इतिहासको खोजीमा ‘बिसे नगर्ची’

 केशव निरौला

पूर्वोत्तर मोरङको पथरीशनिश्चरे–१० निवासी दीपेन्द्रराज तिम्सिना पत्रकारिता पेसाको आधारशिलाबाट निरन्तर खोजपूर्ण लेखन एवम् सङ्कलनमा सक्रिय हुनुहुन्छ । सुनसरीको धरानबाट प्रकाशन हुने ब्लास्ट टाइम्स दैनिकमा निरन्तर ५ वर्ष पथरी संवाददाता भई कार्य गर्नुभएका तिम्सिनाले त्यही सञ्चारीय गुण र जनसम्पर्कको आधारमा पहिलो पटक २०६८ सालमा ‘टेलिफोन डायरी’ नामक लघुपुस्तकार कृति प्रकाशन गर्नुभयो । टेलिफोन नम्बर पाउन कठिन हुने तत्कालीन समयमा यस डायरीले साविक मोरङ क्षेत्र नं. २ का सम्पूर्ण लेन्डलाइन नम्बर समेटेको थियो ।

त्यसपछि उहाँका २०६९ सालमा ‘मोरङको सामुदायिक वन : एक चिनारी’, ‘मोरङको क्षेत्र नं. २ : एक चिनारी’ (२०७०) र ‘पथरीशनिश्चरे नगरपालिका : एक चिनारी (२०७७)’ पुस्तकाकार कृति प्रकाशन भएका छन् । २०७७ सालमा नेपालमै पहिलो पटक ‘जेसीज दस्तावेजः विगतदेखि वर्तमानसम्म’ पुस्तकाकार कृतिको सङ्कलन, लेखन एवम् प्रकाशन गरेर तिम्सिनाले आफ्नो लेखकीय पहिचान देशव्यापी प्रसार गर्दै अगाडि बढ्नुभयो । राष्ट्रव्यापी मागअनुसार उक्त पुस्तक २०७८ सालमा दोस्रो संस्करणसमेत प्रकाशन भयो । यसैगरी २०७८ सालमै ‘धिमाल जातिको इतिहास विगतदेखि वर्तमानसम्म’ नामक कृति प्रकाशन हुँदा धेरैजसो शोधार्थी एवम् अनुसन्धानकर्ताले लेखक एवम् सङ्कलक तिम्सिनालाई भेटेरै थप जानकारी हासिल गर्न थाले । लेखक तिम्सिनाले सोही वर्ष ‘इतिहासमा पथरी शनिश्चरे’ नामक कृति सार्वजनिक गर्नुभयो । खोजीलेखनमा अझ सशक्त बन्दै उहाँले ‘मोरङका जनप्रतिनिधि सँगालो’ (२०७९), ‘माईखोलादेखि पुनर्वाससम्म’ (२०८०), ‘तिमिल्सिना इतिहास ः विगतदेखि वर्तमानसम्म’ (२०८०) र ‘गुमनाम एक इतिहास : बिसे नगर्ची’ (२०८१) नामक कृति प्रकाशन गर्नुभएको छ ।

पछिल्लो पटक प्रकाशित पुस्तक ‘गुमनाम एक इतिहास : बिसे नगर्ची’ले इतिहासको पुनर्जागृत मात्र नगरी नेपालको शिल्पी समुदायको राष्ट्रनिर्माण र एकतामा दिएको योगदानलाई समेत प्रभावकारीरूपमा उजागर गरेको छ । पाठकको राम्रो रोजाइमा परेको हुँदा २०८१ भदौमा प्रथम संस्करण प्रकाशित यस पुस्तकको लगत्तै दोस्रो संस्करणसमेतछापिएको छ । लीला निरौला (तिम्सिना) प्रकाशक रहेको पुस्तक आइएसबिएन (९७८९९३७१७११३७) सहित झापाको दमक स्रष्टा छापाखानाबाट प्रकाशन गरिएको हो । यो पुस्तक बिसे नगर्ची, बाङ्गे सार्की, धार्ने कामी लगायत ज्ञातअज्ञात दलित योद्धाहरूप्रति समर्पण गरिएको छ । बिसे नगर्चीलाई गुमनाम इतिहासको संज्ञा दिइएको पुस्तकमा ४७ ओटा विषयसन्दभलाई भिन्नभिन्न शीर्षकमा विन्यास गरिएको छ । पुस्तक लेखनका क्रममा तिम्सिनाले पुराना लेखरचना, बिसे नगर्चीका आफन्त, उहाँको परिवारलाई दिइएका सनदपत्र, इतिहासकारका भनाइ, गोरखा सङ्ग्रहालय, दलित अगुवा तथा अधिकारकर्मीका भनाइ, विभिन्न सङ्घसंस्थाका दस्तावेज, गुगल तथा विकिपिडियाका सामग्री आदिलाई आधार बनाउनुभएको पाइन्छ ।

