विराटनगर । सत्तारुढ नेकपा एमाले कोशी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक बिदुरकुमार लिंथेपले हतारमा विधेयक पारित गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने बताएका छन् ।
संसदीय पत्रकार मञ्च कोशी प्रदेशले आयोजना गरेको छलफल कार्यक्रममा प्रमुख सचेतक लिंथेपले हतारमा विधेयक पारित गर्दा कमजोरी हुने सम्भावना बढी हुने बताएका हुन् ।उनले भने, ‘हतारमा विधेयक पारित गर्दा कमजोरी हुने, छिटोछिटो संशोधन गर्नुपर्ने र कतिपय विषय छुट्न गई ऐन कार्यान्वयनमा समस्या देखिने गरेको अनुभवका आधारमा पनि अब हतारमा विधेयक पारित गर्न हुँदैन भनेर हामीले सरकारका मुख्यमन्त्रीलाई सुझाव दिएका छौं ।’
छलफलमा प्रमुख सचेतक लिंथेपले प्रदेशसभालाई प्रभावकारी बनाउन आफूहरु गम्भीर रहेको भन्दै त्यसमा संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरुको पनि महत्वपूर्ण भूमिका रहने बताए । प्रदेशसभालाई प्रदेशको समृद्धि, विकास र सुशासन स्थापना गर्न सबै मिलेर भूमिका खेल्नुपर्नेमा उनले जोड दिए ।सोमबारबाट कोशी प्रदेशसभाको छैठौं अधिवेशन सुरु हुँदैछ । अधिवेशन सुरुहुनुपूर्व पत्रकारसँछ छलफल गरेका नेता लिंथेपले यस अधिवेशन अवधिमा संसदलाई बिजनेश अभाव नहुने विश्वास व्यक्त गरे । ‘मुख्यमन्त्रीसँग छलफल गर्दा बिजनेश अभाव हुँदैन भन्नुभएको छ, सरकारले यस अधिवेशनलाई पर्याप्त हुने गरी विधेयकको तयारी गरिरहेको र केही संशोधन विधेयकहरु पनि आउने छन्,’ प्रमुख सचेतक लिंथेपले भने । प्रदेश सरकारले विभिन्न चार नयाँ विधेयक छैठौं अधिवेशनमा ल्याउने तयारी गरेको छ भने विभिन्न ६ वटा विधेयकहरु संशोधन गर्ने तयारी गरेको उनले जानकारी दिए ।
प्रदेशमा असोज दोस्रो साता गएको बाढी पहिरोबाट धेरै विस्थापित भएको, सडक पूर्वाधारमा ठूलो क्षति पुगेको, कयौं क्षेत्रफल खेतियोग्य जमिन कटान भएको तर, सरकारले राहत, पुननिर्माण र पुनसर््थापनाको काममा ध्यान नदिई संसद अधिवेशनसमेत ढिलो गरेको भन्दै गत महिना प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले छिटो संसद बैठक बोलाउन आग्रह गरेको थियो । तर सरकराले त्यसलाई खासै सुनुवाइ नगर्दा जनताप्रति उत्तरदायी नबनेको आरोप विपक्षीले लगाइरहेको छ । तर, एमाले प्रमुख सचेतक लिंथेपले संविधानले दिएको समयसीमा भित्रै १२० दिनपछि संसद बैठक बस्न लागेको बताए । उनले भने, ‘संविधान, कानुनको दायराभित्रै संसद अधिवेशन बस्दैछ र सरकारले विपदमा परेका जनताको उद्धार, राहात र पुनसर््थापनामा ध्यान दिएको र अहिले पुननिर्माणमा ४० करोड बजेट विनियोजन गरी काम थालेकोले सरकार जनताप्रति उत्तरदायी छ ।’
छलफलका क्रममा उनले प्रदेश सरकारसँग तथ्यांक व्यवस्थापनको समस्या समाधान गर्नुपर्ने दायित्व रहेकोले त्यसतर्फ सरकारले काम सुरु गरिरहेको पनि जानकारी दिए । सोही कार्यक्रममा एमाले सांसद किशोरचन्द्र दुलालले कोशी प्रदेशमा सुशासनको विषयलाई थप जोड दिएर उठान गर्न आवश्यक रहेको भन्दै पत्रकारिता क्षेत्रले विशेष ध्यान दिन आग्रह गरे