विराटनगर । बिद्युत पोलको अवरोधका कारण पूर्वपश्चिम राजमार्ग (एसियन हाइवे) विस्तारको काम सुस्त बनेको छ । एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा काँकडभिट्टादेखि सुनसरीसम्म भइरहेको निर्माणको काममा विद्युत पोलले अबरोध गरेको हो ।
निर्माणधिन चार लेन सडक किनारको विद्युत पोल सार्न विलम्ब हुँदा काममा समस्या भएको निर्माण कम्पनीले जनाएको छ । काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म ९६.७६० किलोमिटर सडक निर्माणको लागि ३४ अर्ब ९० करोड रुपैयाँमा ठेक्का लागेको छ । एडीबीको ८४.१ प्रतिशत र नेपाल सरकारको १५.९ प्रतिशत लगानीमा गत वर्षबाट निर्माण सुरु भएको सडक २०२७ फेब्रुअरीमा सम्पन्न गर्ने लक्ष्य छ ।
नेपाल विद्युत् प्राधिकरणले पोल तत्काल सारेको अवस्थामा सहरी क्षेत्रमा तत्काल कालोपत्रे गर्नसक्ने झापाको सीतापुरीदेखि मोरङको गोठगाउँसम्मको ठेक्का पाएको निर्माण कम्पनी चाइना रेल्वे फस्ट ग्रुप (सीआरएफजी) टुन्डी जेभीले जनाएको छ । कम्पनीका कन्ट्रयाक्ट म्यानेजर डोरमणि पौडेलले बिजुलीका पोल नसारिँदा कालोपत्र गर्न सहज हुने स्थानमा काम ढिलो भएको बताए ।
हालसम्म साइट क्लियरेन्स, माटो भर्ने, कल्भर्ट निर्माणसमेत गरी १२ प्रतिशत काम पूरा गरेको जानकारी दिँदै पौडेलले जंगल क्षेत्रमा रुख कटान पूरा भई माटो भर्ने कामसमेत सकिएको जानकारी दिए । ती स्थानमा प्राधिकरणले तोकिएकै स्थानमा बिजुलीको पोल गाडिसकेको छ । तर, सहरी क्षेत्रको पोल सारिएको छैन ।
काँकडभिट्टादेखि लौकहीसम्म सडक, ठूला पुल र कल्भर्टको काम समेत गरी पाँच प्याकेजमा ठेक्का लागेको छ । प्याकेज २, ३ र ५ काँकडभिट्टा–लौकही सडक आयोजनाको पश्चिम खण्ड इटहरीस्थित सडक कार्यालयबाट हुँदै आएको छ । प्याकेज १ र ४ काँकडभिट्टादेखि लौकहीसम्मको सडक आयोजना पूर्वी खण्ड सडक कार्यालय दमकले हेर्छ ।
नेपाल विद्युत् प्राधिकरण कोशी प्रदेश कार्यालयका निर्देशक मुनिन्द्र ठाकुरले केही सहरी क्षेत्रमा विद्युत पोल सार्न केहि ढिलो भएको स्वीकार गर्दै त्यसमा प्राधिकरण एक्लैको गल्ती नभएको बताए । नालाको फाउन्डेसन बनेपछि डिलमा पोल गाड्ने भन्दै उनले धेरै ठाउँमा नाला नै नबनेकोले पोल सार्न आफूहरुले ढिलो नगरेको दावी गरे ।
सहरी क्षेत्रमा स्थानीय सरकार, स्थानीयवासी, सरोकारवाला सबैसँग समन्वय गरी सन्तुष्ट हुने गरी काम गर्नुपर्ने भएकोले केहि ढिलाइ भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले विभिन्न खण्डमा पोल सार्न ठेक्का दिएको छ । एउटा खण्डमा सोहन कन्स्ट्रक्सनले काम गरिरहेको छ । प्याकेज २ को निर्माण कम्पनीका अनुसार, पोलको कामका निम्ति ८ करोड रुपैयाँ भुक्तानी भइसकेको छ । पूरै प्याकजेका निम्ति हालसम्म प्राधिकरणलाई २५ करोड भुक्तानी भइसकेको इटहरीस्थित सडक कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख जगत प्रजापतिले बिद्युत पोल सार्न पहल गरिरहेको जानकारी दिँदै अपेक्षित गतिमा हुन नसकेकै बताए । पोल सार्ने कामको लागि प्राधिकरणले ७६ करोड रुपैयाँ आयोजनाबाट प्राप्त गर्नेछ । पूर्वी खण्डमा मात्र २ हजार २०० बिजुलीको पोल सार्नुपर्नेछ ।
पोलका विषयमा सडक विभाग र प्राधिकरणबीच एमओयू भएको छ । दमकको रतुवा खोलामा ३३ केभी अन्डरग्राउन्ड केबल रहेको उनले जानकारी दिए । प्राधिकरणले ‘रिलोकेसन’को मात्र नभई अपग्रेडको काम गरी महंगा पोल राखेको उनले बताए ।
पोलका लागि प्राधिकरणले रिलोकेसेन गर्ने काम गर्न नसकेको आयोजनाले जनाएको छ । केही घर भत्काउनुपर्ने र एंगल राखेर पोल राख्नुपर्ने देखिएको भन्दै उनले प्राधिकरणले सामग्री दिन रोकेर काम अघि नबढेको जनाएको छ ।
एसियन हाइबेमा इटहरीको बुढीखोलादेखि लबीपुरसम्म तीन ‘ओभरपास’ बनाइनेछ । पश्चिम खण्डमा सडकबाहेक ६९ कल्भर्ट, ३०० मिटरभन्दा लामा ३ र ३०० मिटरभन्दा कमका २८ पुल निर्माण गरिनेछ । झापाको रतुवा र मोरङका बक्राहा र लोहन्द्रा खोलामा ३०० मिटरभन्दा लामा पुल बनाइनेछ ।
एसियन हाइवेको डिजाइन ‘स्पिड’ प्रतिघण्टा १०० किलोमिटर छ । पूर्वी खण्डमा ४५ किलोमिटर सडकको काम भइरहेको छ । बजारमा ५०, जंगल क्षेत्रमा २४ र ग्रामीण भूभागमा ३३ मिटर चौडाइको सडक हुनेछ । बजार क्षेत्रमा दुवैतर्फ सर्भिस लेन एक÷एक लेनको हुनेछ । यो हिसाबले सडक हुँदा ६ लेनको हुनेछ ।
जंगल क्षेत्रमा चार लेनको सडक निर्माण गरिनेछ । सडक निर्माणको ठेक्का कालिका र चिनियाँ कम्पनीले पाएका छन् ।
थाइल्यान्डको बैंककबाट सुरु भई म्यानमार, बंगलादेश, भारत हुँदै नेपालको पूर्वपश्चिम राजमार्ग भएर नयाँ दिल्ली र पाकिस्तानको कराँचीसम्म पुग्ने सडक पूर्वमा भारततर्फ पश्चिम बंगाल हुँदै नेपालको काँकडभिट्टासम्म जोडिइसकेको छ । एसियाली राष्ट्रबीच व्यापार प्रवद्र्धन, आयात–निर्यात बढाउन र पर्यटक चलायमान गराउने उद्देश्यसहित सडक निर्माण अघि बढाइएको हो ।