प्रतिजैविक औषधि खुलेआम बिक्री,लाइफगार्ड अस्पतालको फार्मेसी निलम्बन

फार्मेसीको लाइसेन्स खारेजीसम्म हुनसक्ने : डिडिए

विराटनगर । विराटनगर–५ बरगाछीमा रहेको लाइफगार्ड हस्पिटलभित्रको फार्मेसी निलम्बन भएको छ । बिक्री वितरणमा रोक लगाएको औषधि खुलेआम बिक्री गरेको पाइएपछि औषधि व्यवस्था विभाग विराटनगरले लाइफगार्ड हस्पिटल भित्रको फार्मेसीलाई निलम्बन गरेको हो ।

लाइफगार्ड फार्मेसीले ‘बेस्टोसेफ सिभि’ २०० एमजीको एन्टिबयोटिक रेसिस्टेन्स (प्रतिजैविक) भएको औषधि बिक्री वितरण गरेको पाएपछि निलम्बनमा राखेर अनुसन्धान सुरू गरेको औषधि व्यवस्था विभाग विराटनगरका प्रमुख निकेश श्रेष्ठले जानकारी दिए । ‘लाइफगार्ड हस्पिटल भित्रको फार्मेसीबाट प्रतिजैविक भएको औषधीहरु बिक्री वितरणमा रोक लगाएको थियो । तर, लाइफगार्डको फार्मेसीले खुलेआम बिक्री वितरण गरेको अनुगमनको क्रममा भेटिएपछि अहिले शिलबन्दी गरेर तत्काललाई निलम्बन गरिएको हो,’ कार्यालय प्रमुख श्रेष्ठले भने ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सन् २०२१ मा १०३ प्रकारका सिफारिस नगरिएका प्रतिजैविक औषधिहरु र समिश्रणहरुको सूचि प्रकाशन गरेको छ । प्रतिजैविक प्रतिरोधलाई न्युनीकरण गर्ने, तथ्यमा आधरित उपचार प्रणाली र समुचित प्रयोगलाई बढावा दिने उद्देश्यले औषधि सल्लाहकार समितिको ५५ औं बैठकबाट विभागलाई सिफारिस भएर २०८० भदौ १८ गते ‘बेस्टोसेफ सिभि’ २०० एमजीको एन्टिबयोटिकसहित १०३ प्रकारका औषधिहरु बिक्री वितरणमा रोक लगाएको छ । ६ महिनाको अवधिमा बजारमा उपलब्ध रहका त्यस्ता प्रतिजैवक औषधिहरुको मौज्जाद भए फिर्ता लिई सोको आधिकारी विवरण विभागमा पेश गर्ने र सम्बन्धित प्रमाणपहरु फिर्ता गरी नियमानुसार रद्ध गर्ने भनिएको छ ।

तर, बिक्री वितरणमा रोक लगाएको एक वर्ष भइसक्दा पनि विरामीको उपचारमा कामै नगर्ने ‘बेस्टोसेफ सिभि’ २०० एमजीको एन्टिबायोटिक लाइफगार्ड हस्पिटलको फार्मेसीमा बिक्री वितरणको लागि राखिएको पाइएको थियो । २३ कार्तिकमा जिल्ला प्रहरी कार्यालय मोरङ र डिडिए विराटनगरले छापा हानेर बेस्टोसेफ सिभि २०० एमजीको २ हजार ८० ट्याब्लेट बरामद गरेको थियो । बिक्रीमा रोक लगाएको बेस्टोसेफ सिभिसहित बिरामीलाई आर्थिक रूपमा भार पर्ने ‘न्युट्रास्युटीकल’ (खाद्यपूरक) सामग्री पनि ठूलो परिमाणमा बरामद गरेको थियो । लाइफगार्डबाट प्रहरीले १० लाख ७५ हजार रूपैयाँ मूल्य बराबरको खाद्य पुरक सामग्री बरामद गरेको थियो ।

यसरी बिक्री वितरणमा रोक लगाएको औषधि खुलेआम बिक्रीको लागि राखेको भेटिदा पनि नियमक निकाय औषधि व्यवस्था विभाग विराटनगरले लाइफगार्ड हस्पिटलका संचालक रञ्जित अग्रवालले हेर्ने गरेको सो फार्मेसीलाई उन्मुक्ति दिने प्रयास गरेको भनेर समचार प्रकाशित गरेको थियो । त्यसपछि दबाबमा परेको डिडिए विराटनगरले फार्मेसीलाई निलम्बन गरेर अहिले अनुसन्धान सुरु गरेको हो । बिक्रीमा रोक लगाएको औषधि ठूलो परिमाणमा भेटिएपछि विभागले लाइफगार्ड हस्पिटलको फार्मेसीको लाइसेन्ससम्म खारेजीको प्रक्रिया अगाडि बढाएको छ । ‘अहिले निलम्बन गरेर मात्रै अनुसन्धान भइरहेको छ,’ एक अधिकृतले भने, ‘फार्मेसीको कसुर हेरेर निलम्बनसम्मको प्रक्रिया अगाडि बढाउने तयारी गरिएको छ ।’

लाइफगार्ड हस्पिटलभित्रको फार्मेशीलाई निलम्बन गरेपछि अहिले अस्पतालको दोस्रो तलाबाट औषधि बिक्री हुने गरेको स्रोतको दाबी छ । ‘डिडिएले लाइसेन्स खारेजी गरेर सिलबन्दी गरेपछि अहिले अस्पतालको दोस्रो तलाबाट गैरकानुनीरुपमा औषधि बिक्री वितरण हुने गरेको छ,’ स्रोतले भन्यो ।

बुधबार, २६ मंसिर, २०८१, बिहानको ०८:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर