कोशीको आर्थिक वृद्धि ३.५१ प्रतिशत हुने अनुमान

विराटनगर । कोशी प्रदेशको आर्थिक वृद्धि आर्थिक वर्ष २०८०–८१ मा ३.५१ प्रतिशत रहने अनुमान नेपाल राष्ट्र बैंकले गरेको छ ।गत आर्थिक वर्षको आर्थिक वृद्धि २.१३ प्रतिशत भएको संशोधित अनुमान गरेको राष्ट्रबैंकले २०८०–८१ मा केहि बृद्धि हुने अनुमान गरेको छ ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०–८१ मा नेपालको राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा कोशी प्रदेशको हिस्सा १५.८४ प्रतिशत हुने केन्द्रीय तथ्यांक कार्यालयको अनुमान रहेको छ । गत आर्थिक वर्षमा यस प्रदेशको हिस्सा १५.८८ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०–८१ मा कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको ३२.८० प्रतिशत, उद्योग क्षेत्रको १६.३२ प्रतिशत र सेवा क्षेत्रको ५०.८८ प्रतिशत योगदान रहने अनुमान रहेको छ । आर्थिक वर्ष २०७९–८० को तुलनामा आर्थिक वर्ष २०८०–८१ मा कोशी प्रदेशमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल १.५५ प्रतिशतले घटेको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा तरकारीको उत्पादन १.९८ प्रतिशत, चियाको उत्पादन ०.०१ प्रतिशत, कफीको उत्पादन १.२३ प्रतिशत तथा महको उत्पादन ०.२८ प्रतिशतले बढेको छ भने फलफूलको उत्पादन ०.९४ प्रतिशत र मसलाको उत्पादन ८.०३ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०८०–८१ मा यस प्रदेशको कुल खेतीयोग्य क्षेत्रफलको ३७.३ प्रतिशत क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सुविधा पुगेको क्षेत्रफल ३६.७४ प्रतिशत रहेको थियो ।
२०८० असार मसान्तको तुलनामा २०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट कोशी प्रदेशको कृषि क्षेत्रमा प्रवाहित कर्जा २.१० प्रतिशतले घटेर ५९ अर्ब ९० करोड ७४ लाख ४१ हजार पुगेको छ । २०८१ असार मसान्तसम्म कुल प्रवाहित कर्जामध्ये कृषि क्षेत्रमा प्रवाह भएको कर्जाको अंश १०.१२ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा धान, मकै, कोदो, आलु, भटमास, सुन्तला, बेसार लगायत बालीले ढाकेको क्षेत्रफल घटेकोले समग्र कृषि बालीले ढाकेको क्षेत्रफल घटेको हो । प्रदेशमा समग्र कृषि बालीको उत्पादन १.१३ प्रतिशतले वृद्धि भएको छ । खाद्य बाली अन्तर्गत धान ७.४५ प्रतिशत तथा कोदो ०.८६ प्रतिशतले बढेकाले समग्र कृषि बालीको उत्पादन वृद्धि भएको हो ।

प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०–८१ मा प्रदेशका नमुना छनोटमा समेटिएका उद्योगहरुको औसत क्षमता उपयोग ५२.७ प्रतिशत रहेको छ । अर्थिक वर्ष २०७९–८० मा उक्त उद्योगहरूको औसत क्षमता उपयोग ५१.१ प्रतिशत थियो । उत्पादित वस्तु अनुसार समीक्षा वर्षमा टायर तथा ट्यूव उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ९१.३ प्रतिशत रहेको छ भने वनस्पती घिउ उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा कम ४.४ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८०–८१ मा अध्ययनमा समेटिएका उद्योगहरुको उत्पादनमध्ये गार्मेण्टको उत्पादन सबैभन्दा बढी २०२.१ प्रतिशतले बढेको छ भने घरेलु धातुका सामानको उत्पादन सबैभन्दा बढी ४५.७ प्रतिशतले घटेको छ । अध्ययनमा समेटिएका कोशी प्रदेशका ४३ वटा उद्योगहरुमा गत आ.व. २०७९–८० मा १८ हजार ४६१ जना श्रमिक कार्यरत रहेकोमा समीक्षा आर्थिक वर्षमा ती उद्योगहरुमा जम्मा १६ हजार ९५८ जना श्रमिक कार्यरत रहेका छन् ।

२०८१ असार मसान्तमा यस प्रदेशमा वाणिज्य बैंकका ७५४, विकास बैंकका १९५, वित्त कम्पनीका ३६ तथा लघुवित्त वित्तीय संस्थाका ८५२ गरी जम्मा १,८३७ शाखा पुगेका छन् । २०८० असार मसान्तको तुलनामा २०८१ असार मसान्तमा कोशी प्रदेशमा अवस्थित बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप परिचालन १३.३८ प्रतिशतले वृद्धि भई ४ खर्ब ७७ अर्ब र प्रवाह गरेको कर्जा ३.८१ प्रतिशतले वृद्धि भई ५ खर्ब ७८ अर्ब पुगेको छ ।

२०८१ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले यस प्रदेशमा परिचालन गरेको कुल निक्षेपमा चल्ती निक्षेपको अंश ६.५३ प्रतिशत, बचत निक्षेपको अंश ४४.२७ प्रतिशत, मुद्दती निक्षेपको अंश ४३.१९ प्रतिशत र अन्य निक्षेपको अंश ६.०१ प्रतिशत रहेको छ । २०८० असार मसान्तमा कोशी प्रदेशमा रहेका बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात १३२.३० प्रतिशत रहेकोमा २०८१ असार मसान्तमा यस्तो अनुपात १२१.१४ प्रतिशत रहेको छ ।

प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०–८१ मा कोशी प्रदेशमा होटलहरुको औसत अकुपेन्सी दर ४१.८० प्रतिशत रहेको छ । जुन अघिल्लो वर्षको तुलनामा ३.९१ प्रतिशतले बढेको देखिएको छ । अघिल्लो आर्थिक वर्षमा होटलहरुको औसत अकुपेन्सी दर ३६.२९ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा यस प्रदेशका होटलहरूमा आन्तरिक पर्यटकको संख्या ४.७७ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या ५९.३२ प्रतिशतले बढेको थियो ।

२०८० असार मसान्तको तुलनामा २०८१ असार मसान्तमा सहकारी संस्थाको कुल पुँजी ५.८९ प्रतिशतले बढेको छ । २०७९ असार मसान्तमा सहकारी संस्थाको पुँजी ६.०५ प्रतिशतले वृद्धि भएको थियो ।आ.व. २०८०–८१ मा यस प्रदेशमा कुल ४० हजार ८५६ सवारी साधन दर्ता भएका छन् । जुन आ.व. २०७९–८० को तुलनामा ३३.७५ प्रतिशतले बढी हो । २०८१ असार मसान्तमा कोशी प्रदेशमा सरकारी–सामुदायिक विद्यालय, संस्थागत–निजी र प्राविधिक शिक्षालयको संख्या कुल ७ हजार ९७, सरकारी र निजी गरी कुल अस्पताल संख्या १६२ रहेको छ ।

कोशी प्रदेशमा सञ्चालित विद्युत आयोजनाहरुको कुल उत्पादन क्षमता ६५३.५५ मेगावाट रहेकोमा समीक्षा अबधिमा ६ वटा जलविद्युत र एक सोलार गरी ७ वटा आयोजना सम्पन्न भएको छ । जसको क्षमता १६८.५ मेगावाट छ । कोशी प्रदेशमा सञ्चालित जलविद्युत आयोजनामध्ये सोलुखुम्बु जिल्लामा सञ्चालित जलविद्युत आयोजनाहरुको सबैभन्दा बढी २४५.४ मे.वा. विद्युत उत्पादन क्षमता रहेको छ ।

इलाममा १६ वटा, संखुवासभामा ८ वटा, सोलुखुम्बुमा ७ वटा, पाँचथर र ताप्लेजुङमा ५–५ वटा, खोटाङ र भोजपुरमा ३–३ वटा तेह्रथुम र ओखलढुङ्गामा १–१ वटा जलविद्युत आयोजना सञ्चालनमा छन् । यस्तै, झापा र मोरङमा १–१ वटा सोलार विद्युत आयोजना सञ्चालनमा छन् ।

सोमबार, २९ पुष, २०८१, बिहानको ०९:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर