ऋषिकेशका स्वकीय सचिवविरुद्ध अदालतमा मुद्दा दायर

anil pokhrel 2

विराटनगर । ठगी आरोपमा पक्राउ परेका सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेलविरुद्ध मुद्दा दायर भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले ठगी मुद्दामा जिल्ला अदालत मोरङमा बुधबार नेकपा एमालेका जिल्ला सदस्यसमेत रहेका पोखरेलविरुद्ध मुद्दा दायर गरेको हो ।

सरकारी वकिलको कार्यालयले पोखरेलविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को उपदफा (१) द्धारा निषेधित ऐनको उपदफा (२) बमोजिमको कसूर अपराध गरेकाले निज प्रतिवादीलाई सोही ऐनको दफा २४९ को उपदफा (३) को देहाय (ग) बमोजिम ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवनाको माग दावी लिएर अभियोग दर्ता भएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

अभियोग दर्ता भएपछि बिहीबार प्रतिवादी पोखरेलको बयान हुने र सोही दिन बयान सकिए थुनछेक बहस सुरू हुने उनले बताए । थुनछेक बहसपछि अदालतले पुर्पक्षको लागि थुनामा पठाउने, धरौटीमा छोड्ने वा साधरण तारेखमा छोड्नेमध्ये एउटा आदेश आउनेछ ।

ठगी आरोपमा प्रहरीले २५ पुसमा पक्राउ गरेको थियो । पक्राउ परेको १२ दिनमै अनुसन्धान टुंग्याएर प्रहरीले मिसिल (अनुसन्धान प्रतिवेदन) सरकारी वकिल कार्यालयमा मंगलबार बुझाएको थियो । पोखरेलले एमबीबीएसमा नाम निकालिदिने भन्दै सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–५ बकधुवाका बौआलाल चौधरीसँग विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप छ ।

मोरङको रंगेली नगरपालिका २ घर भइ काठमाडौंमा बस्दै आएका ४३ वर्षीय अनिल नेकपा (एमाले) मोरङका जिल्ला सदस्य हुन् । पार्टीको कोटामा एमबीबीएस भर्ना गरिदिने भन्दै बौआलालसँग २०७१ देखि २०७३ सालसम्म ३८ लाख ८० रुपैयाँ चौधरीले पोखरेललाई दिएको बौआलालले बताएका छन् ।

एबीबीबीएसमा छोरीको नाम निकालिदिने आश्वानस दिएपछि पैसा बुझाएको बौआलालको भनाइ छ । तर, छोरीको नाम ननिस्किएपछि पैसा फिर्ता माग्दै उनी अनिलसँग पुगे । उल्टै आफूसँग जबरजस्ती ५० लाख रूपैयाँ ऋण लिएको कागज अनिलले बनाएको बौआलालले दिएको बयानमा उल्लेख छ ।

बौआलालले आफू ठगीमा परेको भन्दै प्रहरीमा उजुरी दिएका थिए । तर, प्रहरीले दर्ता गर्न मानेन । हुलाकमार्फत जाहेरी पठाएर उनले उच्च अदालत विराटनगरमा पनि रिट दायर गरेका थिए । उच्च अदालतले अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको थियो । ठगी प्रकरणमा मुछिएपछि ऋषिकेशले अनिललाई स्वकीय सचिवको जिम्मेवारीबाट हटाएका थिए ।

बुधबार, ०९ माघ, २०८१, साँझको ०५:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर