विकासको सुस्त गति : प्रधानमन्त्रीको क्षेत्रमा १७ वर्षपछि बन्यो पुल

विराटनगर । हुलाकी राजमार्गअन्तर्गत झापा र मोरङलाई जोड्ने रतुवा खोलामा १७ वर्षपछि पुल निर्माण सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ को गौरिगञ्ज गाउँपलिका र मोरङको रतुवामाई नगरपालिका जोड्ने पुल निर्माण सुरु भएको १७ वर्षपछि सम्पन्न भएको हो ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीका अनुसार निर्माण सुरु भएको १७ वर्षपछि पुल सम्पन्न भएको छ । पुल निर्माण भएको स्थान झापातर्फको निर्वाचन क्षेत्र २०४८ सायलता २०६४ को संविधानसभा निर्वाचन बाहेक सबै निर्वाचनमा ओलीले प्रतिनिधित्व गरेको क्षेत्र हो ।

मोरङतर्फको क्षेत्र तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, आमोद उपाध्याय हुँदै एमाले नेता ऋषिकेश पोखरेलले निर्वाचन जित्दै आएको क्षेत्र हो । मोरङ क्षेत्र नं. २ मा २०७४ को निर्वाचनमा काँग्रेस नेता मिनेन्द्र रिजाल निर्वाचित भएका थिए ।
पुल निर्माणको काम पूरा भएपनि आसपासको सडक कालोपत्रे गर्ने काम भने बाँकी छ । निर्माण सम्पन्न गर्ने समयसीमा असारसम्म तोकिएको छ । हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका प्रमुख युवराज पोखरेलले सो क्षेत्रमा समय अगावै निर्माण सम्पन्न हुने बताए ।

वि.सं. २०६४–६५ मा निर्माण सुरु भएको सो पुल अधुरै भएपछि २०७९ सालमा दोस्रो पटक निर्माणका लागि ठेक्का लगाइएको थियो । पहिले निर्माण भएको २०४.८ मिटरको पुल खोलाको बिचमा मात्र रहेकोले प्रयोगविहिन थियो ।

पुल नहुँदा स्थानीय बासिन्दाहरू वर्षामा डुंगा र हिउँदमा बाँसको फड्केबाट यात्रा गर्न बाध्य थिए । यात्रुले साइकलमा बाँसको पुल पार गर्न १० रुपैयाँ र मोटरसाइकलको लागि २० रुपैयाँ तिर्नुपर्ने बाध्यता थियो । पुल निर्माण भएपछि आवतजावत सहज भएको छ । झापाको दक्षिणी क्षेत्रबाट विराटनगरसम्म आउने अब सहज हुनेछ ।

मोरङ–सुनसरी पुल आयोजनाले आर्थिक वर्ष २०६४–६५ मा कालिका–ओसिए जेभीलाई १० करोड ३२ लाख रुपैयाँमा पुल निर्माणको ठेक्का दिएको थियो । त्यसबेला २०४.८ मिटर मात्र पुल निर्माण भएपछि हुलाकी राजमार्ग कार्यालयका अनुसार ७६.३ मिटर थप पुल निर्माणका लागि देव एन्ड सायर÷समता÷आशिषदीप जेभीसँग २०७९ साल पुस १७ गते २२ करोड १२ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

मोरङतर्फ ५० मिटर र झापातर्फ २६ मिटर लम्बाइ थप गरेपछि २८२.८ मिटरको पुलबाट अब यात्रा सहज हुने अवस्था भएको कार्यालय प्रमुख पोखरेलले बताए । रतुवा खोलाको अधुरो पुल निर्माण भएपछि झापाका दक्षिणी क्षेत्रका सर्वसाधारणलाई हुलाकी मार्ग हुँदै कोशी प्रदेशको राजधानी विराटनगर आउ–जाउ गर्न सहज भएको छ ।

रतुवाखोलाको पक्की पुल प्रयोग गर्ने अवस्थामा नहुँदा गौरीगन्जदेखि विराटनगरसम्म ४५ किलोमिटरको यात्रा दमक, इटहरी हुँदै सय किलोमिटर पार गर्नुपर्ने अवस्था थियो । यस्तै मोरङको रतुवामाई, सुनवर्षी, रंगेली क्षेत्रका मानिस झापा जान भारतको बाटो प्रयोग गरेर वा पूर्वपश्चिम राजमार्ग हुँदै जानुपर्ने बाध्यता थियो ।

पुल नहुँदा झापा र मोरङ जिल्लाका सर्वसाधारणलाई खोला वारपार गर्नदेखि लिएर स्थानीय उत्पादन बजारसम्म पु¥याउन निकै समस्या भइरहेको थियो ।बाढी आएका बेला डुंगाबाट खोला तर्न पनि निकै जोखिम हुने गरेको थियो । केहि वर्षअघि डुंगा पल्टिँदा खोलाले बगाएर चार जनाको मृत्यु भएको थियो भने तीन जना अझै बेपत्ता छन् । पुल बनेपछि अब सहज भएको रतुवामाइका स्थानीय सुमन कालिकोटेले बताए ।

पुलको सुरक्षाका लागि झापातर्फ ६५० मिटर र मोरङतर्फ १ हजार ४०० मिटरको तटबन्ध निर्माण भइरहेको छ ।

बुधबार, ३० माघ, २०८१, बिहानको ०९:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर