विराटनगर । विराटनगरका किङ्सका प्रशिक्षक केभिन ओ ब्रायनले ३ खेलमा जित नजिक पुगे पनि खेल हार्दा अफमा पुग्न असफल भएको बताएका छन्।
काठमाडौँ गुर्खाजसँग पराजित हुँदै एनपिएलको पहिलो सिजनको यात्रा टुङ्ग्याएपछि प्रशिक्षक केभिनले कन्डिसन राम्ररी बुझेर खेल्न नसक्दा असफल भएको बताए। बलिङ, ब्याटिङ र फिल्डिङमा पनि सतशप्रतिशत इफोर्ट लगाउन नसकेको उनको भनाइ छ। शुरुका ३÷४ खेलमा ब्याटिङमा पनि आफ्नो टोलीले संघर्ष गर्नुपरेको उल्लेख गरेका छन्। विकेट बुझ्न विदेशी खेलाडीलाई गाह्रो परेको उनले बताए।
केही खेलाडी विरामी हुँदा पनि समस्या परेको उनको भनाइ छ। उनले प्रतियोगिता छोटो रहेकाले फर्ममा नरहेका खेलाडीको लयमा फर्किन पनि समय लागेको बताएका छन्।
सन् २०१८ मा एभरेस्ट प्रिमियर लिग खेल्न आउँदाको समयभन्दा अहिले धेरै राम्रो घरेलु खेलाडीहरू रहेको उनी बताउँछन्। उनीहरूको प्रदर्शनमा पनि धेरै विकास आएको उनको विश्वास छ।