गुण्डागर्दी गर्नेलाई प्रहरीले नछाड्ने

विराटनगर । गुण्डागर्दी नियन्त्रण गर्न प्रहरीले गम्भीरतापूर्वक काम गर्ने कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी राजन अधिकारीले बताएका छन् । जुनकुनै प्रकारको गुण्डागर्दीमा संलग्न भएकाहरुलाई कानुनी कारवाही दायारमा ल्याउने र कसैलाई उन्मुक्ति नदिने उनले बताए ।

कोशी प्रदेशमा प्रहरी प्रमुखको जिम्मेवारी लिएर आएको एक साताभित्रै पत्रकार भेटघाट गरी उनले प्रहरीका प्राथमिकता र आगामी दिनमा गर्ने कामहरुको बारेमा छलफल गरेका हुन् । त्यस क्रममा उनले भने, ‘गुण्डागर्दीमा संलग्न कसैले पनि कुनै किसिमको उन्नमुक्ति पाउने छैनन् । कडाइको साथ गुण्डागर्दी नियन्त्रणमा प्रहरी लाग्नेछ । समाजका सबै पक्षहरुसँग समन्वय र सहकायै गरेर गुण्डागर्दीलाई निर्मूल पार्ने हाम्रो केन्द्रीय निर्देशन र कार्ययोजना पनि छ त्यसै अनुसार अगाडि बढ्छौं ।’
कोशी प्रदेश राजधानी विराटनगरमा केही समययता गुण्डागर्दीको घटनामा वृद्धि भएको भन्दै सबैतिरबाट चासो भइरहेको बेलामा प्रहरीले गुण्डागर्दीलाई नियन्त्रण र निरुत्साहित गर्ने प्रतिबद्धता जनाएको हो ।

उनले सीमा क्षेत्रमा हुने चोरीतस्करी रोकथाम र नियन्त्रण गरेर अगाडि बढ्ने बताए । भन्सार चोरी तस्करी नियन्त्रणको काम अपेक्षा अनुसार गर्न नसकेको भए पनि विगतको तुलनामा नेपाल प्रहरीको तर्फबाट भएका कामहरुमा सकारात्मक नतिजा नै आफूले पाएको उनले बताए । भन्सार चोरी तस्करी नियन्त्तण र व्यवस्थापनका लागि कानुनी र व्यवस्थापकीय जिम्मेवारीहरु अनुसार नै हुने भएकोले नेपाल प्रहरीले विगतमा भन्दा अझ प्रभावकारी काम गर्दै अघि बढ्ने उनले बताए ।

उनले प्रदेश प्रहरीलाई प्रभावकारी रुपमा सञ्चालन गर्न तथा सीमित स्रोतसाधनकाबीच दुःख गरेर कार्यक्षेत्रमा खटिएका प्रहरीको मनोबल खस्किन नदिन प्रदेश प्रहरीसँग प्रमुख कार्यक्रम गरी टिमवर्कको भावनालाई अझ बलियो र विश्वासिलो बनाउने आफ्नो कार्ययोजना सुनाएका छन् । त्यससँगै उनले ‘टि विथ टिम’, ‘टि विथ गेष्ट’ आदि कार्यक्रम मार्फत आन्तरिक र वाह्य सहकार्य तथा साझेदारी बढाइ शान्ति सुरक्षालाई मजबुत बनाउने बताए ।

उनले ट्राफिक दुर्घटना न्युनीकरण गर्न विशेष कार्ययोजना बनाएर प्रभाकारी ढंगले काम गर्ने पनि बताएका छन् । उनले आफूले प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी लिएर आउँदै गर्दा कार्यालयको तर्फबाट गरिएको ४० बुँदे कार्ययोजनाका आधारमा कामलाई अगाडि बढाउने बताए । ‘कोशी प्रदेशको ९ जिल्लाहरुमा ४६ बुँदा राखेर कार्यसम्पादनको सम्झौता भएको छ । बाँकी पाँच जिल्लाहरुमा ४७ वटा बुँदा राखेर कार्यसम्पदना सम्झौता गरिएको छ । यही कार्यसम्पादनलाई प्राथामिकतामा राखेर काम गर्नेछु,’ उनले भने, ‘कोशी प्रदेश मातहतका ८१५ इकाइहरुको प्राथामिकता रहेको छ । ’

कार्यक्रममा अधिकारीले विद्यमान ऐन कानूनको परिधिमा रही कानुनद्वारा निर्दिष्ट कार्यहरुको सफल कार्यान्वयन तथा संगठन प्रमुख प्रहरी महानिरीक्षक समक्ष भएको सम्झौता अनुरुप कोशी प्रदेशमा शान्ति सुरक्षाको अवस्था सुदृढ बनाउन लागि पर्ने बताए ।
उनले अपराध नियन्त्रण, घटित अपराधको सफल अनुसन्धान गरी पीडकलाई कानुनी दायरामा ल्याउन तथा पीडितलाई न्यायको अनुभूति दिलाउन लागि पर्ने बताए । लागुऔषधको प्रयोग तथा ओसारपसार नियन्त्रणको लागि समन्वय र सहकार्य गर्दै अगाडि बढ्ने उनको भनाइ छ ।

अपराध नियन्त्रण गरी समाजमा शान्तिसुरक्षा कायम राख्न संचार माध्यमको उतिकै महत्वपूर्ण भूमिका रहने हुँदा सबैबाट निरन्तर साथ र सहयोगको अपेक्षा उनले गरेका थिए ।

डिआइजी अधिकारीले गृह मन्त्रालयको मंसिर २७ गतेको निर्णय अनुसार विशेष ब्युरोबाट कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा सरुवा भई पुस ३ गतेदेखि कार्यभार सम्हालेका हुन् ।

सोमबार, ०८ पुष, २०८१, रातीको ०८:४३ बजे

प्रतिक्रिया

  1. तेहि गुण्डाको काधँमा हात राखेर फोटो आउँछ होला भोलि बाट !!देश नै गुण्डाले चलाको छ याहाँ !! बात कर्ता हे!!

प्रतिक्रिया:

सम्बन्धित खवर