ग्रामथान उपनिर्वाचन : काँग्रेस–एमाले गढमा माओवादीको धावा !

काँग्रेसको मत धेरैतिर विभाजित हुने र एमाले भित्रै बढ्दो असन्तुष्टिको फाइदा लिने माओवादी दाउ

विराटनगर । ग्रामथान गाउँपालिकामा आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । त्यहाँ माओवादीबाट नमोनारायण माझी उम्मेद्वार छन् । आक्रामक प्रचार र संघीय सांसद अमनलाल मोदीको जबर्जस्त प्रभावका कारण तेस्रो स्थानमा रहेको माओेवादी दोस्रो हुँदै पहिलो हुनसक्ने आंकलन पनि विपक्षीहरुले गर्न थालेका छन् । काँग्रेस र एमाले चुनावी अभियानको क्रममा पनि माओवादीसँग आक्रोशित देखिन्छन् । विगतमा पालैपालो ग्रामथानमा सत्ता चलाएका पहिलो र दोस्रो पार्टी एमाले र काँग्रेस तेस्रो स्थानको माओवादीप्रति आक्रामक हुनुको अर्थ त्यहाँ प्रतिस्पर्धामा माओवादी आइसकेको बुझ्न गाह्रो छैन । माओवादीको लागि ग्रामथान उपनिर्वाचनमा प्रतिस्पर्धात्मक कसरी बन्दै आयो । यसको केही आधारहरु छन् ।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा कान्छो सदस्यको रुपमा समानुपातिकबाट निर्वाचित मोदीको चर्चा त्यसबेलादेखि सुरु भयो जब प्रतिपक्षमा रहेको माओवादीले बजेट प्रस्तुत गर्ने बेलामा तत्कालिन अर्थमन्त्री सुरेन्द्र पाण्डेको हातबाट ब्रिफकेस खोस्ने प्रयास गरे । त्यसमा अत्याधिक बलप्रयोग गर्ने लडाकु शैलीका माओवादी सांसद मोदी नै थिए । २०७४ सालको बाम गठबन्धनको उम्मेद्वार बन्दा अमनलाल मोदीले मोरङ क्षेत्र नम्बर ४ (ग्रामथान गाउँपालिका पुरै, कटहरी, बेलबारी र विराटनगरका केही वडा रहेको क्षेत्र) बाट चुनाव जित्ने खासै चर्चा थिएन । किनकी उनी नेपाली काँग्रेसका बौद्धिक नेता तथा पूर्वअर्थमन्त्री महेश आचार्य प्रतिस्पर्धामा थिए । धेरैले माओवादी हार्ने चर्चा गरिरहँदा मोदी भन्थे ‘म ६ हजार मतले जित्छु ।’ निर्वाचनको अन्तिम नतिजा आउँदा मोदीले उनै आचार्यलाई ६ हजार ७२९ मतले पराजित गरे । मोदीको त्यही कार्यकालमा सांसद रहँदा उनले ग्रामथान–५ तेतरियाको गिधनीया वस्तीबाट विद्युत् प्राधिकरणले हाइटेन्सन लाइन लान लागेको विषयमा विरोध गरे । गाउँका स्थानीयको समर्थन गर्दै कुलमान घिसिङसँग जुहारी पनि खेले । त्यसले पनि उनको चर्चा बढ्यो ।

झापा, मोरङ र सुनसरीमा मात्रै होइन मोदी देशभरको थारु समुदायमा एक उच्च तहको नेताको रुपमा स्थापित भए । एक हिसावले भन्नुपर्दा मोदी त्यो समुदायको नेता हुन् र उनलाई ग्रामथानका सबै स्थानीय थारु नेताहरुले पनि नेता नै मान्छन् । ग्रामथानको उपनिर्वाचनमा मोदीले माओवादीका नमोनारायण माझीलाई काँथ थापिरहेका छन् । उनी सार्वजनिक मञ्चहरुमा भन्ने गर्छन्, ‘नमोनारायण जी अर्जुन हो भने म कृष्ण बनेर आएको छु ।’

२०७९ सालको निर्वाचनमा एमाले भर्सेस काँग्रेस–माओवादी गठबन्धन प्रतिस्पर्धामा थिए । त्यसबेला पनि उनै मोदी काँग्रेस र माओवादी दुई पार्टीको संयुक्त उम्मेद्वार भए । त्यसबेला करोडौं खर्च गरेका एमालेका उम्मेद्वार विनोद ढकाललाई पनि मोदीले समर्थकहरुलाई भन्थे, ‘६ हजार मतले जित्छु ।’ नभन्दै उनले ६ हजार २ सयभन्दा बढीमतले ढकाललाई हराए । निर्वाचनबाट विजयी भएपछि बनेको प्रचण्ड नेतृत्वको सरकारमा उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भए । मन्त्री पदमा हुँदा पनि विवादमा आएनन् । बरु उनको सकारात्मक चर्चा नै भयो । झण्डै ११ महिना मन्त्री बनेका मोदी मन्त्रीपदबाट बाहिरिए । पछि प्रचण्ड नेतृत्वको सरकार ढलेपछि बनेको काँग्रेस एमाले गठबन्धनको सरकारले संसदीय समिति प्रयोग गरेर विद्युत् प्राधिकरणको कार्यकारी प्रमुख कुलमान घिसिङलाई हटाउने प्रयास गरे । मोदीले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलसँग समितिको बैठकमै नोकझोंक गरे । अर्थात् घिसिङको बचाउमा मोदी दह्रो उभिए । उनको चर्चा झनै चुलियो ।

उम्मेद्वार नमोनारायण माझी आफैं पनि हक्की र निडर व्यक्ति हुन् । काँग्रेसी विगत भएपनि उनले केही समय अगाडि पालिका अध्यक्ष तथा कर्मचारीहरुले सेवाग्राहीलाई दुःख दिएको भन्दै स्थानीय जनतालाई बटुलेर पालिका कार्यालय घेराउ गरेका थिए । त्यसबेला उनले पालिका अगाडि हुलहुज्जत गरेको, जनप्रतिनिधिलाई अपशब्द बोलेको भन्दै उनीविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा पनि परेको थियो । त्यसले पनि उनी जनताको पक्षमा लड्छन् भन्ने प्रभाव छोड्न सफल भए । जुन उनका लागि प्लस पोइन्ट हो ।

उम्मेद्वार माझी आफैं २०५४ सालको स्थानीय निर्वाचनमा तत्कालिन लखन्तरी गाविसको अध्यक्षमा निर्वाचित भएका थिए । २०७४ सालको निर्वाचनमा उनले लोकप्रिय मतका साथ फोरम लोकतान्त्रिकबाट ग्रामथान १ बाट वडाध्यक्ष जितेका थिए । २०७९ सालको निर्वाचनमा भने वडाध्यक्षमा स्वतन्त्र उठेर सम्मानजनक मत ल्याएर उनी पराजित बने । उनी गाविसको अध्यक्ष तथा वडाध्यक्ष हुँदा गरेका कामले सो वडाका मानिसहरु असन्तुष्ट भएनन् । बरु राम्रो काम गर्ने मान्छे हो भन्नेमा स्थापित भए ।

काँग्रेस, एमालेका उम्मेद्वारको चुनावी कमाण्डर स्थानीय नेता भएपनि माओवादीका उम्मेद्वार नमोनारायणका लागि संघीय सांसद अमनलाल मोदी नै अगाडि उपस्थिति भइदिँदा अरु फिक्का भएका छन् । चोकबजारमा मोदीको लोकप्रियताले नमोनारायणलाई सहयोग भइरहेको छ । मोदी आफैंले पनि आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्नुपर्ने भएको कारण प्रतिष्ठाको विषय बनाएका छन् । त्यसैकारण उनी आफैंले व्यक्तिगत खर्चसमेत गरेका छन् ।

नमोनारायणको सकारात्मक पक्ष भनेको अमनलाल मोदीको क्याल्कुलेटिभ रणनीति हो । यसअघिका चुनावमा भोट गनेर बिग्रिएका मतदाता अर्कोतिरबाट पूर्ति गर्ने र सो क्षेत्रको सूचनामा अत्याधिक पहुँच राख्ने भएको कारण मोदीले अहिले पनि २ देखि ३ हजार मतअन्तरले चुनाव जित्ने बताउन थालेका छन् । माओवादीको लागि अर्को सकारात्मक पक्ष भनेको आत्मविश्वासमा बढोत्तरि हो । माओवादीका समर्थकदेखि कार्यकर्तासम्ममा अहिले आत्मविश्वास बढेको देखिन्छ । त्यो चुनावी माहोलमा पनि देखिएको छ । स्वतन्त्र ढंगले बसेका कतिपय मामओवादी समर्थकहरु पनि चुनावी अभियानमा लागेका छन् । ग्रामथानको पहाडे समुदायमा कम प्रभाव रहेको माओवादी अहिले अन्य पार्टीकै हाराहारीमा पुगेको उनीहरु दाबी गर्छन् ।

काँग्रेस र एमालेमा भएको अन्तरविरोधको फाइदा पनि माओवादीलाई हुने देखिन्छ । एमालेमा देखिएको चरम असन्तुष्टी र गुटगत अवस्थाले त्यो मत माओवादीलाई जानसक्ने देखिन्छ । काँग्रेसमा पनि उम्मेद्वारको नेतृत्व क्षमता कमजोर भएको र चुनावी कमाण्डरहरु सशक्त नदेखिँदा आफ्ना भोट एकै ठाउँमा राखिरहनु उनीहरुलाई गाह्रो पर्दै गएको छ । तुलनात्मक रुपमा माओवादीमा एकता देखिएको छ । पुराना नेता झलक भगतहरु असन्तुष्ट जस्तो देखिएपनि उनले खासै प्रभाव पार्न नसक्ने माओवादीहरु बताउँछन् ।

