ताप्लेजुङमा भएकाे प्रहरी दमनकाे माओवादीद्वारा विराेध, मन्त्रीस्तरीय वार्ता टाेली बनाउन माग

विराटनगर । नेकपा माओवादी केन्द्र काेशी प्रदेश समितिले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा भएकाे विवाद समाधानका लागि मन्त्रीस्तरिय वार्ता समिति बनाउन माग गरेकाे छ ।

माओेवादी काेशीका अध्यक्ष हर्क बहादुर नेम्वाङले आईतबार विज्ञप्ती जारी गर्दै यस्ताे माग गरेका हुन् । केबलकार निर्माणको विरोधमा उत्रिएको समूह र प्रहरीबीच पटक–पटक भएकाे झडपमा दर्जनौं घाइते भएको बताउँदै सरकारले वार्ता र संवादबाट राजीनितक रुपमा त्यसको समाधान खोज्नुपर्नेमा बल प्रयोगबाट आन्दोलनकारीलाई लपेट्ने प्रयास निन्दनीय र आपत्तीजनक रहेकाे विज्ञप्तिमा उल्लेख छ ।

`आन्दोलनकारी पक्षले राजनीतिक नेतृत्वसँग वार्ता गर्ने प्रस्ताव राखेकोमा सरकारले अहिलेसम्म त्यसतर्फ चासो दिएको छैन । बरु प्रशासनिक दमन चलाउने, सकारकै संरक्षणमा आन्दोलनविरुद्ध प्रतिकार आन्दोलन थाल्नु, आन्दोलनकारीलाई उत्तेजित बनाउने काम प्रहरी प्रशासनबाटै हुनु र आन्दोलनकारीमाथि चरम दमन गर्ने काम गरिरहेको छ । हाम्रो पार्टी त्यस कार्यको घोर निन्दा र भत्सर्ना गर्दै वार्ताबाटै समस्याको समाधान खोज्न सरकार र आन्दोलनकारी दुबै पक्षलाई संयमताको साथ अगाडि बढ्न अपिल गर्दछ,´ विज्ञप्तिमा उल्लेख छ ।

आन्दोलनको क्रममा उत्पन्न हुने तनाबलाई कम गर्न सहजिकरण र समन्वयको भूमिका खेल्नुपर्ने जिम्मेवारी त्यहाँको प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुखहरुले पुरा नगरेको बरु उत्तेजना बढाउने काम गरिरहेको पनि माओवादीले दाबी गरेकाे छ । त्यसलाई रोकेर आन्दोलनरत पक्षलाई सम्बोधन गर्दै सरकारले तत्काल मन्त्रीस्तरीय वार्ता समिति गठन गर्नुपर्ने, केबलकार निर्माणको कामलाई स्थगन गरेर संवाद थाल्ने र आन्दोलनरत पक्षले आन्दोलननका कार्यक्रम स्थगित गरि वार्ताबाट निकास खोज्न तयार हुनुपर्छ भन्ने पार्टीको धारणा रहेकाे माओवादीले स्पष्ट गरेकाे छ ।

आइतबार, ११ फागुन, २०८१, दिउँसोको ०२:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर