विराटनगर । कोशी प्रदेशको कूल प्रतिव्यक्ति आम्दानी १३३६ अमेरिकी डलर पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कोशी प्रदेशको संक्षिप्त अद्यावधिक आर्थिक प्रतिवेदनमा सो जानकारी दिइएको छ ।
विवरण अनुसार आर्थिक वर्ष २०८०–८१ मा कोशी प्रदेशको कूल ग्राहस्थ उत्पादन ९ खर्ब ३ अर्ब पुगेको छ । नेपालको कूल ग्राहस्थ उत्पादन भने ५७ खर्ब ५ अर्ब रहेको छ । यस्तै प्रदेशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशत छ भने शहरी क्षेत्रमा औषत प्रतिव्यक्ति उपभोग खर्च १ लाख ३७ हजार ५४ रुपैयाँ, प्रदेशको ग्रामिण क्षेत्रको औसत प्रतिव्यक्ति प्रतिवर्ष उपभोग खर्च १ लाख २ हजार ५६२ रुपैयाँ रहेको छ ।
तथ्यांक अनुसार प्रदेशमा गरिवीको दर १७.१९ प्रतिशत रहँदा बुआयामिक गरिबी १५.९ रहेको छ । कोशी प्रदेशमा नेपालको कूल आयातको १३.५३ प्रतिशत हिस्सा रहँदा निर्यात भने ३६.४५ प्रतिशत रहेको छ । कोशी प्रदेशमा बैंक तथा वित्तीय संस्थाको शाखा १ हजार ८३७ पुग्दा एटिएमको संख्या ६८१ पुगेको छ । यस्तै वाणिज्य बैंकको उपस्थिति कोशी प्रदेशका सबै स्थानीय तहमा पुगेको छ । प्रदेशमा कूल निक्षेप ४ खर्ब ७७ अर्ब रहँदा कर्जा प्रवाह भने ५ खर्ब ७८ अर्ब पुगेको छ ।
तथ्याङ्क अनुसार प्रदेशमा कृषिमा ९५ अर्ब २५ करोड, उर्जा क्षेत्रमा ३१ करोड, साना तथा मझौला उद्योगमा ६८ अर्ब २२ करोड, पर्यटनमा १० अर्ब ३९ करोड गरी जम्मा १ खर्ब ७४ अर्ब १८ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । यस्तै कोशी प्रदेशमा कृषि र वन, माछापालन, खानी, कृषि वन तथा पेय पदार्थ, गैर खाद्य वस्तु उत्पादखन, निर्माण, विद्युत् ग्याँस तथा पानी, धातुका उत्पादनलगायतका १८ वटा क्षेत्रमा थप ५७ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । यस्तै प्रदेशमा सहुलियतपूर्ण कर्जा १९ अर्ब ६९ करोड रुपैयाँ भएको छ ।
प्रदेशमा डेविट कार्ड १७ लाख ३ हजार ८४२ जनाले प्रयोग गर्छन् भने क्रेडिट कार्ड भने ३१ हजार ५७९ जनाले प्रयोग गर्दछन् । प्रिपेड कार्ड ७ हजार ९७३ जनाले प्रयोग गर्दा मोबाइल बैंकिङ सेवा भने ३४ लाख १४ हजार १९९ जनाले लिने गरेका छन् । इन्टरनेट बैंकिङ सेवा लिनेको संख्या २ लाख ८३९ जना रहँदा निक्षेप खाता खोल्नेको संख्या भने ७६ लाख ५९ हजार ३५ जना पगेको छ । यस्तै क्यूआर मर्चेण्ड प्रयोग गर्नेको संख्या १ लाख ७ हजार ६५८ पुगेको छ ।
बैंकहरुको सबैभन्दा धेरै शाखा मोरङमा रहेको छ । मोरङमा ४५०, झापामो ३५०, सुनसरीमा ३३५ वटा बैंकका शाखा रहेका छन् । उदयपुरमा ११४, इलाममा ९७, धनकुटामा ८२, पाँचथरमा ६७ वटा शाखा रहँदा सबैभन्दा कम भने ताप्लेजुुङमा ३८ वटा शाखा रहेको तथ्याङ्कमा उल्लेख छ ।
यस्तै प्रदेशमा सक्रिय जीवन बिमा संख्या ११ लाख ८३ हजार ५९४, जारी निर्जिबन बिमा संख्या ३ लाख ७८ हजार ५५९ र दुवैखाले बिमाको शुल्क जम्मा २२ अर्ब ६१ करोड ४६ लाख ५ हजार १६७ रुपैयाँ संकलन भएको छ । यस्तै दाबी भुक्तानी भने आर्थिक वर्ष २०८०–०८१ मा ५ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ रहेको छ । यो प्रदेशमा जीवन बीमाको पहुँच २२.१५ प्रतिशत रहेको छ ।
कोशी प्रदेशमा हवाइ यात्रा गर्नेको संख्या भने विगत वर्षभन्दा घटेको छ । आर्थिक वर्ष २०७९–८० मा प्रदेशमा ५७ हजार ४८९ पटक जहाज उडान हुँदा १२ लाख ७ हजार १ सय यात्रुले सेवा लिएका थिए । तर आर्थिक वर्ष २०८०–८१ मा भने जहाज उडान ५३ हजार ८८० पटक मात्रै भएको छ भने ११ लाख ७७ हजार ८६१ जना यात्रुले सेवा लिएका छन् ।