यसपटकको ग्रामथानको निर्वाचनमा काँग्रेसको भोट रास्वपा, नागरिक उन्मुक्ति, राप्रपा र माओवादीले पनि काट्नसक्ने भएकोले काँग्रेसको भोट बाँडिने देखिन्छ । यस्तै एमालेमा भएको चरम असन्तुष्टिको भोट काँग्रेस र माओवादीमै बाँडिने सम्भावना बढी छ । यसले त्रिकोणात्मक प्रतिस्पर्धामा पु¥याउने देखिन्छ । यस्तो अवस्थामा आएको सकारात्मक चुनावी माहोलले माओवादीलाई बढी फाइदा देखिन्छ । त्यो विषय डिजिटल प्लेटफर्महरुमा पनि देखिन्छ । सामाजिक सञ्जाल टिकटक, फेसबुकहरुमा पोष्ट भएका सामाग्रीहरुमा पनि काँग्रेस, एमालेका उम्मेद्वारको भन्दा माओवादी उम्मेद्वार नमोनारायण माझीकै लोकप्रियता देखिन्छ । ग्रामथानमा चौथो स्थानमा राप्रपा र राप्रपाको प्रतिस्पर्धा हुने धेरैको अनुमान छ । ती दुवै पार्टीले काँग्रेसकै धेरै भोट काट्ने अनुमान छ । यस्तै नेकपा एकीकृत समाजवादीका उम्मेद्वार र एमालेबाट बागी उठेका नमनारायण चौधरीले केही समय भएपनि एमालेकै भोट काट्ने देखिन्छ ।

ग्रामथानमा मतदाताको संख्या २७ हजार ४३९ छ । २०७९ सालको निर्वाचनमा उक्त पालिकाको अध्यक्षमा काङ्ग्रेसका जयप्रकाश गच्छदार थारु ७ हजार ६०५ मत ल्याएर विजयी हुँदा, एमालेका शिवनारायण माझी थारुले ६ हजार ९३ र माओवादीका विजयकुमार सरदारले २ हजार ७२७ मतमात्रै ल्याएका थिए । पालिकाको ७ वटा वडामध्ये एमालेले ५, कांग्रेसले १ र माओवादी केन्द्रले १ वडाध्यक्ष जितेका छन् । वडाध्यक्षका उम्मेदवारले पाएको मत जोड्दा उक्त पालिकामा कांग्रेसको ५ हजार ५३७, एमालेको ६ हजार ७६३ र माओवादी केन्द्रको २ हजार ६६५ मत छ । त्यसबेला १ नम्बर वडामा स्वतन्त्र उम्मेदवार बनेका नमोनारायण माझीको मत जोड्ने हो भने माओवादीको मत ३ हजार २१९ पुग्ने देखिन्छ ।

२०७४ सालको निर्वाचनमा भने उक्त पालिकामा एमाले विजयी बनेको थियो । त्यसबेला एमालेका शिवनारायण माझी थारुले ४ हजार ७२० मत ल्याउँदा मधेसी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)का जयप्रकाश गच्छदार थारुले ४ हजार ६६१ र कांग्रेसका कृष्णकुमार सरदार थारुले ३ हजार १४३ मत पाएका थिए । त्यसबेला माओवादी केन्द्रका उम्मेदवार रमेशकुमार भगतले भने १ हजार ६०२ मतमात्रै ल्याएका थिए । २०७९ सालको निर्वाचनमा एमालेका धेरै वडाध्यक्षहरु विजयी भएपनि कार्यपालिका र नगरसभामा काँग्रेसकै बहुमत छ । यसकारण उक्त पालिकाको विगतको मत परिणामले काँग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो देखाउँछ । यो तथ्याङ्क माओवादीको लागि नकारात्मक पक्ष हो ।

माओवादीको संगठनात्मक अवस्था पनि कमजोर छ । एमालेको टोलसमिति सहित झण्डै १ सय वटा समिति रहेको अध्यक्ष सत्यनारायण माझी बताउँछन् । एमालेका सक्रिय सदस्यहरु ६ सय बढी छन् । काँग्रेसको पनि सोही हिसावले टोल समिति र क्रियाशिल सदस्यहरु छन् । त्यसको तुलनामा माओवादीको संगठनात्मक अवस्था र सदस्यहरु कम छन् ।

बिहिबार, १३ मंसिर, २०८१, साँझको ०६:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर