ठेक्का कबोलेर सम्झौता नगर्ने दुई कम्पनीलाई कारबाही

विराटनगर ।नदीजन्य पदार्थ उत्खनन्, संकलन र निकासीका लागि ठाउँपालिकाले खुलाको ठेक्कामा उच्च बोलकबोल गरेर सम्झौता गर्न नआएका दुई ठेकेदार कम्पनीलाई ग्रामथान गाउँपालिकाले कालोसूचिमा राख्ने निर्णय गरेको छ । गाउँपालिकाले ती दुवै कम्पनीले ठेक्का प्रस्ताव दर्ता गर्दा राखेको धरौटी जफत गर्ने निर्णयसमेत गरेको छ ।

ठेकेदारहरु मिलेर गाउँपालिकाको राजश्व प्रभावित गर्ने र ठगी गर्ने प्रयत्नस्वरुप मिलेमतोमै दुवै कम्पनी ठेक्का सम्झौता गर्न नआएको आशंका गाउँपालिकाले गरेको छ ।उनीहरुले खोला उत्खनन् गर्न मिलेमतो गरेको स्पष्ट भएको भन्दै गाउँपालिका अध्यक्ष नमोनारायण माझीले लोहन्द्र खोला उत्खनन् गर्न लगाएको ठेक्कामा दुई ठेकेदार कम्पनी मिलेर पालिकाको राजश्वमा ठगी गर्न खोजेको प्रष्ट भएको भन्दै गाउँपालिकाले निर्मम भएर कम्पनीविरुद्ध निर्णय लिएको बताए ।

पहिलो र दोस्रो हुने ठेकेदार कम्पनी मिलेर पालिकालाई ठगी गर्न खोजेको ग्रामथानका गाउँपालिका अध्यक्ष नमोनारायण माझीले बताए । ‘पहिलो र दोस्रो मिलेर सम्झौता गर्न नआएपछि पालिकालाई ठग्ने योजना बनाएको खुल्यो,’ उनले भने ‘उनीहरूलाई कारबाही गर्ने निर्णय समेत कार्यपालिकाबाट गरेका छांै । ’गएको पुस २८ गते बसेको गाउँ कार्यपालिका बैठकले ती दुबै कम्पनीले राखेको धरौटी जफत गरेर कालो सूचिमा राख्ने निर्णय गरेको अध्यक्ष माझीले बताए ।

‘ठेक्का कबोलेर प्रस्ताव दर्ता गरी सम्झौता गर्न नआउने कम्पनीलाई कालो सूचिमा राख्ने र धरौटी जफत गर्ने निर्णय भएको छ । अब पालिकाको क्षतिपूर्ति भराउनका लागि पनि मुद्दा हाल्छौं । पहिले कसैले जबरजस्ती ठेक्का हाल्न लगाएको होइन । ठेकेदार मिलेर पालिकालाई घाटा लगाउने काम भएकाले मुद्दा नै हाल्नु पर्ने भयो,’ अध्यक्ष चौधरीले भने ।’ग्रामथान गाउँपालिकाले २०८१ असोज ३० गते खोला उत्खनन्को ठेक्का निकालेको थियो । त्यसमा न्यूनतम ८२ लाख १८ हजार ८९ रुपैयाँ ७० पैसामा ठेक्का खुलाएको थियो ।

उक्त ठेक्का सूचनाका आधारमा मोरङकै कटहरी ३ मा रहेको जय महाकाली निर्माण सेवाले ३ करोड १५ लाख १ हजार ८८६ रुपैयाँ ८८ पैसामा ठेक्का पारेको थियो । सबै मूल्यांकन सकेर सम्झौता गर्नका लागि पत्र पठाएको तर उक्त कम्पनी सम्पर्कमा नआएको सूचना अधिकारी समेत रहेका सूचना सञ्चार तथा प्रविधि अधिकृत नारायण चौधरीले जानकारी दिए । ‘सम्झौताकालागि १५ दिनको समय दिएर सूचना निकालेका थियांै,’ चौधरीले भने ‘त्यसपछि ठेकेदार कम्पनी नै सम्पर्कमा आएन ।’
पालिकाहरुले असोजदेखि खोला उत्खनन् गर्ने ठेक्का लगाउने गर्दछन् । उच्च मूल्य बोलकबोल गर्ने ठेकेदार कम्पनी सम्झौता गर्न नआएपछि भने अहिलेसम्म ठेक्का लाग्न सकेको छैन ।सबै भन्दा बढी मूल्यमा ठेक्का दाबी गर्ने कम्पनी सम्पर्कमा नआएपछि दोस्रो कम्पनीलाई ठेक्का दिन गाउँपालिकाले सूचना निकालेको थियो । दोस्रो बढी बोलकबोल गर्ने बुढीगंगा ६ मा रहेको डिएनएस ब्रदर कन्स्ट्रक्सन एन्ड सप्लायर्सले २ करोड ७१ लख २० हजार रुपैयाँमा ठेक्का हालेको थियो । उक्त कम्पनी पनि सम्पर्कमा आएन । पहिलो र दोस्रो हुने कम्पनीका बिच ४३ लाख ९० हजार ८८७ रुपैयाँको फरक परेको थियो । दोस्रो हुने निर्माण कम्पनी सम्झौता गर्न नआएपछि तेस्रो बढी मूल्य बोलकबोल गर्ने कम्पनीलाई सम्झौताका लागि पालिकाले सूचना निकालेको छ ।

पहिलो र दोस्रो कम्पनीले ठेक्का हालेर पनि सम्पर्कमा नआउनुको कारण उनीहरुले राजश्व ठगी गर्न खोजेको आशंका गाउँपालिकाले गरेको छ । सुन्दरहरैंचा ४ को एनपि निर्माण सेवाले लोहोन्द्रा खोलाको नदीजन्य पदार्थ उत्खनन् तथा बिक्री वितरण गर्न २ करोड ६७ लाख ७७ हजार ७७६ रुपैयाँ प्रस्ताव गरेको थियो । तेस्रो हुने कम्पनीले दोस्रो डिएनएस ब्रदर कन्स्ट्रक्सन एन्ड सपलायर्सको भन्दा ४ लाख कम मूल्य प्रस्ताव गरेको थियो । उक्त कम्पनी पनि ठेक्का सम्झौताका लागि आइनसकेको गाउँपालिकाले जनाएको छ । उक्त कम्पनीले दुई दिनभित्र सम्झौता गरिसक्नु पर्ने अवस्था छ ।

बिहिबार, ०३ माघ, २०८१, साँझको ०५:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर