विराटनगर ।म्याद सकिएको खाद्यपुरक सामग्री (न्युट्रास्युटीकल)मा नयाँ उत्पादन मिति राखेर बिक्रीको लागि बजारमा पठाउने गरेको पाइएको छ ।विरामीको स्वास्थ्यमाथि खेलवाड गर्दै औषधि भनेर बिरामीलाई आर्थिक रूपमा भार पर्ने खाद्यपुरक सामग्री म्याद सकिएपछि न्युट्रास्युटीकल एसोसिएसन मोरङका अध्यक्ष बिपिन झाले बजारमा पठाउने गरेको पाइएको हो ।
विराटनगर ६ बीएफएम पूर्व भूमि मार्गमा तीन तलाको आफ्नै घरको गोदाममा ५१ वर्षीय झाले म्याद सकिएको न्युट्रास्युटीकलमा नयाँ लेभल लगाएर बिक्री वितरणको लागि बजारमा पठाउने गरेको पाइएको हो । जिल्ला प्रहरी कार्यालय मोरङ र राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीले आइतबार दिउँसो झाको घरमा छापा हानेर ठूलो परिमाणको न्युट्रास्युटीकल बरामद गरेको छ ।
झाले न्युट्रास्युटीकल बजार पठाउनको लागि तीन तलाको घरको भुई तला र दोस्रो तलाका तीन वटा कोठालाई गोदाम बनाएको पाइएको छ । गोदाममा १४ भन्दा बढी प्रकारणका न्युट्रास्युटीकल र अन्य विभिन्न कम्पनीको मल्टिभिटानिहरू फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
मोरङ प्रहरीका प्रहरी निरीक्षक सरोज खनाल र राजस्व कार्यालय इटहरीका अनुसन्धान अधिकृत रामप्रसाद लुईटेल नेतृत्वको टोलीले झाको घरमा छापा हानेर म्याद सकिएको खाद्यपुरक सामाग्री बरामद गरेको हो । प्रहरीले खाद्यपुरक सामाग्रीमा छाप लगाउने ४० वटा स्ट्याप पनि बरामद गरेको छ । बरामद गरेको खाद्यपुरक सामग्रीहरुको अहिलेसम्म बिलबिजक नदेखिएकोले भन्सार छलेर आयात गरेको अनुमान रहेको अनुसन्धान अधिकृत लुईटेलले बताए ।कार्यालयले प्रज्ञापन पत्र र बिलबिजक माग गर्दा सञ्चालकले देखाउन नसकेको बताएको छ । झालाई सोमबार कार्यालयमा हाजिर हुन कार्यालयले पत्र पठाएको जनाएको छ ।
भरिया पक्राउ परेपछि खुल्यो अवैध धन्दा
न्युट्रास्युटीकल एसोसिएसन मोरङका अध्यक्ष रहेका झाले एक दशक अगाडिदेखि नै न्युट्रास्युटीकल आयात गरेर सप्लायर्स चलाउँदै आएका छन् । उनले साक्षी मेडिलिङ्कमार्फत भारतबाट न्युट्रास्युटीकल सस्तोमा ल्याउने र दश गुणा बढी मूल्य तोकेर बजारमा पठाउने गरेको पाइएको छ । कतिपय न्युट्रास्युटीकल क्यारिङ गरेर पनि ल्याउने गरेको जानकारहरु बताउँछन् ।
‘कतिपय न्युट्रास्युटीकल भन्सारबाट राजस्व तिरेर ल्याउने गरेका छन् । त्योभन्दा धेरै भरिया प्रयोग गरेर तस्करी गरि ल्याउने गरेको पाइएको छ’ एक अनुसन्धान अधिकृतले भने, ‘तस्करी गरेर न्युट्रास्युटीकल ल्याउने भरियालाई पक्राउ गरेपछि थप अनुसन्धान गर्दै जाँदा झाको सप्लायर्समा छापा हानिएको हो ।’ म्याद सकिएको न्युट्रास्युटीकलमा पुनः नयाँ स्टिकर, उत्पादन मिति र मूल्य राखेर बजारमा पठाउने गरेको पाइएको उनले बताए ।
झाले म्याद सकिएको न्युट्रास्युटीकलको उत्पादन मिति र म्याद सकिएको मिति मेटाउन केमिकल पनि प्रयोग गर्ने गरेको पायएको छ । न्युट्रास्युटीकलका अध्यक्ष झाले विराटनगरका ठुला अस्पतालभित्रका फार्मेशी र बाहिरका ठूला औषधि पसलमा सामन पठाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।
झाको सप्लायर्सबाट सबैभन्दा बढी विराटनगरको जलजला मोडमा रहेको अलट फार्मेशीले न्युट्रास्युटीकल लैजाने गरेको छ । झाले भारतमा ५० रुपैयाँ पत्तामा खरिद गर्ने न्युट्रास्युटीकल यहाँ ल्याएर आफैं मूल्य तोकेर पाँच सय रुपैयाँसम्ममा बिक्री गर्ने औषधि व्यवसायीहरुले नै बताएका छन् । झाको यो कारोबारमा केही चिकित्सकहरुको पनि मिलेमतो रहेको बताइएको छ ।
‘चिकित्सकलाई एउटै पुर्जीमा धेरै प्रकारका ५ हजार रुपैयाँसम्मका मल्टिभिटामिन लेख्न लगाउने गरेको पाइएको छ,’ एक फार्मेशी सञ्चालकले भने, ‘चिकित्सकले लेखिदिएपछि विरामीले खरिद गर्न बाध्य हुनेछन् ।’ विरामीलाई चर्को मूल्यमा बिक्री गरेपछि न्युट्रास्युटीकल सप्लायर्सले चिकित्सकलाई पनि कमिसन दिने स्रोतको दावी छ ।
झाले भने नष्ट गर्ने तयारी गरिएको न्युट्रास्युटीकल प्रहरी र राजश्वको टोलीले बरामद गरेको दाबी गरेका छन् । ‘नष्ट गर्न हामी आफैंले गरेर हुदैन । महानगरपालिकाबाट सिफारिस लिनुपर्ने हुन्छ’ उनले भने, ‘नष्ट गर्ने क्रममा बरामद गरेको हो, कुनै गलत काम गरेको छैन ।’