पार्टीलाई आफ्नै वर्ग र समुदायतर्फ फर्काउने अभियान सुरु भएको छ : प्रचण्ड

म्याग्दी । नेकपा ९ माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई आफ्नै वर्ग र समुदायतर्फ फर्काएर जनताको सेवामा जुट्ने अभियान सुरु गरिएको बताएका छन् । माओवादी केन्द्र म्याग्दीले आज बेनीमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले नेपालको राजनीतिक परिवर्तनमार्फत जनतालाई अधिकार सम्पन्न बनाउन माओवादीले निर्णायक र ऐतिहासिक आन्दोलनको अगुवाई गरेको पनि बताए । पछिल्लो समय पार्टीले केही त्रुटि गरेको स्वीकार गर्दै उनले अब गम्भीर आत्ममीक्षासहित पार्टी आफ्नै वर्ग र समुदायमा फर्केको बताए । ‘हामीले पार्टी एकता कायम राख्न सकेनौं, हामी आफ्नो वर्ग र समुदायबाट केही टाढा हुन पुग्यौं’– अध्यक्ष प्रचण्डले भने– ‘म अन्तरआत्माका साथ भन्न चाहन्छु, गल्ती भएकै हो । अब फेरि हामी आफ्नै वर्ग र समुदायमा फर्कने सङ्कल्पका साथ अघि बढेका छौं ।’

पार्टीले के के राम्रा काम गर्यो, कहाँ चुकियो र अब के गर्छ भनेर खुलस्तरुपमा जनताको बीचमा जाने अभियान सुरु गरिएको उल्लेख गर्दै उहाँले अब फेरि पनि जनताको तागतका साथ अघि बढ्ने बताए । ‘हिजो क्रान्तिको बेलामा जंगलमा होइन जनताको काखमा थियौं बरु पछि गएर हामी दलाल र बिचौलियाको घेरामा पर्दा जंगलमा फसेजस्तो भयो । फेरि अब हामीले त्यो घेरा तोडेका छौं’– अध्यक्ष प्रचण्डले भने– ‘अब हामी जनतासँगै रहेर सुशासन, सामाजिक न्याय र समृद्धिको एजेण्डाका साथ अघि बढ्ने छौं । हामीमा अहिले प्राप्त भएको चेतना र जिम्मेवारीबोध अनि २०६४ को जनमतबीच तालमेल हुने हो भने देशलाई नयाँ ठाउँमा उठाइने छ । ८४ मा ६४ भन्दा राम्रो जनमत प्राप्त गर्ने हो भने देशबाट भ्रष्टाचारको जरोकिलो उखेलेर फालिने छ । म अहिले यही अपिलका साथ देशब्यापी अभियानमा हिडेको छु र अब चाँडै सिंगो पार्टी पंक्ति देशव्यापी अभियानमा जुट्ने छ ।’

आफ्नो नेतृत्वको सरकारले राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा गरेका यी ऐतिहासिक कामबाट तर्सेर नै भ्रष्टाचारी, बिचौलिया र दलालहरुले सरकार ढालेको नेपाली जनताले छोटै अवधिमा स्पष्टसँग बुझेको उनले बताए । अध्यक्ष प्रचण्डले अहिलेको सरकार संविधान र लोकतान्त्रिक भावनाविपरीतको सरकार हो भन्ने जनतामा स्थापित हुँदै गएको पनि बताएका छन् ।

उनले भने– ‘संविधान मिच्न, भ्रष्टाचारीलाई जोगाउन, जनतामाथि निरंकुशता लाद्न र सुशासन विरोधी अभियान अवरुद्ध पार्न नै यो सरकार बनेको हो भन्ने अब घामजस्तै स्पष्ट भइसकेको छ ।’ अध्यक्ष प्रचण्डले आफ्नो पार्टीलाई समेत जानकारी नगराएर रातको ११ बजेपछि बिचौलिया र दलालहरुको घरमा बैठक बसेर बनाएको सरकारले राष्ट्र र जनताको पक्षमा काम गर्दैन भनेर आफूहरुले सुरुदेखि भन्दै आएको र यो क्रमशः पुष्टि पनि हुँदै गएको स्पष्ट भएको बताए ।

आफूले पहिलो कार्यकालमा राष्ट्रिय एकता कायम गर्दै संविधान कार्यान्वायन गरिएको, गरिब किसानलाई ऋणमुक्त गरिएको र मध्यपहाडी लोकमार्गलगायत महत्वपूर्ण पूर्वाधारको थालनी गरिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले दोस्रोपटक प्रधानमन्त्री भएको बेलामा १८ घण्टासम्मको लोडसेडिङ अन्त्य गरेको स्मरण गराएका छन् । ‘यी प्रतिनिधिमूलक कामबाट पनि जनताले प्रष्टै बुझेका छन् कि कसले जनताको पक्षको पक्षमा काम गर्छ र कसले जनताको विरुद्ध षड्यन्त्रका तानाबाना बुन्छ रु’– उनले प्रश्न गरे ।

मङ्गलबार, २२ माघ, २०८१, साँझको ०५:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर