पूर्वराष्ट्रपति भण्डारीको मुभले दिएको सन्देश

 सम्पादकीय

नेपालको राजनीतिक क्षितिजमा एउटा नयाँ तरंग देखा परेको छ । त्यो हो पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियता । कोशी प्रदेशका विभिन्न जिल्लाको भ्रमणसहित एक हप्ता लामो बसाइ र त्यस क्रममा भइरहेका विभिन्न भेटघाट तथा अन्तक्र्रियाले नेकपा एमालेभित्र मात्र होइन, समग्र नेपाली राजनीतिमा नयाँ तरंग ल्याएको छ ।

भण्डारीको यो कदमलाई केवल व्यक्तिगत राजनीतिक महत्वाकांक्षाको रूपमा मात्र हेर्न मिल्दैन । यो कदम वर्तमान राजनीतिक परिस्थितिको जटिलताको परिणाम हो । एमाले अध्यक्ष केपी शर्मा ओलीको एकलौटी शैली र आन्तरिक लोकतन्त्रको अभावले पार्टीभित्र असन्तुष्टि बढ्दै गएको छ । यस्तो परिस्थितिमा भण्डारीको सक्रियता एउटा विकल्पको रूपमा देखा परेको अनुमान गर्नेहरु राजनीतिक वृत्तमा प्रसस्तै छन् ।

उनको विराटनगर बसाइको क्रममा भएका भेटघाट र संवादले केही महत्वपूर्ण सन्देशहरू दिएका छन् । पहिलो, एमालेभित्र परिवर्तनको आवश्यकता महसुस गरिएको छ । दोस्रो, पार्टीभित्रको एकाधिकारवादी प्रवृत्तिप्रति व्यापक असन्तुष्टि छ । तेस्रो, वैकल्पिक नेतृत्वको खोजी भइरहेको छ ।

भण्डारीले आफ्नो राजनीतिक भविष्यबारे प्रत्यक्ष घोषणा नगरे पनि, उनको सक्रियताले दिएको संकेत स्पष्ट छ । उनी आगामी दिनमा दलीय राजनीतिमा सक्रिय हुने र दलको नेतृत्वदेखि मुलुककै कार्यकारी भूमिकामा पुग्ने उन्को सुसुप्त आकांक्षा यी भेटघाट र मुभहरुबाट प्रष्ट भइरहेका छन् । त्यसैले उनले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनको राजनीतिक सक्रियतालाई समेत सकारात्मक रूपमा लिएर उनले आफ्नो भावी योजनाको संकेत दिएकी हुन् भन्न गाह्रो छैन । एकथरी विशेषज्ञहरूको विश्लेषण अनुसार, यो सक्रियता एमालेभित्रको निरंकुशता अन्त्य गर्न र वामपन्थी एकताको नयाँ आधार निर्माण गर्न उद्देश्यित छ ।
तर, यो बाटो त्यति सजिलो भने छैन । एमालेका केही नेताहरूले भण्डारीको सक्रियतालाई शंकाको दृष्टिले हेरेका छन् । पार्टी अध्यक्ष ओली र उनका निकटस्थहरूको असन्तुष्टिले यो यात्रा चुनौतीपूर्ण बन्ने देखिन्छ । तथापि, वर्तमान राजनीतिक परिस्थितिमा भण्डारीको सक्रियताले नेपाली राजनीतिमा नयाँ विमर्श र विकल्पको सम्भावना खडा गरेको छ ।

बिहिबार, १७ माघ, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर