तेह्र वर्षदेखि अलपत्र पुलको ठेक्का रद्द गर्ने तयारी


दमक । विसं २०६८ मा निर्माण सम्झौता भएर काम सुरु भएको हुलाकी राजमार्ग अन्तर्गत झापाको झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिका जोड्ने कन्काई पुल अलपत्र छ ।

हुलाकी राजमार्गमा अन्य पर्ने अन्य पुल निर्माण सम्पन्न भएको भएपनि सबैभन्दा लामो पुल बन्ने कन्काई र झापा–मोरङ जोड्ने रतुवा खोलामा दशक वित्दा पनि पुल निर्माणको काम पुरा नभएको हो ।दुवै खोलामा पुल नबन्दा स्थानीय बासिन्दाले सास्ती बेहोर्न परेको छ । पुल नहुँदा दुबै खोलामा हिँउदको समयमा स्थानीयले बाँसको पुल बनाएर यात्रा गर्ने गरेको भएपनि वर्षायाम्ममा लामो बाटो घुम्नुपर्ने बाध्यता छ ।

हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय इटहरीका अनुसार २०६८ जेठ ३० गते चार वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी कन्काई पुल निर्माणको सम्झौता भएको थियो । २०७२ को जेठ २९ मा काम सक्नुपर्ने पुल सम्झौता अबधि सकिएको १० वर्ष पुग्नलाग्दा ५८ प्रतिशत मात्र काम भएको छ ।

पाँच पटकसम्म ठेक्काको म्याद थप गरिएपनि निर्माण सम्पन्न नभएको कार्यालयका सूचना अधिकारी ई.प्रभात किरण राईले जानकारी दिए । उनका अनुसार पाँचौँ पटक थप भएको म्याद २०८० सालको असारमा सकिएको थियो ।

पुल निर्माणको काममा प्राविधिक त्रुटि देखिएपछि कार्यालयको अनुरोधमा पुल्चोक इञ्जिनियरिङ क्याम्पसको विशेषज्ञ टोलीले अध्ययन गरेर सुझावसहितको प्रतिवेदन बुझाएको छ । प्रतिवेदनअनुसार देखिएका समस्याको समाधान गरी काम अगाडि बढाउन निर्देशन दिएपनि निर्माण कम्पनीले काम नगरेको इञ्जिनियर राईले बताए ।

काम अगाडि नबढेपछि ठेक्का रद्द गरी नयाँ प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको कार्यालयले जनाएको छ । जसको कारण पुल निर्माण हुन अझै केहि वर्ष लाग्ने देखिएको छ ।पुल बन्दाबन्दै के कारण विगत एक वर्षदेखि रोकिएको भन्ने जानकारी नै नभएको झापा गाउँपालिका वडा नंं २ का वडाध्यक्ष हिमालकुमार चाम्लागाई बताउँछन् । कन्काई नदीमाथि पुल निर्माण सम्पन्न नभएपछि आवतजावत गर्ने कि मानिसहरु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् कि लामो दुरी तय गर्नुपर्ने अवस्था छ ।
गौरीगञ्ज गाउँपालिकाले बर्खायाममा कन्काइमा डुंगा सञ्चालनका लागि २ लाख ३० हजारमा ठेक्का दिने गरेको छ । ठेकेदारले हिउँदमा बाँसको पुल निर्माण गरी मोटरसाइकल तथा पैदलयात्री तार्ने काम गर्छन् । नदी तार्न बनाइएको बाँसको पुलमा मोटरसाइकलको एकतर्फी ५० र पैदल यात्रीलाई २० रुपैयाँ शुल्क लाग्छ ।

शुक्रबार, ०४ माघ, २०८१, बिहानको ०७:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर