विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाको छैंठौं साधारण सभाले बोनस सेयरको वितरणको प्रस्ताव पारित गरेको छ । आइतबार केन्द्रीय कार्यालय कटहरीमा भएको साधारण सभाले आर्थिक वर्ष २०८०-०८१ को मुनाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
आर्थिक वर्ष २०७९-०८० को वितरण योग्य मुनाफाबाट पनि जीवन विकासले १४ प्रतिशत नै बोनस सेयर वितरण गरेको थियो ।
आर्थिक वर्ष २०८०-०८१ को मुनाफाबाट पनि सेयर सदस्यहरूका लागि १४ प्रतिशत बोनस वितरण गरेको हो । साधारण सभाले लागि ०।७३६८ प्रतिशत नगद लाभांश पनि पारित गरेको छ । यो नगद लाभांश बोनस सेयरको कर प्रयोजनसमेतका लागि हो ।
जीवन विकासको चुक्ता पुँजी १ अर्ब ३४ करोड ७५ लाख १८ हजार ९०० रुपैयाँ थियो । छैंटौं साधारणसभाबाट १४ प्रतिशत अर्थात् १८ करोड ८६ लाख ५२ हजार ६४६ रुपैयाँ रुपैयाँ बोनस सेयर पारित भएपछि भएपछि जीवन विकासको चुक्ता पुँजी १ अर्ब ५३ करोड ६१ लाख ७१ हजार ५४६ रुपैयाँ पुगेको छ ।
३१ जिल्लामा जीवन विकास
जीवन विकास लघुवित्त वित्तीय संस्थाको कार्यक्षेत्र ३१ जिल्लामा पुगेको छ । यसअघि २४ जिल्लामा कार्यक्षेत्र थियो । कार्यक्षेत्र विस्तार गर्दै जीवन विकासले ३१ जिल्लामा सदस्यहरूको घरदैलोमा पुगेर वित्तीय सेवा प्रवाह गरिरहेको छ । लघुवित्तको शाखा संख्या १६० वटा छन् ।
१६० शाखा कार्यालय मार्फत आर्थिक वर्ष २०८०-०८१ मा ३ लाख ५२ हजार २५९ विपन्न परिवारलाई घरदैलोमा पुगेर वित्तीय सेवा प्रवाह गरेको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले जानकारी दिए जीवन विकासले अन्य बैङ्क सहर नै आफ्ना सदस्यहरूलाई डिजिटल सेवा प्रवाह गरिरहेको जानकारी दिए । ‘डिजिटल सेवा तर्फ जीवन विकासले सदस्यलाई कमर्सियल बैङ्क भन्दा कम सेवा दिएको छैन, सदस्यलाई सबै सुविधा दिएका छौँ, गाउँ गाउँमा ह्युमन एटिएमको व्यवस्था पनि गरेका छौँ,’ उनले भने,‘ जीवन विकासबाट डिजिटल क्षेत्रमा नमुना योग्य काम गरेका छौँ ।’
नेपालको दोस्रो ठुलो लघुवित्तको पहिचान बनाएको जीवन विकासको कुल सम्पत्ति २८ अर्ब २२ करोड ९७ लाख ४ हजार पुगेको छ । लघुवित्तले १० अर्ब ५३ करोड ३० लाख ४३ हजार रुपैयाँ निक्षेप सङ्कलन गरेको छ । २७ अर्ब २१ करोड ४४ लाख ५० हजार रुपैयाँ ऋण लगानी गरेको छ ।
साधारण सभा प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष विक्रमराज सुवेदीले लघुवित्तका लागि विभिन्न अवरोध सृजना भइरहेको बताए ।
असहज परिस्थितिमा पनि लघुवित्तले सदस्यलाई गुणस्तरीय सेवा प्रवाह गरिरहेको बताए । ‘आर्थिक मन्दीको प्रभावको कारण व्यापार, व्यवसाय तथा रोजगारीमा आएको संकुचनले समग्र लघुवित्त क्षेत्रलाई नकारात्मक असर गरेको छ,’ उनले भने,‘केही समूह तथा व्यक्तिहरूले लघुवित्त वित्तीय संस्थाहरू विरोधी गतिविधि सञ्चालन गरी लघुवित्त कार्यक्रममा अवरोध सृजना गर्ने, लघुवित्त संस्थाहरूलाई कार्यक्रम बन्द गर्न धम्की दिने, कर्मचारीहरूलाई गालीगलौज तथा हातपात गर्ने, सोझा सीधा सदस्यहरूलाई वित्तीय सेवा उपभोग गर्न बाधा पुर्याउने कार्य भइरहेको छ ।’
आर्थिक क्षेत्रको अवस्था क्रमिक रूपमा सुधार हुने बताउँदै उनले भने,‘विषम परिस्थितिमा पनि सबै कर्मचारीहरूको अथक परिश्रमबाट चुनौतीहरूलाई अवसरका रूपमा परिणत गर्दै विपन्न तथा असहाय परिवारलाई आयमूलक कार्यमा सामेल गराई सहयोग गर्ने कार्यहरू प्रभावकारी भएका छन् ।’
‘लघुवित्तमाथि प्रहार भइरहेको छ : मण्डल
जीवन विकासको साधारण सभा उद्घाटन गर्दै मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डलले लघुवित्तमाथि प्रहार भइरहेको बताएका छन् । व्यवस्थित रूपमा सञ्चालन भइरहेका लघुवित्तलाई धराशायी बनाउनका लागि योजनाबद्ध रूपमा प्रहार भइरहेको बताएका हुन् ।
विपन्न समुदायको जीवनस्तर उकास्नका लागि काम गरिहरेका लघुवित्तमाथि प्रहार गरेर देशको अर्थतन्त्रलाई झन् कमजोर बनाउने गिरोह सक्रिय रहेको उनको भनाई छ । लघुवित्त विरुद्धको अभियान कमजोर भइरहेकाले विचलित नभई सेवा प्रवाह गर्न लघुवित्तलाई आग्रह गरे ।
जीवन विकासको संस्थापकसमेत रहेका मण्डलले ग्रामीण अर्थतन्त्रको विकासका लागि लघुवित्त आवश्यक रहेकाले यसको संरक्षणमा सबै निकायले ध्यान दिनुपर्ने बताए । उनले लघुवित्तको सञ्चालक र व्यवस्थापन समितिलाई सहज र व्यवस्थित रूपमा सदस्यहरूलाई सेवा प्रवाहमा केन्द्रित हुन आग्रह गरे ।