विराटनगर । भारतका प्रसिद्ध ब्राण्ड ‘फेना’ र पतञ्जली कपडा धुने सर्फसँग मिल्दोजुल्दो प्याकेजिङ गरी बजारमा वस्तुबिक्री वितरण हुने गरेको पाइएको छ । विराटनगर ५ मा रहेको युनिक लिक्विड सोप एण्ड डिटर्जेन्ट उद्योगले भारतीय ब्राण्ड फेना र पतञ्जली सर्फसँग मिल्दोजुल्दो प्याकेजिङ गरी बजारमा पठाएको पाइएको हो ।
फेना र पतञ्जलीका प्रतिनिधिले ब्रान्ड चोरी गरी नक्कली सर्फ बनाएर बिक्री वितरण गरेको उजुरी दिएपछि बुधबार अनुसन्धानका लागि युनिक लिक्विड सोप एण्ड डिटर्जेन्ट उद्योगमा शिलबन्दी गरिएको छ ।युनिक सोपले भारतमा उत्पादन गरिने फेना ब्रान्डको डिटर्जेन्ट पाउडरलाई युनिक, फेना र पतञ्जली ब्रान्डसँग हुबहु गरी उपभोक्ताहरुलाई ढाँट्ने र ठगी गर्ने गरेको भन्दै उजुरी परेपछि बिहीबार उद्योगमा अनुगमन गरिएको थियो । उद्योग अनुगमनका क्रममा आरोप अनुसार उत्पादन भएको पाइएपछि तत्कालका लागि उद्योग बन्द गरी थप अनुसन्धान अघि बढाइएको हो । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले उद्योग अनुगमन भएको र केही समस्या देखिएपछि तत्काल उद्योग बन्दगरी थप अनुसन्धान प्रक्रियामा जानुपर्ने अवस्था देखिएको बताए । यद्यपि उनले अनुगमनको रिपोर्ट नआइसकेका कारण विस्तृत जानकारी दिन सक्ने अवस्था नरहेको बताए ।
उक्त उद्योगले नेपाल सरकारले ब्रान्ड स्वीकृत गरेका भारतीय उत्पादन फेना र पतञ्जलीजस्तै देखिने प्याकेजिङमा उत्पादन गरेको उजुरी परेको हुँदा कार्यालयको टोली उद्योगमा पठाएको उनले बताए । ‘प्रशासनबाट अनुगमन टोली उद्योगमा पुग्दा बन्द थियो । अनुसन्धानको लागि तत्कालको लागि उद्योगमा शिलबन्दी गरिएको छ,’ उनले भने, ‘शुक्रबार वाणिज्य कार्यालय, विराटनगर महानगरपालिका र प्रहरीको रोहबरमा खोलेर निरीक्षण गरिनेछ । त्यसपछि वास्तविकता थाहा हुनेछ ।’
उपभोक्ताले खरिद गरेको युनिक, फेना र पतंजली वास्तविक फेना र पतञ्जली जस्तै प्याकेजिङ्गमा छन् । ब्राण्ड चोरी गरेर बजारमा ल्याइएको उस्तै प्याकेजिङ्गभित्रको सर्फको गुणस्तरको परीक्षण हुन भने बाँकी छ ।
भारतबाट फेना सर्फ विराटनगरस्थित श्रीकृष्ण ट्रेडर्सले बिक्रीवितरण गर्दै आएको छ । उक्त टे«डसका संचालक अरुण जैनका अनुसार फेनाको एक केजीको मूल्य १२५ रुपैँया छ । युनिक फेनाले उस्तै प्याकेजिङ्गमा १०० रुपैयाँ मूल्य राखेर बजारमा बिक्री वितरण गर्दै आएको पाइएको थियो ।
यस्तै पतञ्जलीको वितरक भगवती ट्रेडर्सका नितेश अग्रवालका अनुसार एक केजीको सर्फको उस्तै प्याकेजिङ्गमा ९०० ग्राम मात्रै छ । यसमा ब्राण्ड चोरी, भन्सार तथा राजस्व छली, कर छली, गुणस्तरमा समेत कमजोरी छ । तर, यसको विषयमा राज्यका निकायलाई जानकारी गराउँदा समेत कारवाही नभएको व्यवसायीहरुको गुनासो छ ।
नक्कली सर्फमा ब्लिच सोडा मिसिएको उनीहरुको अनुमान छ । किनकी डिटरजेन्ट आयात गर्ने पार्टीले बजारमा बिक्री गर्दा समेत पान बिलमा ४० हजार रुपैँयासम्मको कारोबार गरेको देखिन्छ । कुन्तादेवी केमीकल ट्रेडर्सको नाममा काटिएको बिल ३८ हजारसम्मको रहेको पाइएको छ । सर्फ मात्रै नभई धोनी साबुनको समेत ब्राण्ड चोरी भएको उनीहरुको आरोप छ ।