किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने

विराटनगर । माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभर पाठेघरको मुखको क्यान्सरविरूद्धको एच.पि.भी खोप अभियान सञ्चालन हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागले लक्षित समूहका किशोरीहरूलाई विद्यालयमै खोप अभियान सञ्चालन गर्नेछ ।

कक्षा ६, ७, ८, ९ र १० का किशोरीहरूलाई खोप लगाइने छ । १० वर्षदेखि १४ वर्षसम्मका किशोरीलाई खोप लगाउने कार्यक्रम छ । विद्यालयबाट अभियान सुरु भएपछि मात्र स्वास्थ्य सेवा केन्द्रबाट खोप लगाउने सरकारको तयारी छ ।
देशभरका १६ लाख ८८ हजार ७ सय ६८ जना किशोरीहरूलाई एचपिभी खोप लगाइने तयारी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सामुदायिक र निजी गरी १९ हजार ८ सय विद्यालयहरूमा विद्यालयलाई खोप केन्द्र तोकेर लगाइनेछ । खोप अभियानमा तालिमप्राप्त स्वास्थ्यकर्मीहरू खटिनेछन् ।

चिकित्सकहरुका अनुसार एचपिभी एक प्रकारको भाइरस हो । यसलाई ह्युमन प्यापिलोमा भाइरस भनिन्छ । पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक एचपिभी हो । एचपिभीको दुई सयभन्दा बढी किसिमका प्रजातिहरू हुन्छन् । यसमध्ये कम्तिमा १२ वटा प्रजातिलाई पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारक मानिन्छ ।

नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर १६ र १८ प्रजातिबाट भएको देखिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । परिवार नियोजन तथा प्रजनन् स्वास्थ्य शाखाका प्रमुख शर्मिला दाहाल पौडेलले यो खोपले एचपिभी संक्रमणबाट हुने पाठेघरको मुखको क्यान्सरबाट बचाउने भएकाले सबै किशोरीहरूले लगाउन आवश्यक रहेको जानकारी दिइन् ।

परिवार नियोजन तथा प्रजनन् स्वास्थ्य शाखाका प्रमुख पौडेलका अनुसार नेपालमा प्रत्येक दिन ६ जना महिलाहरूलाई पाठेघर मुखको क्यान्सर भएको प्रमाणित भएको छ । यसबाट प्रत्येक दिन ४ महिलाहरूको मृत्यु भएको तथ्यांक छ ।
एचपिभी खोप अत्यन्तै सुरक्षित रहेको र विश्व स्वास्थ्य संगठनले गुणस्तरयुक्त प्रमाणित गरेको सरकारले जनाएको छ । यो खोप हालसम्म विभिन्न १४५ देशमा लगाउने अभियान सुरू भएको बताइएको छ ।

यो खोप लगाएपछि दुख्ने, सुन्निने, रातो हुने, ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, रिँगटा लाग्ने, मांसपेशी दुख्ने, थकाइ लाग्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने जस्ता लक्षण देखिनसक्ने बताइएको छ । तर, यसप्रकारका असरहरूबाट डराउनु नपर्ने चिकित्सकहरुले बताएका छन् ।

यो खोप १० वर्ष मुनि र १४ वर्ष माथिका किशोरीहरू, गर्भवती महिला, पहिले खोप लगाउँदा गम्भीर एजर्जी भएका व्यक्तिले भने लगाउन नहुने मन्त्रालयले जनाएको छ ।

मङ्गलबार, ०८ माघ, २०८१, साँझको ०७:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर