विराटनगर । आफ्नै घरमा काम गर्न राखिएकी बालिकामाथि बलात्कार गरेको आरोपमा पुर्पक्षको लाथि थुनामा पठाइएका झापाको विर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुव कुमार सिवाकोटी अस्पतालमै छन् । नेकपा एमालेका नेता रहेका उनलाई गत पुस २२ गते उनलाई जिल्ला अदालत झापाले पुर्पक्षका लागि झापा कारागार चलान गरेको भएपनि उनी एक दिन पनि कारागार बसेका छैनन् ।
त्यसो त सिवाकोटी अनुसन्धानको क्रममा प्रहरीले पक्राउ गरेपछि प्रहरी हिरासतमा पनि बसेनन् । उनी मंसिर २४ गते पक्राउ परेको देखिदेखि नै विर्तामोडस्थित बीएन्डसी अस्पतालको भिआइपी क्याबिनमा बसिरहेका छन् । सिवाकोटीले हिरासत र कारागार छलेर अस्पताल बस्नुलाई ‘राजनीतिक पहुँच र शक्तिको आड’ भएको भन्दै पीडित पक्षले गुनासो गर्दै आएको छ ।
सिवाकोटीको अस्पताल बसाईको बारेमा मंगलबार प्रदेशसभा बैठकमा पनि प्रश्न उठ्यो । झापाकी सांसद सविना बजगाईंले अदालतको आदेशमा कारागार पठाइएका व्यक्तिलाई राजनीतिक पहुँचको आधारमा अस्पतालमै राखिएको भन्दै आपत्ती जनाइन् । ‘ठूलो दलको आडमा विभिन्न बहाना बनाएर सिवाकोटीलाई अस्पतालमै राखिएको छ’ उनले भनिन्, ‘यसबाट पीडित पक्ष चिन्तित छन् । सानालाई ऐन ठूलालाई चैन भनेजस्तो भएको छ ।’
२०७४ सालमा बुबाआमाको मृत्यु भएपछि सहाराविसिहन भएकी भारतको आसाम बस्ने बालिकालाई उनकी हजुरआमाले सिवाकोटीको घरमा राखेकी थिइन् । नातिनीको लागि सहयोग माग्दै उनकी हजुरआमा २०७४ मा नगरपालिका पुग्दा भर्खरै मेयरमा निर्वाचित भएका सिवाकोटीले आफ्नै घरमा राखेर पढाउने भन्दै जिम्मा लिएका थिए ।
आफूलाई बुबा भन्नु भनेपछि बुबा सम्बोधन गर्दै आएकी बालिकालाई सिवाकोटीले पटक–पटक बलात्कार गरेका थिए । कक्षा ६ मा पढ्दादेखि नै सिवाकोटीले आफ्ना गोप्य अङ्गहरूमा हात लाने गरेको र पटक–पटक बलात्कार गरेको पीडितले बयान दिएकी छन् । सिवाकोटीकी श्रीमती विदेश गएको बेला बलात्कार गरेको र कसैलाई सुनाएमा घरबाट निकालिदिने धम्की दिएको पीडितको भनाइ छ ।
स्कूलमा बुझाउन र कापीकिताब किन्न पैसा माग्दा पनि सेक्स गर अनि मात्रै दिन्छु भनेपछि आफू बाध्य हुनुपरेको पीडितले बताएकी छन् । पोर्न भिडियो देखाएर आफूमाथि सिवाकोटीले बलात्कार गरेको उनले बयानमा उल्लेख गरेकी छन् ।
पटक–पटक बलात्कारमा परेपछि पीडित बालिका गत मंंसिर २४ गते बिहान कलेज जान्छु भनेर सिवाकोटीको घरबाट निस्किएपछि भारततर्फ जान खोजेकी थिइन् । ठुलीआमा भारतको आसममा बस्ने भएकोले उतै गएर बस्ने सोच हिँडेकी उनलाई काँकडभिट्टाबाट भारततर्फ जान लाग्दा आफन्त नेपाल नाम संस्थाले रोकेर सोधखोज गर्दा बलात्कारको पीडा सहन नसकेर भारत जान खोजेको खुलेको थियो ।
संस्थाकै सहयोगमा पीडितले जाहेरी दिएपछि सिवाकोटी तत्काल पक्राउ परे । तर, न उनले एक दिन हिरासत बस्नुपरो न अदालतको आदेश अनुसार कारागार बस्नु परेको छ । पक्राउ पर्नु अगाडि घरमा बालिका बलात्कार गर्ने सिवाकोटी अहिले गम्भीर विरामी भएको बहाना बनाएर अस्पताल बसिरहेको पीडित पक्षले बताएको छ । उनी अस्पताल बसेपछि निगरानीको लागि भन्दै चार जना प्रहरीलाई अस्पतालमा खटाउन परेको छ ।
झापा कारागारका खरिदार नारायण गौतमका अनुसार सिवाकोटीको निगरानीका लागि चार जना प्रहरी अस्पतालमा राखिएको छ । अदालतमा आफू विरामी भएको सिवाकोटीले बताएपछि इजलाशले उपचारको व्यवस्था गर्नु भन्ने आदेश दिएको थियो । त्यहि आदेशलाई टेकेर सिवाकोटीले कारागार छलिरहेको आरोप छ ।
सिवाकोटीले २३ वर्षदेखि प्रेसर र ३७ वर्षदेखि सुगरको बिरामी भएको बयान दिएको अभियोगपत्रमा उल्लेख छ । पीडित किशोरीका आफन्तले भने सिवाकोटी सत्ता र शक्तिको आडमा हिरासत र कारागार नबसी अस्पतालमै बसिरहेको आरोप लगाउँदै आएका छन् ।
आरोपीलाई राज्यले संरक्षण गरेको भन्दै पीडित परिवारले राष्ट्रिय मानव अधिकार आयोगमा समेत उजुरी दिएका थिए । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश कार्यालयका मानव अधिकार अधिकृत डिल्लीराम लम्सालले पीडित परिवारबाट आएको उजुरी र त्यसका बारेमा बुझ्ने काम भइरहेको बताए । घटनालाई राजनीतिकरण हुन नदिन निगरानी गरिरहेको उनको भनाइ छ ।