विराटनगर। कोशी प्रदेशमा वन रक्षक पदमा आवेदन खुलेको छ । प्रदेश निजामती सेवा अन्तर्गत प्राविधिक तर्फका प्रदेश वन सेवा, जनरल फरेष्ट्री समूह, सहायक स्तर तेस्रो तह, वन रक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन प्रकाशित गरिएको छ । प्रदेश निजामती सेवा तर्फका निम्न सेवा, समूह, उपसमूह तथा तहका पदहरूमा ( खुला तथा समावेशी) प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भएकोले देहाय बमोजिम योग्यता पुगेका उम्मेदवारहरूबाट दरखास्त आह्वान गरिएको हो ।
तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणाली psconline.p1.gov.np मार्फत आवेदन दिनुपर्नेछ । सेवाका शर्त र तलब तथा अन्य सुविधा प्रचलित कानुन बमोजिम हुने सूचनामा उल्लेख छ ।
लिखित परीक्षा, शारीरिक परीक्षण तथा तन्दुरुस्ती परीक्षाको परीक्षा केन्द्र आयोगले पछि सूचना प्रकाशन गरे बमोजिम हुनेछ । प्रत्येक विज्ञापनका लागि दरखास्त दस्तुर चार सय रुपैयाँ बुझाउनुपर्नेछ । समावेशी समूह तर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारको हकमा प्रत्येक थप समूहका लागि रु १००।( ९एक सय ० थप दस्तुर बुझाउनुपर्नेछ ।
दरखास्त दिने अन्तिम मिति माघ २० गते र दोब्बर दस्तुर तिरी माघ २७ गतेसम्म रहेको छ ।