पुस्तकको लेखकीयमा बिसे नगर्चीलाई नेपालका एकीकरणकर्ता पृथ्वीनारायण शाहका कुशल सल्लाहकारका रूपमा यसरी चित्रण गरिएको छ– ‘सामान्य अवस्थामा रहेका बिसे नगर्चीले दिएको सल्लाह नै पृथ्वीनारायण शाहलाई युद्ध जित्ने अस्त्रझैँ बनेको थियो ।’ लेखकीय खण्डमा ऐतिहासिक पुरुष बिसे नगर्चीलाई दलित भएकै कारण गुमनाम इतिहास बनेको कुरा ‘गोरखा जिल्लाको सामान्य परिवारमा जन्मनुभएको थियो ऐतिहासिक पुरुष बिसे नगर्ची । इतिहासमा उहाँका् नाम दलित भएकै कारण वा पृथ्वीनारायण शाहको इतिहास नबिक्ने भएर नलेखिए पनि उहाँ नेपाल एकीकरणका लागि दरिलो खम्बा हुनुहुन्थ्यो ।’ भन्ने भावका वाक्यहरूले पुष्टि गर्न खोजिएको छ । राजा पृथ्वीनाराण शाहका कुशल सल्लाहकार बिसे नगर्चीले राज्य एकीकरणका सन्दर्भमा पु¥याएको योगदानलाई समेटेर दस्तावेज बनाउने प्रयत्न मोसफलका लेखक तथा खोजकर्ता तिम्सिनाको छ ।
पुस्तकमा उल्लेख भएअनुसार बिसे नगर्चीले पृथ्वीनारायण शाहलाई गोरखाबाट नुवाकोट र अन्य स्थानतर्फको सैन्य अभियानमा सहयोग पु¥याउनुभएको थियो । उहाँले पृथ्वीनारायण शाहलाई पहिले आफूले एक मोहोर रुपैयाँ दिएर गोरखा राज्यका प्रत्येक घरधुरीबाट एकएक मोहोर उठाउन दिएको सल्लाह नै नेपाल एकीकरणको मुख्य आधार बनेको थियो । नगर्चीले अन्य आवश्यक सामग्री, जानकारी र स्थानीय सहयोग जुटाउन पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । तर, यस्तो सामरिक सल्लाह दिने बिसेलाई अहिलेसम्म राज्यले सम्मान गरेको छैन भन्ने कुरा पुस्तकमा चर्चा गरिएको छ ।

पुस्तकको पहिलो अध्याय ‘हरेक कुरामा सक्षम बिसे’बाट सुरु भई अन्तिम अध्याय (४७) मा ‘भेरीको पुल र दलवीरको हिम्मत’ समावेश गरिएको छ । यी विभिन्न अध्यायमा बिसे जन्मेको गोरखाको तत्कालीन अवस्था, बिसेको इतिहास लेखनमा कन्जुस्याइँ भएको कुरा, बिसेको परिचय र सामरिक महत्त्वको सल्लाह, सालिकको उपेक्षा, सहकारीको सुरुवातकर्ताको रूपमा बिसे, बिसेसम्बन्धी विभिन्न इतिहासविद् एवम् बौद्धिकवर्गको टिप्पणी, कर तथा राजस्व प्रणालीको सुरुवातकर्ताको रूपमा बिसे, बिसेको तस्वीर एवम् सालिक पहिचान, नगर्चीका वंश तथा सन्तान पहिचान जस्ता विषय समेटिएको छ । यसै गरी बाङ्गे सार्कीलाई नेपालको पहिलो सहिदको रूपमा स्थापित गर्न खोजिएको छ । पुस्तकको पृष्ठ १२४ मा भनिएको छ– ‘बाँकावीरभन्दा बाङ्गे सार्की ४० वर्षअघि अङ्ग्रेजबाट मारिनुभएको थियो । पहिलो सहिद भनेर अहिले भनिरहेका लखन थापाभन्दा त झन् ६७ वर्षअगाडि बाङ्गे सार्की मारिएको इतिहास छ ।’

कुल १४५पृष्ठमा तयार पारिएको यो पुस्तक झट्ट हेर्दा सानो आकारमा देखिए पनि यसभित्र समेटिएका विषयवस्तुले गहनता बढाएको छ, गुमनाम इतिहासको पर्दाफास गर्ने प्रयत्न गरिएको छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका सेनालाई एकीकरण अभियानमा बाजा बजाएर उत्साह प्रदान गर्नेदेखि कटुवाल फलाकेर सूचना प्रवाह गर्ने, आर्थिक विकासको योजना बनाउने, नातासम्बन्ध जोडेर भए पनि राज्य एकीकरण अभियान अगाडि बढाइरहनुपर्छ भन्ने मान्यतामा राजालाई मणिमुकुन्द सेनकी छोरीसँग विवाह गर्न सल्लाह दिने र विभिन्न युद्धमा नेतृत्वदायी भूमिका निर्वाह गरी विशाल राष्ट्रनिर्माणमा अहम् सहयोगी भूमिका निर्वाह गर्ने ऐतिहासिक पात्रको रूपमा बिसे नगर्चीलाई चिनाइएको छ ।

बिर्से नगर्चीसम्बन्धी पुस्तक प्रकाशन भएलगत्तै लेखक दीपेन्द्रराज तिम्सिनालाई राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले पौष १७ गते काठमाडौँमा ‘राष्ट्रिय धरोहर बिसे नगर्ची स्मृति सम्मान’ २०८१ प्रदान गर्दै अभिनन्दन गरेको छ भने राष्ट्रिय दलित पत्रकार सङ्घ नेपाल, कोशी प्रदेशले पनि यही पौष २७ गते धनकुटामा सम्मान गरेको छ ।

सोमबार, २९ पुष, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर