पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको ‘वार्मअप’

किनारा पर्दै गएका एमाले कार्यकर्तालाई भण्डारीको आस

विराटनगर । एक हप्ता लामो बसाइका लागि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी विराटनगर आइपुगेकी छिन् । यस अवधिमा उनले विभिन्न औपचारिक कार्यक्रममा सहभागी हुनेछिन् । अनौपचारिक रुपमा भने एमालेका नेता, कार्यकर्तासँगको भेटघाटलाई तीब्रता दिने उनको तयारी छ ।

उनी निकट एमाले नेताहरुका अनुसार भण्डारी आगामी माघ २० गते मात्रै राजधानी फर्किने कार्यक्रम छ । त्यसअवधिसम्म उनी तेह्रथुमसम्म पुग्नेछिन् र आफू एमालेको सक्रिय राजनीतिमा फर्किँनका लागि एक ढंगको तयारी (वार्मअप) गर्नेछिन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना विरुद्धमा बोल्ने नेता तथा कार्यकर्तालाई कारबाही गरिरहेका छन् । कतिपय माथिल्लो तहका देखि तल्लो तहका नेता तथा कार्यकर्ताहरु अध्यक्ष ओलीको कार्यशैलीबाट वाक्क दिक्क बनेका छन् । उनीहरुको छहारी बन्ने प्रयासमा छिन् भण्डारी ।

‘कुखुराको चल्लालाई बाजले झम्टिन खोज्दा माउले उपस्थिति त जनाउँछ नि ? त्यस्तै हो । अहिले त्यहाँ भन्दा धेरै नबुझौं,’ भण्डारीलाई सोमबार नै भेट गरेका मोरङका एक एमाले नेताले भने, ‘यो उपस्थितिलाई ‘वार्मअप’ हो भन्ने बुझिन्छ । उहाँले ७ दिन बस्दा पुरै कोशी प्रदेशको आफ्नो अवस्थालाई नियालेर जानुहुनेछ । उहाँ २० गते मात्रै फर्किनुहुन्छ । ७ दिन बस्नु भनेको चानचुने कुरा चाहिँ होइन ।’ उनले त्यसो भन्दैगर्दा पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश व्यक्त गरे । ‘ओलीबालाई हिंजो संकट पर्दा मोरङले बचाएको हो । अहिले नन्दी भृङ्गी, चोर, फाटाहा, गुण्डाहरु अघिपछि लगाएर अरुलाई साइड लगाउन खोजेपछि विकल्प खोज्नु परेन ?,’ उनले प्रश्न गरे ।

भण्डारीले विराटनगरस्थित होटल बिगमा बसेर सोमबार दिनभर नेता तथा कार्यकर्ताहरुसँग अन्तरक्रिया गरिन् । सँगसँगै पत्रकारहरुसँग प्रश्नोत्तर कार्यक्रम पनि गरिन् । पत्रकार सम्मेलन उनले आफैंले चाहना राखेर बोलाइएको थियो । तर, त्यसलाई पत्रकार सम्मेलन भनिएन । तर, त्यो केही न केही देखाउनका लागि गरिएको एमाले कार्यकर्ता नै बताउँछन् । भण्डारीले पत्रकारहरुसँग कुरा गर्दै ‘म राष्ट्रिय राजनीतिमा सक्रिय छु’ भनिसकेकि छिन् । ‘राष्ट्रिय राजनीतिमा, अन्तराष्ट्रिय परिस्थिति कसरी गइरहेको छ ? विश्व परिस्थिति कसरी गइरहेको छ ? नेपालको परिस्थिति कसरी गइरहेको छ ? नेपाललाई के गर्दा राम्रो हुन्छ ? भन्ने विषयहरुमा, एजेण्डामा चासो हुन्छ नै,’ भण्डारीले भनिन्, ‘भोली कुन दलबाट कहाँ गर्ने भन्ने कुरा पनि आउँछ होला । म एमालेबाट आएर यो ठाउँसम्म पुगेको हुनाले जाँदाखेरि त्यही नै कुरा हुन्छ । त्यो चाहिँ छलफलको चरणमा प्रवेश गरेको छैन ।’ तर, उनले आफू सक्रिय राजनीतिमा रहेको खुलेरै बताइन् । ‘म राष्ट्रिय राजनीति मै सक्रिय छु भनेर भनिसकें त,’ उनले भनिन् । उनले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन माओवादी राजनीतिमा आउन खोज्नु सकारात्मक भएको पनि बताएर आफू पनि आउनसक्ने संकेत गरिन् । ‘सामान्यतः आफैं पत्रकारहरु बोलाएर यस्तो खालको कार्यक्रम अहिलेसम्म गरेको अवस्था थिएन । यसले केही न केही हो भन्ने देखिन्छ,’ ति एमाले कार्यकर्ता भन्छन्, ‘अब उहाँ एक हजार प्रतिशत राजनीतिमा आउने हो । ओलीले नै राजनीतिमा ल्याउनु पर्ने बाध्यात्मक परिस्थिति बन्छ । यो बसाईमा प्रदेशका पार्टीका धेरै कार्यकर्ताले भेट गर्छन् । विनोद ढकालले सहजीकरण गरिरहनु भएको छ ।’

भण्डारीलाई विराटनगर एयरपोर्टमा स्वागत गर्न विनोद ढकाललगायत नेताहरु गएका थिए । भण्डारीले होटल बिगमै एमाले निटक महिला संगठनका नेतृहरुसँग भेटघाट गरिन् । पत्रकार सम्मेलन गरेर उनले युवा, विद्यार्थी वैज्ञानिकसँग भेटघाट गरिन् । साँझ विराटनगर महानगरपालिकाका केही नेता, कार्यकर्ताले भेट गरे । मङ्गलबार पनि सयजति नेता तथा कार्यकर्तासँग उनले भेटघाट गरेको एमाले नेताहरुले बताएका छन् ।

