विराटनगर । सुनसरी र मोरङका हार्डवेयर व्यवसायीहरुले सिमेन्ट खरिद नगर्ने निर्णय गरेका छन् । उद्योगले मागअनुसार सिमेन्ट बिक्री नगरी बजारमा सिण्डिकेट लाद्ने काम गरेको भन्दै व्यवसायीहरुले सिमेन्ट खरिद नगर्ने भएका हुन् ।
हार्डवेयर संघ विराटनगरले बिहीबार एक सूचना जारी गर्दै अर्को सूचना नआएसम्म उद्योगमा सिमेन्ट अर्डर नगर्न निर्देशन गरेको हो । संघका सचिव जीतेश कोइरालाको नामबाट जारी गरिएको सूचनामा भनिएको छ, ‘सिमेन्टको मूल्यवृद्धिविरुद्ध चौतर्फि विरोध तथा आन्दोलित भएका कारणले यस विराटनगर हार्डवेयर संघमा आवद्ध तथा यस क्षेत्रभित्रका सम्पूर्ण सिमेन्ट बिक्रेताहरु आजैका मितिदेखि अर्को सूचना नआउन्जेलसम्म उद्योगबाट कुनै पनि सिमेन्टको माग नगरिदिनु हुन अनुरोध छ ।’
उद्योगहरुले बजारमा कम सिमेन्ट आपूर्ति गरेर जबरजस्ती अभाव सिर्जना गरी कालोबजारी गरेको भन्दै बिक्रेताहरुले उद्योगबाट सिमेन्ट खरिद नगर्ने निर्णय गरेका हुन् । मोरङका व्यवसायीले सिमेन्ट खरिद नगर्ने निर्णय गरेलगतै सुनसरीको धरान, इटहरी र इनरुवा तीनवटै संघहरुले विराटनगरको निर्णयलाई समर्थन गर्ने निर्णय गरी सूचना जारी गरिसकेका छन् ।
उद्योगीहरुले पछिल्लो समयमा ५० प्रतिशतसम्म उत्पादन कटौती गरी बिक्रेताहरुलाई मागअनुसार सिमेन्ट उपलब्ध नगराउने गरेको हार्डवेयर व्यवसायीहरुले बताएका छन् । उत्पादन कम गरेर बजारमा कृत्रिम अभाव सिर्जना गरेपछि दुई महिनाको अवधिमा प्रतिबोरा २७५ रुपैयाँ मूल्यवृद्धि गरिसकेको र यसले आम उपभोक्ताहरु मर्कामा परेको विराटनगर हार्डवेयर संघका अध्यक्ष प्रमोद जिन्दलले बताए । उनले भने ‘डिजेल, कोइला र अरु कच्चा पदार्थको भाउ बढेको छैन, ती वस्तुको अभाव पनि छैन, विद्युतको पनि त्यतिधेरै समस्या छैन अनि स्वदेशी खानीबाट उत्पादित क्लिङकरबाट बनाउने सिमेन्टमा के कुराले यतिधेरै मूल्यान्तर हुन्छ ? यसको विरोधमा आम जनताले बोल्नुपर्छ, हामीले उद्योगसँग सिमेन्ट किन्दैनौं भनेर बोल्न थालेका छौं ।’
उद्योगहरुले सिण्डिकेट कायम गर्दा बिक्रेताहरु पनि मारमा परेको उनले बताए । उनले भने, ‘यसरी अचाक्ली मूल्य बढाउँदा सर्वसाधारण आम उपभोक्तालाई मार त परेकै छ हामी बिक्रेताहरु पनि मारमा प¥र्यौ, बिक्रेताहरुले कतिपय उपभोक्तासँग मूल्य किटान गरेर अग्रिम भुक्तानी लिइसकेका हुन्छौं, दुई चार रुपैयाँ तलमाथि हुँदा त्यसलाई अन्यथा लिइदैन तर दुई महिनामा बोराकै २७५ रुपैयाँसम्म बढाउँदा बिक्रेताहरु पनि मारमा परेका छन् । त्यसमा पनि डिमाण्ड अनुसार उद्योगले हामीलाई सिमेन्ट दिँदैन । त्यसैले सामान्य बिक्रेतादेखि सबै उपभोक्तालाई आर्थिक रुपमा धराशायी बनाउने गरी भएको सिण्डिकेटको विरोधमा हार्डवेयर व्यवसायी मुख्यगरी सिमेन्ट बिक्रेताहरु लागेका हौं ।’
हार्डवेयर संघ विराटनगरका उपाध्यक्ष भानु पौडेलले सरदर ५ सय रुपैयाँमा पाइने सिमेन्ट अहिले ८५० रुपैयाँमा बिक्री भइरहेको बताए । ‘बीस पचास रुपैयाँको कुरा होइन, यति छोटो अवधिमा यतिधेरै मूल्य बढ्ने त्यस्तो के कारण आइपरेको छ र यस्तो गरियो ? त्यसैले सिण्डिकेटका कारण आम उपभोक्तामाथि शोषण भइरहेकोले हामीले सिमेन्ट डिमाण्ड नगर्ने निर्णय लिनुपरेको हो,’ पौडेलले भने । धरान, इटहरी र इनरुवाका संघहरुले बजार पसल नै बन्द गरेर आन्दोलन गर्न दबाब दिइरहेको भए पनि भएको मौज्दात बिक्री गर्ने तर उद्योगबाट खरिद नगर्ने गरी आन्दोलन गर्न सहमति भएको उनले बताए । उनले भने ‘अहिले नै कडा आन्दोलनमा गएका छैनौं तर अब यो समस्या समाधान गरिएन भने हामी कडा आन्दोलन गर्न तयार भएरै विरोध सुरु गरेका हौं ।’
उद्योगको सिण्डिकेटका कारण बजारमा मूल्य बढेको भएपनि उपभोक्ताले हार्डवेयरले कालोबजारी गरेको आरोप लगाउने गरेको भन्दै पौडेलले भने ‘अब बिक्रेता र उपभोक्ता मिलेरै विरोधमा उत्रिनु पर्ने अवस्था आइसकेको छ ।’
विराटनगर हार्डवेयर संघमा २५० हार्डवेयर व्यवसायीहरु संगठित छन् ।