विराटनगर । मोरङमा रहेको पूजा इन्टरनेशनल नेपाल प्रालिको शोरुमबाट चोरी भएको गाडीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका–३ पिपल चोकनजिक रहेको पूजा इन्टरनेशनलले सञ्चालन गरेको फोक्स बगान कम्पनीको शोरुमबाट चोरिएको बा ०१३० च ८५८१ नम्बरको अनटेस्ट कारसहित चोरी गर्ने व्यक्तिलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर हेमराज ओलीले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नम्बर ४ बस्ने मन्तोषकुमार बिन रहेका छन् । पक्राउ परेका बिन लागुऔषध प्रयोगकर्ता भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
गएराति साढे २ बजे तिर उक्त गाडी चोरी भएको र बिहान ८ बजेको समयमा खबर पाएको उनले बताए ।
बिनले शोरुमको सिसा भएको ढोका फुटाएर कार चोरेको ओलीले बताए । उक्त कारको मूल्य ८० लाखभन्दा बढी पर्छ ।
प्रहरीका अनुसार उनलाई सुनसरीको गढीबाट गाडीसहित नियन्त्रणमा लिएको थियो । गाडीमा पेट्रोल सकिएपछि बिनले कार अघि बढाउन नसकेको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले बताए ।
कार भारत लैजान खोजेको प्रहरीको अनुमान रहेको छ ।
‘हामीले भेट्दा उनको बोली लरबराएको थियो,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने ‘उनले लागुऔषध प्रयोग गरेको अनुमान गरेका छौ ।’
उनी पहिला साइकल चोरी गर्ने गरेको खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता एसपी नारायणप्रसाद चिमरियाले बताए ।
अन्यको संलग्नता रहेरनरहेको बारे अनुसन्धान भइरहेको उनले बताए ।