१४ औँ प्याब्सन स्पोर्ट्स मिट हुने, तीन हजार बढी विद्यार्थीले भाग लिने

विराटनगर । १४ औँ संस्करणको प्याब्सन स्पोर्ट्स मिट सुरु हुने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल ९प्याब्सन० मोरङको आयोजनामा  शुक्रवारदेखि प्याब्सन स्पोर्टस  मिट हुने भएको हो । 

प्याब्सनले मङ्गलवार पत्रकार सम्मेलन गरी माघ १८ देखि २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा २५ भन्दा बढी विद्याका खेलहरू समावेश गरिएको छ । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा मोरङ प्याब्सनमा आबद्ध ३ हजार बढी विद्यार्थीहरूले भाग लिने प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेतले जानकारी दिए । उक्त प्रतियोगिताको उद्घाटन प्रदेशको सामाजिक विकास मन्त्री पाँच कर्ण राईले गर्नेछन् । करिब १५ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको स्पोर्टस  मिटमा सहभागी विद्यालयहरूको रजिस्ट्रेसन शुल्क र प्याब्सनको आन्तरिक स्रोतबाट लागत जुटाइने अध्यक्ष बस्नेतले बताए ।

प्याब्सन मोरङले २०६३ सालदेखि हरेक वर्ष प्याब्सन स्पोर्टस  मिट सञ्चालन गर्दै आएको छ । प्याब्सन स्पोर्टस  मिटमा कक्षा १० सम्मका छात्र र छात्रातर्फ गरी मैदानमा खेलाइने लङ्ग जम्प, हाई जम्प, ट्रिपल जम्प, सर्ट पुट र जेभलिन थ्रो का स्पर्धा हुनेछन् । यस्तै सोही कक्षाका फिल्ड इभेन्टमा भलिबल, टेबल टेनिस र फुटबल यु–१५ का प्रतिस्पर्धाहरू हुनेछन् ।

ट्र्याक इभेन्ट तर्फ कक्षा १० सम्म छात्र र छात्राहरूको अलग–अलग १ सय मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर, १५ सय मिटर दौड हुनेछ । यसै गरी सय गुणा ४ मिटर रिले दौड र ४सय गुणा ४ मिटर रिले दौडका स्पर्धा हुने प्याब्सन मोरङका उपाध्यक्ष विष्णु डङ्गोलले जानकारी दिए । 

कक्षा ११ र १२ का विद्यार्थीहरूको लागि भने छात्र तर्फ भलिबल, फुटबल, टेबल टेनिस, बास्केटबल र म्याराथनका स्पर्धा हुनेछन् भने छात्रा तर्फ भलिबल, टेबल टेनिस र म्याराथनका प्रतिस्पर्धाहरू हुने प्याब्सनका सचिव देवी सिटौलाले बताए  ।
प्रतियोगितामा विजेताहरूलाई मेडल तथा ट्रफि प्रदान गरिने आयोजकले जनाएको छ ।

मङ्गलबार, १५ माघ, २०८१, साँझको ०५:१९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर