एमाले नेता कार्कीलाई निलम्बन

विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीले उदयपुरका एमाले नेता तथा पूर्व प्रदेशसभा सांसद विमल कार्कीलाई पार्टीको सबै जिम्मेवारीबाट निलम्बन गरेको छ । नेता कार्कीलाई ६ महिनाका लागि पार्टी जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय गरेको एमाले कोशीका अध्यक्ष घनश्याम खतिवडाले पुष्टि गरेका छन् ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओलीको पछिल्ला पार्टी हितविपरीतका क्रियाकलापका बारेमा पूर्वसांसद कार्कीले खुला रुपमा आलोचना गर्दै आएका थिए । उनले सामाजिक संजालमा स्ट्याटस लेखेर तथा विभिन्न मिडियाहरुमा प्रतिक्रिया दिएर पार्टीको गलत क्रियाकलापको विरोध गर्ने गरेका थिए ।

कार्कीले मुख्यगरी नेकपा एमालेले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङबाट पार्टी कार्यालय बनाउन जग्गा दान लिएको विषयमा असन्तुष्टि जनाउँदै उक्त कार्य उचित नभएको भन्दै स्ट्याटस लेखेका थिए । त्यसपछि उनले एमाले नेता भीम रावललाई निश्कासन गर्ने र नेतृद्वय विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई निलम्बन गर्ने निर्णयको पनि विरोध गरेका थिए । उनले कारवाही हुनसक्ने सम्भावनाका बिचमा पनि पार्टी हितविपरित भएका निर्णयहरुको विपक्षमा अभिमत सार्वजनिक गरिरहेका थिए ।

त्यसै विषयलाई लिएर पुस २७ गते बसेको एमाले कोशी प्रदेशको बैठकले नेता कार्कीलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको हो ।यसअघि गत मंसिर १६ गते एमाले कोशीले कार्कीलाई तीन दिनभित्र बुझाउने गरी स्पष्टीकरण सोधेको थियो । तर नेता कार्कीले ढिला गरेर मात्र जवाफ फर्काएका थिए ।

कारवाहीको विषयमा नेता कार्कीले आफूलाई कुनै जानकारी नभएको बताए । उनले भने, ‘कारवाहीको बारेमा मलाई कुनै जानकारी आएको छैन । यदि मलाई कारवाही नै गरेको हो उहाँहरुलाई जानकारी दिने ताकत रहेनछ भनेर मैले बुझ्नु प¥र्यो ।’

बुधबार, ०२ माघ, २०८१, बिहानको ०८:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर