विराटनगर । मोरङ जहदाकी २२ वर्षीय युवतीलाई बलात्कार गरेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
मोरङ प्रहरीबाट खटिएको टोलीले उनीहरुलाई मंगलबार नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको हो । प्रहरीले पक्राउ परेका व्यक्तिको नाम भने सार्वजनिक गरेको छैन ।
मोरङ प्रहरी प्रमुख एसपी नारायण चिमरियाले सोधपुछका लागि केही व्यक्तिलाई नियन्त्रणमा लिएको बताए । ‘हामीले यो घटनालाई सूक्ष्म तरिकाले अनुसन्धान गरिरहेका छौं । यस घटनामा केही व्यक्तिलाई सोधपुछका लागि ल्याएका हौं त्यसैले अहिले उनीहरुको बारेमा केही भन्न मिल्दैन, संलग्न सबैको खोजी गरिरहेका छौं,’ उनले भने, ‘अनुसन्धानपछि थप विषय खुल्नेछ ।’
ती महिला गम्भीर अवस्थामा मंगलबार बिहान जहदा गाउँपालिका ३ बाँसघारीबाट उद्धार गरेर कोशी अस्पतालमा उपचार भइरहेको छ ।
हातखुट्टा बाँधेको र मुखमा सल कोचेको अवस्थामा अर्धचेत फेला परेकी उनलाई आफन्त र प्रहरीको सहयोगमा उपचार
गरिएको थियो ।मंगलबार बिहान मर्निङवाक जान्छु भनेर घरबाट हिंडेकी उनी केही घण्टापछि बाँसघारीमा हातखुट्टा बाँधिएको र अर्धचेत अवस्थामा भेटिएकी मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार उनको मुखका उनले ओढेको सल कोचिएको थियो ।
‘पराल लिन गएकी एक जना महिलाले देखेपछि हामीसँग घटनाको जानकारी आयो, हामी पुगेर बाँधेको डोरी खोलेर उपचारका लागि अस्पताल पठायौं,’ डिएसपी जोशीले भने, ‘महिलाको स्वास्थ्य अवस्थामा सुधार हुँदैछ, घटनाको विषयमा अनुसन्धान पनि भइरहेको छ ।’डिएसपी जोशीका अनुसार ती महिलाले लगाएको कपडा च्यातिएका छन्, शरिरका केही भागमा निलडाम पनि छन् ।
उनीमाथि हातखुट्टा बाँधेर जबरजस्ती करणी भएको आशंका आफन्त र प्रहरीको छ । तर मेडिकल परीक्षणपछि मात्रै सो विषयमा स्पष्ट खुल्ने भन्दै प्रहरीले अहिले थप के भएको हो भन्न सक्ने अवस्था नरहेको प्रहरीको भनाइ छ ।कसैले नदेख्ने ठाउँमा लगेर हातखुट्टा बाँधेर मुखमा पट्टी लगाएपछि जर्बरजस्ती बलात्कार गरिएको हुनसक्ने उनकी दिदीको आशंका छ । ‘हामीले हातखुट्टा बाँधेको, मुखमा कपडा कोचेको र होस नभएको अवस्थामा उनलाई भेट्यौं र तुरुन्तै अस्पताल ल्यायौं, घटना र बहिनीको अवस्था हेर्दा केही गलत भएको आशंका छ,’ उनले भनिन् । उनका अनुसार मंगलबार अपरान्ह पीडित महिलाको होस आएको छ र अवस्थामा सुधार आइरहेको छ ।