विराटनगरको ट्राफिक लाइटमा ‘सिंगापुरे झल्को’ !

  कुमार लुइँटेल

“हेर्नुहोला सबैतिर ट्राफिक लाइट जोडेपछि हाम्रो सहर पनि सिंगापुर जस्तै देखिने छ,” विराटनगर महानगरपालिकाको तनखा खाने एकजना नगर प्रहरी अधिकृतले ‘सरेआम’ डिङ हाँक्न भ्याएछन् ।खासमा उनले महानगरका केही भित्री सडकमा लेन छुट्याउन गाडिएका सुन्तले रंगका प्लाष्टिकका साना पोलले सिंगापुरे झल्को दिने दाबी गरेका रहेछन् । उनी सिंगापुर घुमेर आएका थिए कि, यु–ट्युबमा त्यहाँको भिडियो हेरेर भनेका हुन् त्योचाहिँ थाहा भएन । तर, दुई महिना नबित्दै धेरै पोल ढलिसकेका छन् । तिनले नगरको सुन्दरता त के थप्थे ? बरु उल्टै भाँच्चिएर विरूप पो बनाएका छन् । पोल अड्याउन ठोकिएका ‘स्क्रुनट’ र केही चोइटाचाहिँ सडकमै टाँस्सिएको देखिन्छ । बचेका पनि सग्लो हालतमा छैनन् । कसरी भयो त सिंगापुर जस्तो ?

विराटनगर महानगरपालिकाले ट्राफिक लाइट जडान शीर्षकमा पौने एक करोडभन्दा धेरै (रु.७७ लाख) बजेट विनियोजन गरेको थियो । कति खर्च भयो ? खरिदमा लाग्ने र गर्न लगाउनेलाई थाहा होला ! बरगाछी, कञ्चनबारी, तीनपैनी, जलजला मोड, महावीर चौक र रोडशेष चौकमा बत्ती जडित छन् । तिनको संचालन बिदाबाहेक दिनमा भई रहेको छ । कहिले बिहान साढे ९ बजेदेखि नै हुन्छ । कहिले त्यसपछि । जे होस धिपधिप भएपनि बत्ती बलेकै छन् । यो महसुस महानगरबासीलाई नहुने कुरै भएन ।
केही वर्षयता विराटनगरमा सवारी संख्या बढेको छ । खासगरी कार्यालय समय र अपरान्ह बिदा हुँदा अधिक चाप हुन्छ । तर, पूर्वतयारी बिना एक्कासि बत्ती थोपरिँदा महानगरबासीलाई अभ्यस्त हुन कठिन भएकै हो । भइरहेकै पनि छ । नियम पालना गराउन महानगर नत ट्राफिक प्रहरीले चासो दिएका छन् । धेरैले मार्किङ लाइन र लेन मिचेर सडकमै सवारी पार्किङ गर्छन् । पोल गाडेर रेखाङ्कन गरिएका पुछारका ठाउँसम्म सवारी राख्ने क्रम रोकिएको छैन् । लेनक्रस त ट्राफिक प्रहरीको आँखै अगाडि हुन्छ ।

१२० देखि १८० सेकेन्डसम्म पर्खिएर बाटो काट्न दिइएको समयमा एक पालीमै दुई पटकसम्म रातो बत्तीमै अल्झिरहनु पर्ने बाध्यता छ । बाटो काट्ने अवधि धेरै ठाउँमा ३० सेकेन्ड मात्र कायम गरिएको छ । यो अवधिमा सवारी लाम लाग्दा धेरैले बाटो काट्ने समय नै पाउँदैनन् । बायाँपट्टिको लेन सधँै खुला राखिरहनु पर्ने नियम धेरै स्थानमा लागू छैन । सवारीले पेलेरै लाम लाग्छन् ।

पैदल यात्रुलाई हरियो मानिसको चिन्ह अंकित भएपछि मात्र जानुहोस भनेर कसले सिकाउने ? साइकल यात्रु बीच सडकमा पुगेर यता जाउँ कि उता हुन्छन् । कोहीकोही सडक बीचमा पुगेर टोलाएको पनि देखिन्छन् । ट्राफिक प्रहरीले तिरीरी….तिरीरी….. सिठी त फुकेको सुनिन्छ तर तिनले साइकल र पैदल यात्रीलाई उल्टै हप्कीदप्की गर्छन् । “बत्ती बलेको देख्नु भएन, आँखा छैन” आदि आदि !

बरु ‘रातो, हरियो र पँहेलो रंगको विषयमा बेली बिस्तार लगाए हुने, यसरी बाटो काट्नुहोस् भन्दै सिकाए हुने’ । सायद यी सब गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका हाकिम र उनी मातहतका सकल दर्जालाई फुर्सद नभएरै हो कि ? महानगरको बेतनमा ‘पारिवारिक डिलरबाट खरिद गरिएका’ इलेक्ट्रीक साइकल र स्कारपियो गाडीमा हुइँकिने महानगर प्रहरीले पनि सर्वसाधारणलाई ट्राफिक नियम सिकाउँदा केही बिग्रने थिएन ।

नजान्नेलाई हप्कीदप्की नगरौं । सिकाऔं । सिंगापुरको उदाहरण दिनेले त्यहीँ जस्तो गर्न नसकेपनि यहींको परिवेशअनुसार गर्न प्रेरित गर्दा राम्रै हुन्थ्यो । सिंगापुर र स्विट्जरल्याण्डको कुरा छाडौं, मित्र । लडेका भाँच्चिएर सुन्तले रंगका पोल लडेपनि मार्किङ गरिएका लाइनमै रहन चालक र यात्रुलाई प्रेरित गरौं । हाम्रो परिवेश हामी सबै मिलेर सहज र सुव्यवस्थित गर्ने हो । सुधारिएको र सहज ट्राफिक व्यवस्थापन महानगरबासीको पनि चाहना हो ।

सोमबार, ०७ माघ, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर