उपभोक्ताको नाममा मिलमा काठ बेचेको आरोप

विराटनगर । मोरङको बेलबारी–१० स्थित सिर्जना सामुदायिक वन उपभोक्ता समितिका केही पदाधिकारीहरुको मिलेमतोमा कानुनविपरीत मिलमा काठ बिक्री गर्ने गरेको पाइएको छ । उपभोक्तालाई वितरण गर्न भनि निर्णय गरी चिरानका लागि मिलमा पु¥याएर बिक्री गर्ने गरेको पाइएको हो ।

काठ मिलमा बिक्री गरेको एक ट्याक्टर काठ स्थानीयले सोमबार दिउँसो बरामद गरेपछि यस्तो रहस्य बाहिर आएको हो ।
एक महिना अगाडि सामुदायिक वनले चार जना उपभोक्तालाई वितरण गरेको देखाएर १६९ क्युविक फिट सिसौ र कर्मा जातको काठ बेलबारी ७ बाहुनीस्थत गणेश काष्ठ उद्योगलाई बिक्री गरेका थिए । मिलका संचालकले काठ लैजाँदै गर्दा सामुदायिक वनका अध्यक्षदेखि पदाधिकारीहरुसम्मको मिलेमतो रहेको स्थानीयको आशंका छ ।

सामुदायिक वनले बेलबारी १० की सोभा भुर्तेलसहित चार जना उपभोक्तालाई १६९ क्यूफिट पुरानो काठ बिक्री गरेको विवरण देखाएका छन् । तर, उपभोक्ता भुर्तेलले भने आफूले काठ खरिद नगरेको बताइन् । ‘वन समितिको मिलेमत्तोमा काठ उद्योगलाई बिक्री गरेर उद्योगमा लैजाँदै गर्दा हामीले हामीले बरामद गरेका हौं,’ बेलबारी १० का स्थानीय धुव्र महतले भने, ‘वनले बिक्री गरेको भनेको कुनै पनि उपभोक्ताले हामीले काठ किनेका छैनौं भनिरहेका छन् अनि यो काठ उपभोक्ताको नाममा खरिद गरेको देखाएर वनका समितिले मिललाई बेचेको हुनुपर्छ भनेर हामीले समातेर अनुसन्धानका लागि सवडिभिजन वन कार्यालय बेलबारीमा पठाएको छौं ।’ थप अनुसन्धानपछि घटना बारेमा सार्वजानिक हुनुपर्ने उनले बताए ।

सव डिभिजन वन कार्यालय बेलबारीका सहायक वन अधिकृत दिपेशकुमार मिश्रले काठ मिलमा बिक्रीको लागि लगिएको काठ बरामद गरेपछि स्थानीयले वन कार्यालयमा बुझाएको बताए । ‘काठ हेर्दा पुरानो रहेको छ । वन समितिले पनि उपभोक्तालाई काठ बिक्री गरेको भनेका छन् । यस विषयमा हामीले अनुसन्धान सुरु गरेका छौं,’ उनले भने, ‘अनुसन्धान पूरा गरेपछि मात्रै यर्थाथ के हो भन्ने बुभ्mन सकिन्छ । अहिले नै केही भन्न सक्ने अवस्था छैन ।’

यता सिर्जना सामुदायिक वनका अध्यक्ष देउमान लिम्बूले समितिको नियम अनुसार उपभोक्तालाई एक महिना अगाडि काठ बिक्री गरेको बताए । ‘चार जना उपभोक्ताले निवेदन हालेपछि हामीले नियमअनुसार काठ बिक्री गरेको हो । बिक्री गरेको काठ पुरानो हो । पुरानो लगतमा भएको काठ नियम अनुसार बिक्री गरिएको हो,’ उनले भने, ‘उपभोक्तालाई दिएको काठ कसरी काठ मिलसम्म पु¥याए त्यो हामीलाई थाहा भएन ।’

सामुदायिक वनले दुई वटा मिललाई चिरानको लागि अनुमति दिएको थियो । तर, वनले अनुमति दिएको ठाउँमा नलगेर अन्यत्र मिलमा लैजाने क्रममा काठ बरामद गरेको हो । बेलबारीको सगरमाथा काष्ठ मिल र जेभी काष्ठ उद्योगमा रमना पूर्जी दिएको थियो । तर वनले दिएको रमना भन्दा बाहिर बेलबारी ७ बाहुनीमा रहेको गणेश काष्ठ मिलमा बिक्री गरेको भेटिएको हो ।

मङ्गलबार, १६ पुष, २०८१, बिहानको ०६:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर