विराटनगर । नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोइरालाले संविधान हतारमा बनाउन आफ्नो पनि संलग्नता रहेको र धेरै त्रुटी भएको भन्दै क्षमा मागेका छन् । विराटनगरमा बिहीबार नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसन र नेपाली काँग्रेसको पेशागत तथा बुद्धिजीवि विभागले आयोजना गरेको संविधान संशोधन, आवश्यकता र चुनौति विषयक अन्तरक्रियामा कोइरालाले यस्तो बताएका हुन् ।
संविधानसभाबाट संविधान जारी गर्दा हतारमा भएको र धेरै त्रुटी भएको भन्दै उनले क्षमा मागेका हुन् । ‘धेरै कुराहरु संविधानमा संशोधन गर्नुपर्ने छ । हतारमा संविधान बनायौं । सरी फर द््याट । म तपाईहरूसँग क्षमा माग्छु । म पनि ड्राफ्टिङ कमिटीको मान्छे भएकोले क्षमा माग्न त पाइन्छ,’ कोइरालाले भने ।
उनले संविधान जारी गर्नुभन्दा अगाडि जनतामा गएर ल्याएको सुझावको पोका अहिलेसम्म नखुलेको भन्दै असन्तुष्टि जनाए । ‘त्यो सुझावको पोका अहिलेसम्म खुलेको छैन । त्यहाँ हामीले सोचेको भन्दा भिन्न विषय थिए जस्तो लाग्छ । संविधान हामीले सोचेको भन्दा भिन्न बनायौं कि भन्ने लाग्छ ।’
उनले संविधानमा स्थानीय तहको अधिकारबारे उल्लेखित विषयहरु युरोपियन युनियनको कपिपेष्ट गरेर राखेको दाबी गरे । ‘त्यहाँ मिसम्याच भयो । युरोपियन युनियनको कुनै कन्ट्रीको कपि पेष्ट गरेर राखियो,’ कोइरालाले भने ।
उनले अहिले नेपाली काँग्रेस सेकेण्ड पार्टीको रुपमा काम गरिरहेनु बिडम्बना भएको पनि बताए । ‘प्रधानमन्त्री, अर्थमन्त्री, राष्ट्र बैंकको गर्भनर, योजना आयोगको उपाध्यक्ष, लगानी बोर्डको अध्यक्ष, सम्पत्ती शुद्धीकरण सबै कम्युनिष्टहरुको हातमा छ । काँग्रेस बोल्न सकिरहेको छैन । किन बोल्न सकिरहेको छैन ?,’ उनले भने ।
उनले अदालत शाही कालमा जति पनि स्वतन्त्र नरहेको दाबी गरे । ‘राजाको कार्यकालमा शाही आयोग खारेज गरेको होइन अदालतले ? त्यत्रो राजा ज्ञानेन्द्रको जगजगी भएको बेलामा ? शाही आयोग खारेज गर्ने त न्यायाधीश नै हुनुहुन्थ्यो नि त । अहिले त्यो आँट उहाँहरुको छैन । किन ?,’ उनले नियुक्तिदेखि नै भागबण्डा हुने गरेको कारण यस्तो भएको उल्लेख गर्दै भने ।
अर्को प्रसंगमा उनले काँग्रेसले आफ्नो कोर भ्यालु घटाउँदै गएको पनि दाबी गरे । ‘काँग्रेसको इमान के हो ? काँग्रेसको कोर भ्याल्यु के हो ? जुन बिपी कोइरालाले बनाएको कोर भ्यालु हो त्यो अहिले ह्रास आइरहेको छ,’ उनले सरकारले ल्याएको अध्यादेशबारे टिप्पणी गर्दै भने, ‘दुई जना चार जना बस्ने अनि ओलीजीले प्रधानमन्त्रीले भन्नुभयो अध्यादेश ल्याउँ अनि ल्याइदिने ? देश त्यसरी चल्दैन । नेपाली काँग्रेसलाई थाहा नै छैन । चार जना बस्नु भयो अध्यादेश ल्याइदिनु भयो । ओलीजीले भन्नुभयो सभापतिले मान्दिनु भयो । त्यो तरिकाले पार्टी पनि चल्दैन । संसदमा विरोध हुन्छ ।’