विराटनगर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विराटनगरमा रहेको गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अनुगमन गरेका छन् ।
उनी प्रधानमन्त्री भएकै बेला यो रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने सरकारले निर्णय गरेको थियो । शनिबार बिहान उक्त रंगशालाको अनुगमन गर्ने क्रममा उनले यसलाई छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्न सरकारले ध्यान दिनुपर्ने बताए ।
नेपाली राजनीतिका ऐतिहासिक व्यक्तित्व एवं शान्ति सम्झौताका हस्ताक्षरकर्ता पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाम जोडिएको यो आयोजनालाई राष्ट्रिय गौरवको आयोजना बनाउन आफ्नो प्रधानमन्त्रीत्वकालमा सुरु गरिएको पनि उनले बताए । ‘पहिले यो रंगशालाको नाम झापा वैजनाथ खेलमैदान थियो, म प्रधानमन्त्री भएकाले बेलामा विस्तृत शान्ति सम्झौताका एक हस्ताक्षरकर्ता, संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रको एउटा प्रमुख नेताको नामबाट यसलाई अघि बढाइएको छ,’ अध्यक्ष प्रचण्डले भने, ‘यो राष्ट्रिय गौरवको आयोजना हुनु पूर्वी नेपालकै खेल क्षेत्र र समग्र विकासका लागि महत्वपूर्ण छ । यसलाई छिटोभन्दा छिटो निर्माण गरियोस्, म प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा पनि यसलाई अघि बढाउन सहयोग गर्नेछु ।’
उनले रंगशालाको डिपिआर बनेर अहिले इआईए पनि भसकेको राष्ट्रिय खेलकुद परिषद्बाट जानकारी पाएको बताउँदै उनले भने, ‘यसलाई अघि बढाउन सरकारले बजेट व्यवस्था लगायतका काममा सहजीकरण गर्न आवश्यक छ ।’ आफूले यसलाई मात्र राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने नभएर सबै प्रदेशका रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने निर्णय गरिएको जानकारी दिंदै अध्यक्ष प्रचण्डले बहुआयामिक प्रकृतिको गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई थप प्राथमिकताका साथ अघि बढाउन आवश्यक रहेको बताए ।

