रतिबद्धता अनुसार नै सामाजिक विभेदका विरुद्ध, सामाजिक न्यायको पक्षमा अभियान नै सुरु गरेको थियो । जनतासँग गरेको प्रतिबद्धता अनुसार नै आर्थिक संकटबाट देशलाई मुक्त गर्ने अभियान सुरु गरेको थियो । डेढ वर्षमा निक्कै सकारात्मक परिणाम देखिएको थियो । भ्रष्टाचारीहरू कारबाहीको दायरामा आउँदै थिए । के राजनीतिक नेता, के ठूलाठूला हाकिमहरु, के भू–माफियाहरु, राज्यको जग्गा व्यक्तिको नाममा बनाएर करोडौं लुट्नेहरु कारबाहीको दायरामा पर्दै गएपछि न हामीलाई हटाएको हो । त्यसकारण हामी जनताको म्याण्डेट छोडेर २०८४ को चुनाव मात्रै भनिरहेका छैनौं । जनतासँग गरेको वाचा कबुल अनुसार इमान्दिारिताका साथ काम गर्दैथियौं, दलालहरु हामीसँग रिसाए । अनि उनीहरुले नै आफ्नो घर–घरमा काँग्रेस–एमालेका नेताहरुलाई रातारात बोलाएर, ढाँटछल गरेर सहमति गरेका हुन् नि । एक जना नेता त ढाँट्न भयंकर सिपालु देख्नु भएकै छ त (हाँस्दै) ।

नेकपा (एकीकृत समाजवादी) र अन्य दलससँग पार्टी एकता हुन्छ कि हुँदैन ?

– हामी समाजवादी मोर्चामा सँगै छौं । अस्ति हाम्रो बैठक पनि भयो । एउटा कार्यक्रम पनि प्रज्ञा भवनमा भयो । अब चैतको ९ गते हामी जनकपुरमा एउटा सभा गर्दैछौं । मोर्चाकै तर्फबाट । चैत्र २४ गते काठमाडौंमा एउटा ठूलो सभा गर्दैछौं । मोर्चाको कामहरुलाई सक्रिय बनाउँदै मोर्चा सिंगैलाई पार्टी एउटै बनाउनतिर लान सकियोस् भन्ने हाम्रो चाहना छ ।

संविधान संशोधन गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशको संख्या थपघट हुनसक्छ भन्नु भएको छ । माओवादीको कुरा के हो ?

– त्यो विषय चाहिँ मैले थाहा पाएको छैन । हामीले संविधान बनाउने बेलामा नै केही विषय रिजर्भेसन राखेका छौं । यो संघीय लोकतान्त्रिक गणतन्त्रमा आइसकेपछि हाम्रो यो परिवर्तनलाई मेल खाने भनेको प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति नै हो भन्ने हामीले नोट अफ डिसेन्ट लेखेका छौं । त्यही कुरा जनताको बीचमा लगिरहेका छौं । यो देशमा साँच्चै भ्रष्टाचार रोक्ने, स्थायित्व खोज्ने हो भने यो सिस्टम सुहाउँदो शासकीय स्वरुप चाहिन्छ । प्रत्यक्ष निर्वाचित कार्यकारी चाहिन्छ । संविधान संशोधनमा हाम्रो एजेण्डा त्यहि हुन्छ ।

प्रत्यक्ष राष्ट्रपति निर्वाचित हर्क साम्पाङ र बालेन शाह जस्तो भयो भने नि… ?

– के फरक पर्छ र ? हर्क आएपनि फरक पर्दैन । बालेन आए पनि फरक पर्दैन । के बिग्रन्छ र ? मैले त उनीहरूलाई लोकतन्त्रको सुन्दर फूल भनेको छु । त्यसबाट म दायाँबायाँ छैन । उनीहरुलाई त म आफ्नै मान्छे ठान्छु ।

बिहिबार, १५ फागुन, २०८१, बिहानको ०८:४१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर