कानेपोखरी (मोरङ) । मोरङको कानेपोखरीमा आज लामो समयसम्म नेपाली काङ्ग्रेसमा योगदान गर्नुभएका पुराना नेता जयराज संयोग लिम्बुसहित सयौं जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
लामो समय काङ्ग्रेमा सक्रिय लिम्बु २०७९ को निर्वाचनमा कांग्रेस छाडेर स्वतन्त्र रुपमा प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका थिए ।
जनतासँग माओवादी तराई मधेस जागरण अभियानअन्तर्गत आयोजित कार्यक्रममा उनीसहित विभिन्न पार्टीमा आबद्ध नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई पार्टी प्रवेश गराए ।
कानेपोखरी गाउँपालिकाबाट मात्रै नौ सय र अन्य पालिकाबाट गरी एक हजार बढी पार्टी प्रवेश गरेको माओवादी केन्द्र कानेपोखरी इन्चार्ज अम्बिका अर्यालले जानकारी दिए । पार्टी प्रवेश गरेका लिम्बुले आगामी निर्वाचनमा माओवादीको पक्षमा दुईतिहाइ बहुमत ल्याएर कोशी प्रदेशको नाम खारेज गरेर पहिचान स्थापित गर्न आफू माओवादी केन्द्रमा प्रवेश गरेको बताए।
अब माओवादीलाई पहिचान पक्षधरको छाता पार्टी बनाउन योगदान गर्ने प्रतिबद्धता उनको भनाई छ। कांग्रेसले विपीको सिद्धान्त छाडेर दलाल पार्टीमा परिणत भएको र एमाले बिचौलिया तथा भ्रष्टाको संरक्षक भएकोले अब मुलुक बनाउन माओवादीमा प्रवेश गर्न सबैलाई उनले आग्रह गरे ।