उनलाई भेट्न जानेहरुको ताँती लामै छ । एमाले निकट अनेमसंघ कोशी प्रदेश अध्यक्ष तथा कोशी प्रदेशकी राज्यमन्त्री सिर्जना राई, अनेम केन्द्रीय सदस्य मुना तिवारी, प्रदेशसभा सदस्य गीता रेग्मी, नेकपा एमालेकी केन्द्रीय सदस्य इन्दिरा देवी गौतम, अनेमसंघ केन्द्रीय सदस्य घना तामाङ, विराटनगर महानगरकी उपमेयर शिल्पा निराला कार्कीलगायत करिब २० जना थिए । विनोद ढकालले भेटघाटको चाँजो पाँजो मिलाएका थिए । यस्तै एमाले नेताहरु भानुभक्त ढकाल, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की पनि सोमबार साँझ भण्डारीसँग भेट गर्न होटल पुगेका थिए ।

प्रोफेसर कृष्ण पोखरेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियतालाई दुई कोणबाट व्याख्या गरे । ‘सामान्य अवस्थामा हो भने एकपटक राष्ट्रपति भएको मान्छे पुनः सक्रिय राजनीतिमा आउने कुरा त्यति स्वभाविक हुँदैन । तर, नेपालको अहिलेको राजनीतिक परिस्थिति त्यस्तो सामान्य र सहि दिशातर्फ गइरहेको देखिँदैन,’ पोखरेलले भने, ‘एमालेका एक जना नेताको अहम्को कारण नेपालको बामपन्थी राजनीति बरालिएको छ । स्वयं एमालेभित्र चरम निरंकुशता हाबी भइरहेको अवस्थामा त्यहाँ भित्रका कार्यकर्ताहरुले पनि राहतको सास फेर्ने ठाउँ विद्या भण्डारी आइदिए हुन्थ्यो भन्ने सोचेको देखिन्छ ।’

उनले एमालेका महासचिव शंकर पोखरेलले भनेजस्तो दुई दलीय राजनीति हुनका लागि पनि विद्या भण्डारीको माग भएको दाबी गरे । ‘दुई दलीय राजनीति भनेको मिलाएर हुन्छ । फुटाएर, गलाएर, कारबाही गरेर, हप्काएर हुँदैन । वैचारिक, कार्यक्रमिक ढंगले हुनुपर्छ,’ पोखरेलले भने, ‘त्यसरी एकताबद्ध गर्नका लागि विद्या भण्डारी राजनीतिमा आउने हो भने त्यो सम्भावनाको ढोका खुल्छ । एमालेभित्रको निरंकुशताले पनि निकास पाउँछ र समग्र वैचारिक हिसावले नजिक भएका राजनीतिक दलहरु एक ठाउँ आउने बाटो खोल्छ जस्तो लाग्छ । यदि त्यो कुरातर्फ हो भने उहाँ राजनीतिमा आउन खोज्नु त्यसलाई म चाहिँ ठिक ठान्छु ।’
विद्या भण्डारीको सक्रियतालाई राजनीतिमा आउने प्रयास भनेर बुझ्न सकिने पोखरेलले बताए । ‘उहाँ पोखरामा जानु भयो । त्यहाँ त झनै महत्वपूर्ण कार्यक्रममा भाग लिनुभयो । त्यहाँ त प्रधानमन्त्रीलाई नबोलाएर पूर्व राष्ट्रपतिलाई बोलाइयो । त्यहाँ मुलुककै बारेमा अन्तराष्ट्रिय स्तरको गोष्ठी थियो,’ पोखरेलले भने, ‘त्यसकारण उहाँ पनि कहिँ न कहिँ नाडी छाम्दै हुनुहुन्छ जस्तो लाग्छ ।’
राजनीतिमा आउनका लागि अहिलेको एमालेभित्रको अवस्थालाई ब्रेक थ्रु गर्ने हिसावले आउनु पर्ने र त्यो बाटोमा आउँदा एमालेभित्र सपोर्टबेस के हुन्छ भन्ने कुरा उहाँले बुझिरहेको हुनसक्ने पोखरेलले बताए ।

एमालेकै नेता बिमल कार्की भने एमालेमा विद्या भण्डारी आए पनि पार नलाग्ने बताउँछन् । ‘उहाँ एमालेको नयाँ अध्यक्ष भएर पार लगाउँछु भन्नु चाहिँ मुर्खता हो । एमालेभित्र ओलीबालाई च्यालेन्ज गर्ने कोही भएनन् । त्यही बेलामा विद्यादेवी भण्डारीलाई देखाउन खोजिएको हो,’ कार्कीले भने, ‘तर, त्यो भनेको पनि ताप्केको माछा भुंग्रोमा भनेजस्तै हो । माधव नेपाल र झलनाथ खनालले एमालेलाई न भाले न पोथी बनाए भनेर हामीले ओलीलाई बोकेका थियौं । ओलीले अहिले पार्टीलाई के बनाउँदै हुनुहुन्छ देखेकै छौं । अब विद्या भण्डारी आउँदा पनि झन् समस्या पर्छ । हामीले नेतृत्वमा पुस्ता हस्तान्तरणमा जानुपर्छ ।’

बुधबार, १६ माघ, २०८१, बिहानको ०९:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर