म एमालेबाट आएर यो ठाउँमा पुगेको हुनाले जाँदाखेरि त्यहीँ नै हुन्छ । त्यो चाहिँ छलफलको चरणमा प्रवेश गरेको छैन ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउने चर्चा भएको लामो समय भइसक्यो । एमालेभित्रको गुटगत राजनीतिमा उनको भूमिका सुसुप्त तर सक्रिय छ भन्ने चर्चा भइरहेको छ । कोशी प्रदेशको मोरङ र सुनसरीमा आयोजित केही औपचारिक कार्यक्रम र केही अनौपचारिक भेटघाटका कार्यक्रम लिएर भण्डारी अहिले विराटनगरमा आइपुगेकी छिन् । उनी माघ १७ गतेसम्म नै मोरङ, सुनसरीमै रहने कार्यक्रम छ । विराटनगरस्थित होटल बिगमा आयोजित पत्रकारसम्मेलन अगाडि उनले राजनीतिक भेटघाट गरिन् । एमालेका केन्द्रीय नेताहरुका साथै केही प्रदेश सांसदहरु, महिला संगठनका नेतृहरु पनि त्यहाँ सहभागी थिए । त्यसपछि सम्भवतः राष्ट्रपति पदबाट बाहिरिएपछि पहिलो पटक भण्डारीले पत्रकार सम्मेलनकै शैलीमा संचारकर्मीहरुसँग कुराकानी गरिन् । कुराकानीका क्रममा उनले राष्ट्रिय राजनीतिमा आफू सक्रिय भएको बुझिदिन आग्रह गरिन् भने दलीय राजनीति गर्दा एमालेबाटै हुने प्रष्ट संकेत गरिन् । प्रस्तुत छ भण्डारीसँग पत्रकार सम्मेलनमा भएको सवाल जवाफको सम्पादित अंश :
तपाईं पूर्व आउनु भएको छ । कार्यक्रमहरू के के छन् ? त्यसको उद्देश्य के हो ?
– म जनता मावि इटहरीमा ६८ औं वार्षिकउत्सव कार्यक्रममा सहभागी हुन विराटनगर आएको हुँ । आउँदाखेरी विराटनगरमा मेरो पुरानो गृह जिल्ला पनि हो । राजनीतिक काम गरेको स्थान पनि हो । त्यसो भएको हुँदा साथीहरूसँग पनि भेटघाट हुन्छ । खास गरी तीन वटा औपचारिक कार्यक्रम छन् । धरान इन्जिनियरिङ कलेजको एउटा कार्यक्रम पनि छ । त्यहि कार्यक्रमको शिलशिलामा म आएको हुँ । खास गरी शिक्षासँग सम्बन्धीत नै बढी कार्यक्रमहरु छन् । म शिक्षा प्रणाली सुधार हुनुपर्छ भन्ने सोच राख्ने व्यक्तिमध्ये एउटा हुँ । शिक्षा प्रणालीमा आएका कतिपय कमि कमजोरीहरु हामी हेरिरहेका छौं । मिडियामार्फत पनि प्रत्यक्ष जानकारी छ । म भोजपुरमा जन्मेर हुर्किएको र भोजपुर क्याम्पसबाटै इन्टरमिडियट गरेको र महेन्द्र मोरङमा ब्याचलर गरेको हुँ । खास गरेर पूर्वको शिक्षाको अवस्था बुझ्नका लागि पनि आएको हुँ । म पहिले एमालेमा काम गर्दा पनि यताको जिम्मा पनि दिइएको थियो । त्यसबेलामा पनि मैले शिक्षा प्रणालीको सुधार र शिक्षा प्रणालीलाई सुधार गरेर मात्रै देशको सर्वाङ्गीण विकास र हितसँग जोड्नुपर्छ भन्ने मान्यता राखेर हिंडेको हो । अहिले पनि त्यही नै हो । तपार्इंहरुलाई मैले अरु धेरै भन्नु केही छैन । वस्तुनिष्ठ भएर देशको हित हेरेर आ–आफ्नो काम गरौं । हाम्रो अगाडि उज्ज्वल भविष्य बोकेको पुस्ता छ । त्यसलाई हामीले सफल बनाउने कुरा हो । म तपार्इंहरूको कुरा सुन्न पनि इच्छुक छु ।
तपाईं राजनीतिमा सक्रिय हुन लाग्नु भएको चर्चा छ । अब एमालेको अध्यक्ष बन्ने तयारी गरिरहनु भएको छ । त्यही तयारीमा देश दौडाहामा हुनुहुन्छ ? तपार्इं सक्रिय हुन लाग्नु भएको हो कि होइन ? पहिलो कुरा यहाँहरु सबैले बुझ्नु पर्ने कुरा के हो भने हामी सचेत र संगठित भएर हिंडेदेखि नै राष्ट्रिय राजनीति नै गरेर यहाँसम्मको जिम्मेवारी पूरा गरेको हो । त्यसैले राष्ट्रिय राजनीतिमा, अन्तर्राष्ट्रिय परिस्थिति कसरी गइरहेको छ ? विश्व परिस्थिति कसरी गइरहेको छ ? नेपालको परिस्थिति कसरी गइरहेको छ ? नेपाललाई के गर्दा राम्रो हुन्छ ? भन्ने विषयहरुमा, एजेण्डामा चासो हुन्छ नै । मैले शिक्षा, स्वास्थ्य, जलवायु परिवर्तनको कुरा गरिरहेको छु । मैले युवा विद्यार्थी, वैज्ञानिकहरुसँग भेटिरहेको छु । त्यसलाई तपार्इंहरु कसरी बुझ्नु हुन्छ ? हरेकले राष्ट्रिय राजनीतिको बारेमा बुझ्नु पर्छ । पार्टीमा संलग्न हुने नहुने, कुन पार्टीमा संलग्न हुने भन्ने बेग्लै कुरा हो । तर, राजनीति भनेको कस्तो कुरा हो भने कोही पनि त्यसबाट अछुत छैन । तपाईं जसले मलाई प्रश्न गरिरहनु भएको छ तपाईं पनि राजनीतिबाट अछुत हुनुहुन्न । कसको आस्था के छ मलाई थाहा छैन । तर, कोही पनि राष्ट्रिय राजनीतिबाट फरक छैनौं र फरक हुनुहुँदैन ।
देशको स्थायित्व, शान्ति र प्रगति होस् भन्ने कुरामा सबैले चासो राख्नुपर्छ । त्यसमा मेरो गहिरो चासो हुन्छ । हिजो पनि मैले त्यही कर्तव्य पूरा गरेको हो । सामाजिक विभेदको विरुद्धमा लडियो । वर्गहरुको अन्तरलाई लिएर संघर्ष गरेको हो । श्रमिकको हितको लागि लड्नु पर्ने हुन्छ । राष्ट्रको समग्र विकासको लागि हामीले लड्नुपर्छ । विश्वमा विज्ञान र प्रविधिले फड्को मारेर कहाँ पुगिसक्यो हामी कहाँ छौं ? यी विषयमा राष्ट्रिय एजेण्डाहरुमा, महिलाहरु, बालबालिकाहरु, खानेपानीको के छ समस्या ? यस्तो विषयमा मेरो चासो हुन्छ ।
जहाँसम्म दलीय विषयमा प्रष्टै भन्नुपर्छ । दलीय राजनीतिमा लागेर पद, जिम्मेवारी लिने कि नलिने भन्ने कुरामा अहिले म प्रवेश गरिसकेको छैन । त्यसैले भोलि कुन दलबाट कहाँ गर्ने भन्ने कुरा पनि आउँछ होला । म एमालेबाट आएर यो ठाउँसम्म पुगेको हुनाले जाँदाखेरि त्यही नै कुरा हुन्छ । त्यो चाहिँ छलफलको चरणमा प्रवेश गरेको छैन । तपार्इंहरुजस्तो केही राजनीतिमा चासो राख्ने साथीहरुको छलफलको विषय भएको हो । समाजको छलफलको विषय भएको जस्तो मलाई लाग्छ । मेरो आफ्नो चाहिँ छलफलको विषय भइसकेको छैन । त्यो समय पनि आइसकेको छैन । हामी राष्ट्रपतीय प्रणालीमा गइसकेपछि हामीले कस्तो खालको नजिर व्यवस्था गर्ने भन्ने विषय पनि छलफलकै विषय हो । तर, तपाईंहरूले बुझ्ने कुरा के हो भने राष्ट्रपति भनेको पनि त्यो गैरराजनीतिक पद र जिम्मेवारी होइन । मैले यो सैद्धान्तिक रूपमा भनेको हो ।
राष्ट्रिय राजनीतिमा सक्रिय रूपमा आउने कि नआउने भन्ने चासो छ नि ?
– म राष्ट्रिय राजनीति मै सक्रिय छु भनेर भनिसकें त ।
दलमा फर्किने कि नफर्किने त ?
– नेपालको शिक्षा सुधारको लागि म लडिरहेको छु । तपाईँहरुलाई थाहा होला नि म राष्ट्रपति हुँदा पनि नेपालको शिक्षा प्रणालीमा सुधार गर्नुपर्छ भनेको थिएँ । आज यति धेरै युवा शक्ति विदेश पलायन भइरहेको छ त्यो के कारणले हो पत्ता लगाउनु पर्दैन ? त्यसलाई तपार्इं दलीय राजनीति भन्नुहुन्छ ? कि के भन्नुहुन्छ ? तपाईंको राजनीति हो कि होइन त्यो । युवाहरुलाई हामीले देशभित्र आकर्षित गर्नुप¥यो । हाम्रा पहाडहरु यति धेरै छन् । यति धेरै स्रोतका भण्डारहरु छन् । त्यसलाई राष्ट्रिय जीवनलाई गरिमामय बनाउनका लागि किन पहल गरिरहेका छैनौं । हाम्रा साथीहरु रोजगारीको खोजीमा नयाँ पुस्ताहरु जान खोजिरहेका छन् भन्ने कुरामा राष्ट्रिय राजनीतिको चिन्ता हुनुपर्छ । तपार्इंले नजा भनेर कोही रोकिनेवाला छैन । जब तपार्इंले आफैं यो ठाउँमा के गर्ने ? पानीको स्रोत प्रयोग गरेर हुन्छ कि ? कृषि वा जलस्रोतलाई के गर्दाखेरि मैले यहाँ राम्रोसँग आर्थिक उपार्जन गर्न सक्छु । राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन सक्छु । म एक जनालाई मात्रै रोजगारी होइन १० जना वा सयौं जनालाई रोजगारी दिनसक्छु भन्ने विश्वास जबसम्म हामीले दिलाउन सक्दैनौं । त्यो खालको शिक्षा प्रणाली लागू गर्न सक्दैनौं भनेपछि त युवाहरू रहँदैनन् नि । अहिले भर्खरै महिलाहरूसँग भेट भयो । उहाँहरूको पनि कुन कुन भाषा सिक्दै गरेको कुरा छ । उनीहरु किन त्यसमा आकर्षित भइरहेका छन् भनेपछि त्ये प्रत्यक्ष रोजगारीको कुरा हो । हामीसँग यति धेरै अवसरहरू छन् । त्यो अवसरलाई चाहिँ देशको हितको लागि उपयोगमा ल्याउने त्यो चाहिँ मेरो राजनीति हुन्छ ।
तपाईँको बारेमा विभिन्न चर्चा छ । मिडियाको वृत्तमा मात्रै छैन राजनीतिक वृत्तमा पनि एमालेका अध्यक्ष बन्न पूर्व राष्ट्रपति विद्या भण्डारी आउनु हुन्छ भन्ने छ के हो ?
– त्यो कुरा मैले भनेको तपार्इंले पत्याउने कि । अरूले भनेको पत्याउने ?
तपाईंले राजनीतिमा सक्रिय नै छु भन्नुभयो । त्यो राजनीति निर्दलीय हो वा दलीय हो ?
– त्यो राष्ट्रिय राजनीति हो । राष्ट्रिय राजनीतिमा शिक्षा, स्वास्थ्य लगायतका थुप्रै कुरा हुन्छ ।
त्यो दलीय हो कि होइन भन्ने मेरो प्रश्न हो ।
– त्यो भोलिको कुरा हो भनें त । त्यो एजेण्डाहरुलाई पूरा गर्नका लागि हुनुपर्छ । हिजो कुनै दलमा आवद्ध भइयो, एउटा चरण पार गरियो । अब के गर्ने भन्ने कुरामा चाहिँ म सबै राष्ट्रिय दलहरूलाई सहयोग गर्न चाहन्छु ।
तपाईं राजनीतिमा आउँछु भन्ने चर्चा पनि । तर, तपार्इंले आउँछु पनि भन्न सक्नुभएको छैन । आउँदिन पनि भन्न सक्नुभएको छैन । यो बीचमा कति दिन बसिरहनु हुन्छ ? तपाईँ निकट भनिएका एमालेका नेताहरु पनि धमाधम कारबाहीमा परिहेका छन् ?
एमाले अध्यक्ष पनि तपाईँसँग डराइरहनु भएको छ भन्ने छ ? त्यसकारण तपार्इँ को कुरा चाहिँ के हो ?
– तपार्इँहरु मेरो माइती गाउँका भाइहरु पनि हो । तपार्इँहरु यस विषयमा भ्रममा रहनु हुँदैन । भोलि राष्ट्रको आवश्यकताले माग ग¥यो भने के गर्ने भन्ने भोलिकै कुरा हो । अहिले नै यो दल, त्यो दल भन्ने केही होइन । राष्ट्रिय एजेण्डामा हामी केन्द्रीत होऔं । पार्टीहरु छन् । उनीहरुलाई पनि हामीले खास एजेण्डामा काम गर्नका लागि सहयोग गर्नुपर्छ भन्ने मेरो धारणा हो ।
हामी भ्रममा छैनौं ।
सायद धेरै नेता, कार्यकर्ता तथा अभियान्ताहरुको अपेक्षाको प्रश्न पनि गरिरहेका हौं नि ?
– मैले त्यो गर्ने नै भनेको छु । तपाईंहरुले पनि खुलस्त यस्तो गर्नु भनेर भन्नुपर्छ । त्यसको लागि म तयार भइसकेको छैन भने तपार्इँहरूले त्यही कुरा पटकपटक सोध्नु त्यति राम्रो होइन नि भन्ने कुरा हो । तपाईँहरूलाई जुन मिडियामा आइरहेको छ नि त्यो गलत कुरा हो । त्यस्तो केही होइन ।
पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन माओवादी केन्द्रको बैठकमा जानु भयो । यसलाई चाहिँ कसरी लिनुहुन्छ ?
– उहाँ युवा हुनुहुन्छ । अनुभव छ राजनीतिमा, संगठन गरेरै आउनु भएको मान्छे हो । म राष्ट्रपति हुँदा उपराष्ट्रपति हुनुहुन्थ्यो सहकार्य भएको थियो । मलाई त खुसी नै लागेको छ । राम्रो नै हो । मेरो सुभेच्छा छ ।