भ्रष्टाचारलाई जरैबाट उखेल्न माओवादी पहिलो पार्टी बन्नुपर्छ : प्रचण्ड

दमक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनबाट आफ्नो पार्टीलाई पहिलो पार्टी बनाइ भ्रष्टाचारलाई जरैबाट उखेलेर फाल्ने बताएका छन् ।

झापाको गौरीगञ्ज गाउँपालिकामा सोमबार आयोजित खबरदारी सभा तथा वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो उद्घोष गरेका हुन् ।

आफ्नो पार्टीले भ्रष्टाचारविरोधी अभियानलाई राष्ट्रिय अभियानको रूपमा अघि बढाएको उल्लेख गर्दै प्रचण्डले यसमा जनताको तागत पनि जोडियो भने भ्रष्टाचारमुक्त नेपाल निर्माण गर्न सम्भव रहेको दावी गरे । ‘अब मसँग भ्रष्टाचारमुक्त मुलुक निर्माण गर्ने, उपेक्षित, उत्पीडित जनतालाई अधिकारसम्पन्न बनाउने र आर्थिक समृद्धिमार्फत जनताको जीवनस्तर बदल्नेबाहेक अरु कुनै विकल्प छैन’— उनले भने, ‘तपाइँहरुको तागत मसँग जोडियो भने देशबाट दलाल, बिचौलिया र भ्रष्टहरुलाई लखेटेर भ्रष्टाचारमुक्त मुलुक बनाउन सम्भव छ र बनाइने छ।’

देशैभरि माओवादी केन्द्रप्रति नयाँ आशा र भरोसा बढ्दै गएको उल्लेख गर्दै प्रचण्डले केही समयअघिको निर्वाचनबाट कोशी प्रदेशमा माओवादी केन्द्र पहिलो बनेको र देशभर पनि उल्लेख्य प्रगति भएको बताए । यो २०८४ को निर्वाचनको संकेत भएको उल्लेख गर्दै उनले माओवादी एक्लै चुनाव लड्न सक्दैन भन्ने गलत भाष्य अब खारेज भएको उल्लेख गरे । ‘हिजो कांग्रेस वा एमालेसँग मिलेर उनीहरुलाई पहिलो पार्टी बनाउनतिर समय खेर फालियो’—उहाँले भन्नुभयो—‘अब एक्लै लडेर हामी एक नम्बरको पार्टी बन्छौं।’

अध्यक्ष प्रचण्डले अहिले नेपाली जनताले प्रयोग गर्न पाएको राजनीतिक अधिकार माओवादीकै कारण सम्भव भएको उल्लेख गर्दै बाँकी राजनीतिक अधिकारलाई पूर्णता दिने, सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकताका साथ अघि बढाउने बताए । आफ्नो पार्टीले सुशासनको अभियान सुरु गरिसकेको उल्लेख गर्दै उनले देशभरि चलिरहेको खबरदारी सभा यसकै सुरुवात भएको बताए ।

‘मैले प्रतिनिधिसभामा विश्वासको मत लिंदै गर्दा भनेको थिएँ— भ्रष्ट र बिचौलियाहरुले झालझेल र शक्तिको बल प्रयोग गरेका छन्, हामी जनताको बल प्रयोग गर्ने छौं’—प्रचण्डले भने, ‘अब हामी निरन्तर जनताको बलबाट नै भ्रष्टाचारविरोधी अभियान सफल बनाएरै छाड्ने छौं।’ आफूले तीनपटक प्रधानमन्त्री हुँदा गरेका कामको विवरण सुनाउँदै उनले आफू पूरै जनताको हितमा केन्द्रित भएको दावी गरे ।

आफूले पहिलो जस्तै छोटो अवधिमा बिताएको दोस्रो कार्यकालमा मुलुकबाट लोडसेडिङको अन्त्य गरेको स्मरण गराउँदै प्रचण्डले तेस्रो कार्यकालमा सुशासन, सामाजिक न्याय र समृद्धिको ऐतिहासिक अभियान सुरु गर्ने अवसर पाएको बताए । ‘त्यसबाट जनतामा नयाँ आशाको दियो जलेको थियो, धेरै उच्च पदस्थ भनिने नेता र कर्मचारी र भूमाफियाहरु भ्रष्टाचारको अभियानमा समातिदै गए’— उनले भने, ‘भ्रष्टाचारविरुद्धको अभियान चलाएकै कारण सरकार छाड्नुपरेको नेपाली जनताले छोटो अवधिमा प्रष्ट रूपमा बुझ्नु भएको छ भन्ने देशव्यापी लहरबाट पनि पुष्टि हुन्छ।’

अहिले सरकारले दलाल र बिचौलियाको काम गरिरहेको पुष्टि हुँदै गएको बताउँदै प्रचण्डले २०६४ को निर्वाचनमा झापा आएर सम्बोधन गर्दा झापाबाट क्रान्तिको झण्डा फराएको अनुभूति गरेको स्मरण गर्दै अहिले नयाँ कडी जोडिएको बताए । अब झापा सुशासनका लागि हुने क्रान्तिको केन्द्र हुने उनको दावी छ ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी करिब ६ सय जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए । नवप्रवेशीहरूलाई अध्यक्ष प्रचण्डले स्वागत गरे । पार्टी प्रवेश गर्नेहरूमा अधिकांश राजवंशी समुदायका रहेका छन् ।

सोमबार, १५ पुष, २०८१, दिउँसोको ०४:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर