धरानका मेयरले सामाजिक द्वन्द्व बढाएको निश्कर्ष

विराटनगर । नेपाल पत्रकार महासंघले सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईका कारण सामाजिक दूरी र द्वन्द्व बढ्दै गएको निष्कर्ष निकालेको छ ।महासंघले आइतबार धरानका पत्रकार गोपाल दाहालबारे स्थलगत अध्ययन गर्न गठित समितिको प्रतिवेदन सार्वजनिक गर्दै यस्तो निष्कर्ष निकालेको हो ।

महासंघको केन्द्रीय समितिले गठन गरेको मिसन टोलीले सबै दलसँग छलफल गरी तयार पारेको स्थलगत प्रतिवेदनका आधारमा यस्तो निष्कर्ष निकालिएको महासंघले जनाएको छ । ‘धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईका गतिविधिले सामाजिक दूरी र द्वन्द्व बढ्दै गएको छ’, महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा महासंघले भनेको छ, ‘प्रमुख राईले आफ्नो आलोचना गर्ने, शहरको अवस्थाबारे समाचार लेख्नेलाई गाली र अपमान गर्ने, आफ्ना समर्थकबाट धम्की दिने, शारीरिक हमला गर्ने र समाचार लेख्न नपाउने गरेको देखिन्छ ।’

महासंघले नगर प्रमुखले कथा लेखेर, भिडियो बनाएर आफ्नो राम्रो कामका लागि युट्युबर प्रयोग गरेको भेटिएको पनि जनाएको छ । नगर प्रमुखबाट आफ्नो राम्रो कामको पक्षको कुरा लेखाउने, भिडियो बनाउने काममा युट्युवरहरूलाई प्रयोग गरेको पाइएको र व्यवसायिक पत्रकारहरूलाई निशाना बनाउने काम गरेको देखिएको महासंघले जनाएको छ । आफ्नो अनुकूल प्रश्न नगर्नेलाई प्रमुख राईले पत्रकार सम्मेलनमा पनि दलको झोले पत्रकार भनेर गाली र अपमान गर्ने गरेको विज्ञप्तिमा जनाइएको छ ।
मेयर राईले नगरका गतिविधिको सूचना नदिने, पत्रकारहरूसँग सम्पर्कमा आउन नचाहने, सामाजिक सञ्जालमार्फत पत्रकार र परिवारलाई पीडा हुने गरी चुनौती दिने जस्ता कार्यले गोपाल दाहालसहित पत्रकारका परिवारका सदस्यहरू पनि मानसिक तनावमा रहेको महासंघले जनाएको छ । महासंघले कतिपय पीडित पत्रकारका छोराछोरीहरू, पत्रकार बुबाआमालाई धम्म्याएका वा गाली गर्दै लेखेका सामाजिक सञ्जालको स्टाटस हेरेर डराएका भन्दै त्रासको वातावरण व्यक्तिमा मात्र सीमित नरही परिवारको तहसम्म पुगेको जनाएको छ ।

महासंघले धरानको घटनाको अध्ययन गर्न केन्द्रीय सदस्य कमल रिमाल र शंकर खरेल, महासंघ कोशी प्रदेश कमिटीका अध्यक्ष भरतबहादुर खड्का, सुनसरी शाखा अध्यक्ष सन्तोष काफ्ले र वरिष्ठ पत्रकार हर्ष सुब्बा रहेको मिसन गठन गरेको थियो ।

आइतबार, २८ पुष, २०८१, साँझको ०६:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर