नेप्सेसँगै बढ्यो कारोबार रकम

विराटनगर । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ । पछिल्ला ४ कारोबार दिनदेखि बढिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

आइतबार नेप्से परिसूचक ११.६६ अंक बढेर २७५५.४० विन्दुमा पुगेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.६६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.५५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१२ अंक बढेको छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ८ अर्ब ६२ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२८ स्टकको १ लाख ८ हजार ९१३ पटकको कारोबारमा ११ अर्ब ५४ करोड ८३ लाख ३७ हजार रुपैयाँबराबरको २ करोड १२ लाख ६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

यस दिन गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य यस दिन ७० रुपैयाँ ९० पैसा बढेर ७८० रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको हो । त्यस्तै, यस दिन कुमारी सबल योजनाको इकाईमूल्य करिब १० प्रतिशत बढेको छ भने छ्याङ्दी हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशत बढेको छ ।
यस दिन रिभर फल्स पावरको शेयरमूल्य सर्वाधिक ७.२४ प्रतिशत घटेको छ । त्यसैगरी, यस दिन उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा धेरै घटेको छ भने पिपुल्स हाइड्रोपावरको शेयरमूल्य ६ प्रतिशत घटेको छ ।कारोबार रकमका आधारमा यस दिन हिमालयन रि–इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ९५ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, यस दिन सिटिजन लाइफ इन्स्योरेन्सको करिब साढे ६१ करोडको शेयर खरिदबिक्री भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको ६० करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।

बजारका १३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ । यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक ३.७२ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २.७८ प्रतिशत बढेको छ भने लगानी उपसमूहको परिसूचक १.३३ प्रतिशत बढेको छ । यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.३२ प्रतिशत घटेको छ ।

आइतबार, ११ फागुन, २०८१, साँझको ०७:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर