विराटनगर । चालु आर्थिक वर्षमा सखुवासभाबाट एक अर्ब बढी मूल्यको अलैँची निर्यात भएको छ । चालु आर्थीक वर्षमा ७ सय ३० मेट्रिकटन अलैँची निर्यात भएको हो । १ अर्ब २४ करोड भित्रिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सङ्खुवासभाका प्रमुख नवराज गुरुङले जानकारी दिए ।
जिल्लामा गत वर्ष ७ सय ८० मेट्रिकटन अलैँची निर्यात हुँदा १अर्ब २० करोड भित्रिएको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढेसँगै मूल्य वृद्धि भएको हो ।
अलैँचीको मूल्य प्रतिमन १ लाख १५ हजारमा बिक्री भइरहेको व्यवसायिहरुले बताएका छन् । जिल्लामा १ हजार ७ सय ३४ हेक्टर क्षेत्रफल बराबरमा अलैँची खेती गरिँदै आएको छ । अलैँची सङ्खुवासभा, तेह्रथुम पाँचथर, ताप्लेजुङ, इलाम, र धनकुटासहित पहाडी र उच्च पहाडी जिल्लामा उत्पादन हुन्छ । पछिल्लो समय नेपालका ४३ जिल्लामा अलैँची उत्पादन हुने गरेको छ।नेपालमा उत्पादित अलैंचीको बजार भारत हो । अलैँची उत्पादन हुने क्षेत्र सङ्खुवासभालाई यो वर्ष सुपर जोन क्षेत्र बनाइएको छ ।